२०८३ साउन २२ , शुक्रबार
Sky News Nepal
August 7, 2026

कर्णाली राजमार्ग



कर्णाली राजमार्ग भन्ने वित्तिकै आङ सिरिङ्ग हुन्छ । किनभने बाटोको हालत देखेर जोकोहीले भोग्नुपर्ने सास्तीले सम्झिरहन्छ । कर्णाली राजमार्ग बनिसकेपछि भारी बोक्ने काँधले सहारा पाउँला भन्ने आशामा बसेका कर्णालीबासीका दुःख उस्तै छन् । नेपाल सरकारले १७ वर्ष पहिले करिब डेढ अर्ब लागतमा निर्माण गरेको कर्णाली राजमार्गको पूरा खण्ड कालोपत्र नहुनु र गरिएका काम पनि गुणस्तरीय नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । राजमार्गको निर्माणका लागि विश्वबैंकले हालसम्म आर्थिक सहयोग गर्दै आईरहेको छ । राजमार्गको स्तरोन्नतीका वर्षेनी करोडौं रुपैयाँ खर्च हुँदै आएकोछ । तर कामको गुणस्तर नहुँदा आमनागरिकले सास्ती भोग्नु परिरहेको छ । गाडीको बढ्दो संख्याका साथै सडक छेउमै वस्ती विकाससँगै चालकले लापरवाही गर्दा दुर्घटना रोकिएका छैनन् । सडकको दुरावस्था उस्तै रहेको तर, राजमार्ग वरपर बाक्लो वस्ती बढेको र सवारी साधनको संख्या पनि ह्वात्तै बढेको कारण दुर्घटना नरोकिएको हो । अरु पूर्वाधार उस्तै हुँदा सवारी साधनको संख्या बढिरहेका छन । यस्तो अवस्थामा सवारी साधन चलाउँदा सचेत हुनैपर्छ । मृत्यु जस्तो दुखद घटना एकातिर, अर्कोतिर दुर्घटनामा घाइते र अपाङ्ग हुनेले जीवनभर भोग्ने कष्ट त्यत्तिकै दुखद रहेको छ । वर्षायाम शुरु हुनै लाग्दा झन कर्णाली राजमार्गको यात्रा थप जोखिम बन्ने गरेको छ ।

कर्णाली राजमार्गका सडक मम्र्मतदेखि पुल बनाउने ठेकेदार प्रायःजसो वद्नाम नै छन् । सडकको गुणस्तर कमजोर हुँदा सवारी साधनसँगै यात्रुले दुःख उठाउनु परेको छ । एउटै ठेकेदारले विभिन्न फर्मका नामबाट धेरै काम शुरु गरेर वषौंसम्म अलपत्र छाड्दा समस्या हुने गरेको हो । ठेक्का पाएजति सबै आफै लिने र कामदारको अभाव देखाउँदै वषौंसम्म अलपत्र पार्ने प्रक्रियाको अन्त्य हुन सकेको छैन् । सडकका कर्मचारीको मिलेमतोमा ठेकेदारले गर्ने बेइमानीको अन्त्यका लागि आम सर्वसाधारण समेत जागरुक हुन आवश्यक छ । सही ढङ्गबाट नापजाँच गरेर काम शुरुआत गरी समयमै सिध्याउने परिपाटी बसाउन सक्नु पर्छ । ठेकेदार र सडक कार्यालय समयमा काम नसकी थप समय लिने प्रक्रियामा लाग्दा नागरिकले थप सास्ती भोग्नु पर्ने मात्र होइन, राज्य समय पैसाको बर्वादी हो । कानूनी राज्यमा सबैले आफ्नो जवाफदेहिता भुल्नु हँदैन् । कर्णाली र सुदूरपश्चिमका ६ जिल्लाका जनता २५ लाख भन्दा बढी जनताले यही राजमार्गमा ओहरो–दोहरो गर्छन् । ठेकेदारको चरम लापरबाहीका कारण निर्माणमा ढिलासुस्ती भएको हुँदा निर्माणधिन कम्पनीहरुलाई पेश्की जफत, व्लाकलिष्ट र कारवाही अभियान चराई राख्नु पर्छ । अहिले राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडकमा लगाइएको अधिकांश फलामे सेफ्टी बार भाँचिएका छन् ।

भीरको सडकमा लगाइएको सेफ्टी बार केही ठाउँमा पहिरोले भाँचिएको छ भने अन्य ठाउँको पनि खिया लागेर जीर्ण बनेको छ । एक दशकअघि विश्व बैंकको सहयोगमा सडक विभागद्वारा निर्माण गरिएको सेफ्टी बार जीर्ण हुँदा सडक असुरक्षित बनेको छ । साँघुरो र अप्ठेरो सडकको सेफ्टी बारले सुरक्षित महशुस हुन्थ्यो । तर बार पुरानो हुँदै गर्दा र खिया लाग्दा सडकयात्रा असुरक्षित बनेको छ । सेफ्टी बार नहुँदा भीरको खण्डमा गाडी चलाउन अझै डरलाग्ने हुन्छ । सडकको दूरावस्था भएकाले समयमै मर्मत सम्भारमा ध्यान पु¥याउनुपर्छ । अधिकांश दुर्घटना त चालक आत्तिएर पनि हुने गर्छन् । कर्णाली राजमार्गमा ठूला र बढी दुर्घटना भएका सुर्खेतको कल्याण काँध, जुम्लाको गाडगडेनी दैलेखको पातर खोला, मैनीखोला, दरबारे भीर, पादुका, पाल्ताडा, सांगेताडा, सिस्ने भीर, जाक्सी, खिड्कीज्यूला, किटु भीर, कालिकोटको दैखोला, छाती भीर, कालेखोला, जीते, हुल्मभीर, सेरिघाट, ताडी भीर, गल्ली, मौलाकाटिया, बिहानी, छारेगाड, सिम्लागाड, पिली, सेरावाडा, बित्तामोड, चौखोला, टाकुल्ला, टिमुरे, जाल्जे, खल्लागाड, जुम्लाको रारालिही, कुडारीलगायतका ठाउँका फलामे बार जीर्ण छन् । ती अधिकांश ठाउँका बार वर्षाको पहिरो र माथिबाट खसेको ढुंगाले भाँचिएका हुन् । अब सम्बन्धित पक्षले समय अगाबै सडकको मर्मतसँगै स्तरोन्नतीमा ढिलाई गरिनु हुँदैन् । वर्षायाम नजिकै आएकाले दुर्घटना रोक्नतर्फ थप सचेत र सजक बन्न आवश्यक छ ।

प्रकाशित मिति : २०८० जेठ ९ गते मंगलबार
Translate »