धान दिवसको नाममा ‘रोमान्स’ बन्द गरौं

देशमा विगत २० वर्षदेखि धान दिवस मनाउँदै आईएको छ । दिवसले सार्थकता नपाउँदा बेला–बेला यसको औचित्य माथि प्रश्न चिन्ह उठनु स्वाभाविकै हो । किनभने सक्कली किसान भन्दा नक्कली किसान हावी हुँदा दिवसको औचित्य माथि प्रश्न चिन्ह उठनुलाई स्वाभाविकै मानिन्छ । हिजो असार १५ गते विभिन्न ठाउँमा राष्ट्रिय धान तथा रोपाई दिवस मनाइ रहँदा कृषकलाई भने हर्ष न बिस्मात भएको थियो । सिँचाइको समस्या भोगिरहेका किसानले आवश्यकता अनुसार मल पाउन सकेका छैनन् । आधा असार सकिँदा कर्णाली प्रदेशमा ४३ प्रतिशत रोपाई सकिएको छ । प्रदेशभर ४८ हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा धान रोपाई गरिँदै आएकोमा यो वर्ष सबैभन्दा धेरै रोपाई जुम्लामा र सबैभन्दा कम रोपाई सुर्खेतमा भएको छ । अन्य जिल्लामा पनि यही अनुपातमा धान रोपाई भइरहेको प्रदेशको कृषि निर्देशनालयको तथ्यांकमा उल्लेख छ । यसवर्ष ढिलोगरी मनसुन लागेकाले किसानले सोचेजस्तो रोपाई गर्न सकिरहेका छैनन् । नियमित वर्षा नहुँदा सुर्खेतका किसानले बोरिङको भरमा सिँचाइ गरेर रोपाई गर्नुपर्ने बाध्यता छ । यस वर्ष समयमै वर्षा नहुँदा खडेरीका कारण रोपाईमा ढिलाइ भएको हो । अघिल्ला वर्षहरुमा असार दोस्रो सातासम्म ७० प्रतिशत रोपाई हुने गरेको थियो । निर्देशनालयका अनुसार सुर्खेतमा ५, दैलेखमा ७, जाजरकोटमा २०, रुकुममा ३२, सल्यानमा ३५, हिमाली जिल्ला डोल्पामा ७५, हुम्लामा ५७, मुगुमा ४०, जुम्लामा ८५, कालिकोटमा ३६ प्रतिशत रोपाई सकिएको छ ।

पछिल्ला केही वर्षदेखि कर्णालीमा खडेरीका कारण धान उत्पादनमा ह्रास हुँदै आइरहेको छ । धानको उत्पादन घट्दा स्थानीय नागरिकले बजारको खाद्यान्न खरिद गर्न बाध्य छन् । तर, लाखौं रकम खर्च गरेर एक दिन धान दिवसका अवसरमा रोपाई गर्न खेतमै पुग्ने नक्कली किसानहरुको चटम–मटक देखेर सक्कली किसान हैरान छन् । सरकारी सम्पत्तीको दुरुपयोग गर्दै रोपाई गर्न पुगेका सुकिला मुकिलाहरु कृषि क्षेत्रको विकास बिना आर्थिक समृद्धि हासिल गर्न नसकिने हवाई भाषण दिने गर्छन् । तर, तिनको त्यो बोलाई र गराई नमिल्दा एकदिनको रोपाईले कृषिमा समृद्धि नआएपनि उनीहरुको व्यक्तिगत जीन्दगीमा भने राज्यको लगानीले समृद्धि आईरहेको छ । कर्णालीको प्रमुख पेशा कृषि भएपनि यसलाई व्यावसायिक रुपमा अगाडि बढाउन नसक्दा सोचेजस्तो प्रगति हासिल हुन नसकेको हो । उसो त ! साच्चै योजनावद्ध कृषि क्षेत्रको विकास गर्ने हो भने कर्णाली ‘अन्नको भण्डार’ नै हो । यसमा दुई मत छैन । फेरीपनि, कतिपयलाई यो कुरा हजम नहुन पनि सक्छ । यद्यपि ! हाल धान उत्पादन पर्याप्त नहुँदा आयातित चामलको भर पर्नुपर्ने बाध्यता कायमै छ । हाम्रै तथाकथित नेताहरुले हामीलाई नै गरिव बनाएर भोकमरीको समस्या देखाउँदै गलत प्रचार गरेर आफ्नो अमुक स्वार्थ शिद्ध गरिरहेका छन् ।

कर्णालीमा धान उत्पादन कम हुने भएकाले भात खानका लागि चामल खरिद गर्नु परेको हो । धान खेती हुने सबै जमिनमा पर्याप्त धान खेती गरी उत्पादन वृद्धि गर्न सकिन्छ । तर, सरकारी स्तरबाट त्यसका लागि पर्याप्त नीतिगत सार्थक उपाय र प्रयासहरु हुन सकेका छैनन् । असारमा मानु छरेर मुरी उत्पादन गर्ने समय भएकाले सबै खेतीपातीमा सक्रिय हुने बेला नक्कली किसान र सरकारी अधिकारीहरु धान दिवसको बहानामा खेतमा रोमान्स गरिरहेको दृश्य सबैका लागि अपाच्य हो । जनताको रगत र पसिनाले उठेको सरकारी रकम दुरुपयोग गरि प्रदेशका सुर्खेतसहित दैलेख, जाजरकोट, कालिकोट, सल्यान, रुकुम पश्चिम, डोल्पा, हुम्लामा कृषि विकास कार्यालय मार्फत रोमान्स गरिएको छ । आम नागरिकले अबका दिनमा दिवसका नाममा गरिने यस्ता फिजुल खर्चलाई रोक्न गैर किसान र सरकारी अधिकारीलाई नैतिकरुपमा दवाव दिन आवश्यक भईसक्यो । कृषि पेशाका नाममा गरिने यस्ता भद्दा मजाक र रोमान्स रोक्न विभिन्न राजनीतिक दलका नेताहरु समेत अगाडि आउनु आवश्यक छ । किनभने ! समाजको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले नै कृषि क्षेत्रमा मौलाईरहेको गैरकिसानको हालिमुहाली अब सदाका लागि अन्त्य गर्न जोडदार आवाज उठाउनु पर्छ । किसानसँगै खेतमा हिलो खेल्ने र कृषि खेतीप्रति उत्साह थप्ने नाममा मोजमस्ती होइन, दुःख पाईरहेका असली किसानलाई मलहम लगाउन सक्नु पर्छ । अनि मात्र दिवसको सार्थकता पुरा हुन्छ । देखावटी प्रयासले न त उत्पादन बृद्धिमा मद्दत पुग्छ, न त किसानकै भलो हुन सक्छ ।

Translate »