कर्णालीलाई सडककै पिरलो

कर्णालीमा व्यवस्थित सडक अभावले विकासमा पछाडी पर्नु परेको छ । प्राकृतिक स्रोतसाधन जल, जंगल र जमिनको धनी भएपनि पूर्वाधार विकास नहुँदा कर्णाली पछाडी पारिएको हो । राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी एक मात्रै जिल्ला हुम्ला सदरमुकाम सिमकोटमा झन्डै छ किमी ट्¥याक खोल्न बाँकी रहेको छ । कर्णाली करिडोरअन्तर्गत सल्लीसल्ला–सिमकोट खण्डको ११ किमी ट्¥याक खोल्ने जिम्मा सरकारले गत वर्ष नेपाली सेनालाई दिएकोमा अहिलेसम्म पाँच किमी खोलिसकेको र बाँकी छ किमीमा काम बाँकी छ । आउँदो वर्षमा पूरै ट्¥याक खोलिसकिने योजना रहेको छ । अहिले लेप्चे लालीबगर क्षेत्रमा काम भइरहेको छ । बाँकी ट्¥याक खोलिसकेर सिमकोट सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सरकारी लक्ष्य रहेको छ । कर्णालीमा घुम्ने लायक थुप्रै स्थान हुँदाहुँदैपनि गुणस्तरिय र भरपर्दो सडक अभावले सोचेजस्तो प्रगति हुन सकेको छैन् । अहिलेपनि कर्णालीका झण्डै ५३ प्रतिशत नागरिक गरिवीको रेखामुनी जीवनयापन गर्न बाध्य छन् । जडिबुटी, जलविद्युतसँगै पर्यटनमा अथाह सम्भावना बोकेको कर्णालीमा भौतिक पूर्वाधार अभावले आम नागरिकको जीवन रुपान्तरण हुन सकिरहेको छैन् ।

कर्णालीको रमणीय वातावरणले पर्यटकलाई लोभ्याउने अनेकौं स्थान हुँदाहुँदै पनि प्रदेशले भने अनुसारको फाईदा लिन सकिरहेको छैन । कारण हो, पूर्वाधार विकासको अभाव र प्रचारप्रसारको कमी । सडक स्तरोन्नति, पर्यटकीय स्थलको प्रचारप्रसार र गतिलो बस्ने बासको व्यवस्थापन नहुनुले पर्यटकीय क्षेत्रबाट भने अनुसारको आम्दानी लिन नसकिएको हो । प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको भनेपनि त्यो चाँही हावामा गोता लगाउने काम बाहेक अरु केही गर्न सकेको छैन् । नेताहरु योजनालाई ठोस मूर्तरुप दिनुभन्दा पनि हवाई भाषणमा केन्द्रित हुँदा बोलाई र गराईमा फरक परेको हो । प्रदेश सरकारको पाँच ‘प’ पहुँच, प्रवद्र्धन, प्रचार, पूर्वाधार र पर्यावरणलाई पनि मियो बनाउने योजना सुन्दा जति सुन्दर आकर्षक लाग्थ्यो त्यो बास्तविक कोरो कल्पना मात्र बनाउनुमा नेता नै दोषी हुन् । प्रदेश सरकारले अहिले गुणस्तरीय व्यवस्थित सडक, पुल पुलेसा जस्ता काममा ध्यान दिन सके मात्र सोचेजस्तो प्रगति हासिल गर्न सकिन्छ । हुम्ला पुग्न सरिसल्लामा बेलिब्रिज निर्माण गर्न लागिएको छ । त्यो गुणस्तरीय र छिटो बनाउन तर्फ स्थानीय नागरिकको खबरदारीसँगै निगरानी समेत आवश्यक छ । अहिलेसम्म कर्णाली करिडोरमा कालोपत्रको ठेक्का लागिसकेको छैन । कालिकोटको खुलालुदेखि सलिसल्लासम्म ट्¥याक खुलिसकेकाले त्यहाँ सडक चौडा बनाउने कामले सोचेजस्तो गति लिन सकेको छैन् ।

अहिले माथिल्लो क्षेत्रमा हिल्साबाट सिमकोटसम्म विभिन्न खण्डमा यसअघि ट्¥याक खुलेकाले सिमकोटभन्दा माथितिर ग्राभेल र पुल बनाउने कामलाई गति दिनु पर्छ । आयोजनाले सेनालाई जिम्मेवारी दिएको खण्डमा थप काम अघि बढाउन पहिले उसले सम्पन्न गरिसकेर सडक विभागलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । सरकारले आयोजना चाँडो सम्पन्न गर्न त्यही किसिमले प्राथमिकतामा राखेर बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता गरिनुपर्छ । गत वर्षदेखि चीनको नाका बन्द रहे पनि हाल खुलेको छ । अहिले चीनको सीमा खुलेपछि आवश्यक सामग्री उताबाट ल्याएर पनि हिल्सा सिमकोट सडकमा काम गर्न सकिन्छ । त्यतातिर नेताहरुको ध्यान पुग्न सकेको छैन् । कर्णाली करिडोरको सुरुको विन्दु कालिकोटको खुलालु र अन्तिम विन्दु हुम्लाको सरिसल्ला रहेको छ । कालिकोट ४० किमी, बाजुरा ४४ किमी र हुम्ला ३८ दशमलव ७५ किमी छ । तर, त्यहाँबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने नेताहरुले गरिवी हटाउने नाममा आफु धनी बन्ने बाहेक अरु ठोस काम केही गर्न सकेका छैनन् । कर्णालीमा आम नागरिकको जीवन रुपान्तरणका लागि पूर्वाधार विकास नगरि अन्य विकासको कल्पना निर्थक हुनेछ । यसतर्फ नेताहरुको पर्याप्त ध्यान पुगोस् ।

Translate »