विपद् पूर्व तयारीमा पालिका

यसवर्षको मनसुन शुरु हुनै लाग्दा सम्भावित जोखिम हुन सक्ने भएकाले स्थानीय पालिकाहरु विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन् । मनसुनजन्य विपद् निकट आइसकेको हुँदा सबै पक्ष चनाखो हुनुपर्ने बेला आएको छ । विपद्जन्य घटनाको न्यूनीकरण गरी जनधनको क्षतिलाई कम गर्नतर्फ सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणमा सतर्कता अपनाउने कार्य अहिले देखि नै शुरु गरिनु पर्छ । विशेष गरी गतवर्ष जोखिम देखिएका वस्ती तथा क्षेत्रहरुमा यसवर्ष जोखिम हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी थप सजगता अपनाउने आवश्यक छ । मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीका लागि पालिकासँगै अन्यसंघसंस्थाहरुसँग समन्वय तथा सहकार्य गर्न ढिलाई गरिनु हुँदैन् । विपद् व्यवस्थापन कोषमा पर्याप्त रकम विनियोजन गरी विपद् व्यवस्थापनसम्बन्धी आवश्यक सामग्री खरिद गर्ने, मौज्दात राख्ने र परिचालन गर्ने नीतिगत निर्णय बनाउनु पर्छ । वर्षाका कारण भूक्षय, बाढीपहिरो, राजमार्ग तथा स्थानीय तह जोड्ने मार्गमा क्षति हुनसक्ने भएकाले डोजर÷जेसिवी लगायतका मेसिनरी र तिनका चालक तथा ‘टास्र्क फोर्स’ लाई तयारी अवस्थामा राख्नु पर्छ ।

विपद् पूर्व तयारीका लागि वडाहरुलाई विशेष अधिकारसहितको बजेटको व्यवस्थापन गर्न पर्छ । विपद् व्यवस्थापनमा जनप्रतिनिधिहरुले स्वास्थ्य, सरसफाइ र खानेपानीमा विशेष ध्यान दिन जरुरी छ । गएको असोजको अन्तिम साता कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १३ जनाको मृत्यु भयो । स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जनाको बाढीमा परेर ज्यान गयो । यतिसम्मकी छोराको लास चितामा जल्दै गर्दा बुवाको बाढीमा परी ज्यान गयो । सोही समयमा जुम्लामा पनि पहिरोमा परी एकै घरमा पाँच जनाको ज्यान गएको थियो । केही दिन पहिले दैलेखको आठबिस नगरपालिका–६ स्थित माल्या जङ्गलमा भएको आगलागीमा परी स्थानीय ५५ वर्षीय भैरव विकको उपचारका क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भयो । उक्त आगलागीको घटनामा अन्य १२ जना घाइते भए ।

२२ वैशाखमा मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परेर एक जनाको मृत्यु भयो भने दुई जना बेपत्ता छन् । प्राकृतिक विपद्का पछिल्ला प्रतिनिधि घटना मात्र हुन् । कर्णाली प्रदेशमा यस्ता विपद्मा परेर बर्सेनि सयौंको संख्यामा ज्यान जाने गरेको छ । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी पहिरो, बाढी र आगलागीका कारण जनधनको क्षति हुने गरेको छ । प्राकृतिक विपत्तिबाट कर्णालीमा ठूलो मानवीय क्षति हुने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा प्राकृतिक विपत्तिबाट ८५ जनाले ज्यान गुमाएका थिए । एक सय सात जना घाइते भएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा ६८ जनाको मृत्यु भयो भने ७३ जना घाइते भए । चालु आर्थिक वर्ष २०७९÷०८० मा विपद्का कारण ६५ जनाको मृत्यु भइसकेको छ । यसैगरी एक सय दश जना घाइते भएका छन् । प्रदेशमा बर्सेनि विपद्का घटना बढ्दो क्रममा छ । चट्याङका ३३ वटा घटना भएका छन् । तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पछिल्ला वर्षमा पहिरोबाट हुने विपद् थप चुनौतीपूर्ण बन्दै गएको छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपत्तिका घटनामा वृद्धि भएका छन् । तयारीमा सबै जुटौं र क्षतिलाई न्यूनिकरण गर्न उपाय अबलम्बन गरौं ।

Translate »