२०८३ असोज ८ , बिहीबार
Sky News Nepal
September 24, 2026

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो



अहिले कर्णाली प्रदेशका विभिन्न राजनीतिक दलका नेता, प्रदेश सरकारका मुख्यमन्त्रीदेखि विपक्षका नेताहरु समेत पूर्व राजा ज्ञानेन्द्र शाहलाई केन्द्रविन्दुमा राखेर घोचपेंच गरेको देख्न सकिन्छ । शनिबार पूर्वराजा शाहले अहिलेका राजनीतिक दलहरुबाट देश संकटमा धकेलिरहेको र देशप्रति दलहरुको प्रेम नभएको अभिव्यक्ति दिएपछि यहाँका राजनीति दलका नेताहरु विभिन्न कार्यक्रममा मात्र होइन, प्रदेश सभाभित्रै आफ्ना कमीकमजोरी ढाकछोप गर्नुभन्दा पनि अधिकांश समय पूर्वराजमाथि नै दोषारोपण गर्दै गरेको सुन्न पाईन्छ । वर्तमान परिप्रक्ष्येमा दलहरुका कमजोरी सुधार्दै गणतन्त्रलाई सबल बनाउनतर्फ अग्रसर हुनुपर्ने कुरा सर्वत्र उठिरहे पनि प्रमुख राजनीतिक दलका नेताहरु अहिले आफ्ना कमिकमजोरी भन्दापनि राजाका गतिविधितर्फ बढी केन्द्रीत हुनु पक्कैपनि चिन्ताको विषय हो । केही महिनायता नागरिक अभिनन्दनका नाउँमा देशभर पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेसँगै राजनीति दलहरु ससंकित भएका छन् । विभिन्न ठाउँहरुमा पुगेर राजाले फेरि नेपालको गौरव फर्काउन उठौं भनेपछि मुलधारका राजनीति पार्टीका नेताहरुमा आक्रोस बढेको छ । अर्कोतिर कतिपय वरिष्ठ पत्रकार, वकिल, न्यायाधीश, पूर्व सैनिक, साधुसन्त, ज्योतिष, तान्त्रिक तथा माताहरुले पनि चर्को स्वरमा मिडिया र सामाजिक सञ्जालमा प्रत्यक्ष–परोक्ष रुपमा राजतन्त्रको वकालत गर्दै आएका छन् । यसरी राजतन्त्रको वकालत गर्नेहरुको आरोप छ, की लोकतन्त्र– गणतन्त्रका नाममा नेताहरुले लुट्नसम्म देश लुटे, राजाले खोलेका उद्योगहरु बेचे, नदीनाला बेचे, धर्म बेचे, देश बेचे । राजालाई जस्तो देशको माया अरु कसैलाई हुँदैन । राजा आऊ, देश बचाऊ ।

उनीहरुको कुरा सुन्दा लाग्छ, हिजो नेपालमा राजतन्त्र हुँदा रामराज्य थियो, राजतन्त्र पुनस्र्थापना भयो भने फेरि नेपालमा रामराज्य फर्किन्छ । राजाको निरकुंश पञ्चायती शासन कस्तो थियो ? राजा ज्ञानेन्द्र शाहको सक्रिय शासन कस्तो थियो ? गणतन्त्र आएपछि जन्मेका नेपालीहरुलाई प्रत्यक्ष अनुभव नभए तापनि पञ्चायती शासन र ज्ञानेन्द्रको कु देखेभोगेका नेपालीहरुलाई राम्रोसँग थाहा छ । तर, दरबारका आडमा देश लुट्नेहरुका लागि त रामराज्य नै थियो । दरबारका आडमा देश लुट्नेहरु र राजतन्त्र पुनस्र्थापना भयो भने फेरि देश लुट्ने सपना देखेकाहरु भष्ट्राचार विरोधको नाममा, सामाजिक अभियन्ताका नाममा मात्र होइन ज्योतिषका नाममा समेत अहिले सक्रिय छन् । सामाजिक सञ्जालमा छाइरहेका छन् । कतिपय यस्ता तथाकथित ज्योतिष तथा माताहरुले त बेलाबेलामा राजतन्त्र फर्किने भविष्यवाणी गर्दै हिँडेका छन् । अर्कातर्फ देशमा व्याप्त भष्ट्राचार र कुशासनले थिचिएका कतिपय आम नागरिकले पनि बरु राजा आए ठिक हुने थियो भन्न थालेका छन् । टिकटकमा रमाइरहेका नेपालीहरु अब राजतन्त्रको जेलमा बस्नेवाला छैनन्, त्यो जेल सुनको नै किन नहोस् । जेल भनेको आखिर जेल नै हो । कथङ्कदाचित् यस्तो स्थिति आयो भने देश फेरि बन्द, हडताल, आन्दोलन र द्वन्द्वको दलदलमा नराम्रोसँग जाकिने छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राजेन्द्र लिङ्देन तथा ज्ञानबहादुर शाही मात्र होइन, राजतन्त्र फर्काउने अभियानमा गणतन्त्रको सत्ता सुख लिने कतिपय व्यक्तिहरु पनि प्रत्यक्ष–परोक्ष रुपमा लागेका छन् ।

राजतन्त्रका पक्षमा जति टाउको ठोके पनि अहिलेको अवस्थामा नेपालमा राजतन्त्र दुई अवस्थामा मात्र पुनः फर्किन सक्छ । पहिलो नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रजस्ता प्रमुख दलहरुले अब गणतन्त्र थेग्न नसक्ने निष्कर्ष निकालेर संवैधानिक राजतन्त्र पुनस्र्थापना गर्न राजी भएमा, दोस्रो राजतन्त्रको पक्षमा २०६२–६३ सालको जस्तै जनआन्दोलन भएको खण्डमा । तर यी दुवै विकल्प तत्काल सम्भव देखिँदैनन् । देश आर्थिक संकटमा फसेर श्रीलंकाको स्थितिमा पुग्यो र जनताले नेताहरुलाई घर–घरबाट थुतेर खेद्न थाले भने संकटलाई उपयोग गरेर राजतन्त्र पुनस्र्थापना हुन सक्छ । तर कथाङ्कदाचित् यसरी राजतन्त्र पुनस्र्थापना भयो भने देश गृहयुद्धमा जाने पक्का छ । त्यसो त ठुला पार्टीहरुले संवैधानिक राजतन्त्र स्विकारेर वा आन्दोलनबाट नै राजतन्त्र पुनस्र्थापना भयो भने पनि पूर्वराजा ज्ञानेन्द्र शाह वा उनका छोरा वा नाति कसैलाई पनि शासन गर्न सजिलो हुने छैन । कथङ्कदाचित् यस्तो स्थिति आयो भने देश फेरि बन्द, हडताल, आन्दोलन र द्वन्द्वको दलदलमा नराम्रोसँग जाकिने छ । त्यसैले यी लुुटेरा नेताभन्दा बरु राजा नै ठिक भन्ने जनताले मनन गर्नु पर्ने कुरा के भने कतिपय बेइमान भ्रष्ट नेताका रिसले देशलाई फेरि द्वन्द्वको आगो झोस्नु कदापि ठिक होइन । त्यसैले देश र जनताको माया छ भने कसैले पनि अब लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नु हुँदैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।

 

प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार
Translate »