हराउँदै असारे रौनक

नेपाली समाजमा मानो रोपेर मुरी उब्जाउने महिना भनेर असार महिना चिनिन्छ । असारको १५ गते दही चिउरा खाँदै किसानहरु धान रोपाईंमा रमाउने गर्छन् । धान दिवसको दिन हिलो खेल्ने, असारे भाका सुसेल्नेलगायतका परम्परा पुरातन नेपाली समाजबाटै मानिँदै आएको छ । तर, वर्तमान परिप्रेक्ष्यको कुरा गर्ने हो भने धान दिवसको मौलिकता हराउँदै गएको छ । सबै क्षेत्रमा पश्चिमीकरणका साथै सामाजिक सञ्जाललगायतले अधिकाँश नेपाली संस्कृतिमाथि धावा बोलेको पाइन्छ । जसको शिकार धान दिवस पनि बनेको हो । अस्ती मनाइएको धान दिवसमा देखिएका केही हर्कतले पनि त्यसलाई प्रष्ट्याएको छ । परम्पराका नाममा नग्न शरीरमा हिलो दलेर शीर तथा शरीरका संवेदनशील अंगमा समेत धान रोपेको देखिने तस्वीर, हिलोमा रोमान्स गरेका तस्वीर तथा महिला र पुरुषको हिलोमा कुस्तिसम्मका भिडियोसमेत सार्वजनिक भएका छन् । कृषि तथा संस्कृति विज्ञहरुले भूमि खण्डिकरण भएपछि पश्चिमा संस्कृति हावी हुँदै आएको बताउनु सत्य भएको छ । धानसँग नेपालीको मात्र नभई एसियाली मुलुकको पुरातन सम्बन्ध रहेको छ । कृषिमा पश्चिमीकरण हावी हुनु भनेको सत्य युगमा भगवान रामको विरोधी हुनुजस्तै हो । त्यस्तै,भूमि खण्डीकरण भएपछि पश्चिमा संस्कृति र सामाजिक सञ्जालले नेपाली संस्कृतिमा धावा बोलेको आभास भएको छ । सरकारले भूमि खण्डिकरण व्यवस्था ल्याएपछि अर्थिक लोभका कारण भूमि मासिँदै गएको छ । आफ्ना मौलिक संस्कृतिलाई नबुझी पश्चिमा संस्कृतिका अपाच्य विषयहरु अवलम्वन गर्नु नेपाली परम्परा र संस्कृति मासिनुको प्रमुख कारण हो । परम्परागत संस्कृतिलाई प्रविधियुक्त समाजले मजाक बनायो । किसानले वर्षभरि पेट भर्ने उद्देश्यले धान खेती गर्दा दुःख पीडा बिर्साउन असारे गीत गाउने, हिलो छ्यापेर मनोरञ्जन गर्ने बाध्यतालाई अहिलेको प्रविधियुक्त समाजले मजाक बनाएर किसानको मनमा ठेस पु¥याएको छ । प्रविधिको दुरुपयोग गर्दै किसानको खिल्ली उडाइएको छ । नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्म धानको महत्व रहेको छ । हिन्दू धर्मका हरेक क्रियाकलापमा धान आवश्यक हुन्छ ।
आफ्नो मौलिक संस्कृतिलाई नबुझी पश्चिमा संस्कृतिका अपाच्य विषयहरु अवलम्वन गर्नु नेपाली परम्परा र संस्कृति मासिनुको प्रमुख कारण हो । संयुक्त राष्ट्रसंघले पनि शान्तिको प्रतिक मान्दै वि.सं. २०६१ देखि धान वर्ष घोषणा गरेको हो । तर, अश्लिलताले भरिन थालेको वर्तमान नेपाली समाजले संस्कृतिलाई सामाजिक सञ्जालको दुरुपयोगमार्फत् ध्वस्त पार्दै गएको छ । केही वर्षदेखि रोपाईको नाममा अश्लिलता घुसेको छ । पहिलेको नेपाली समुदायमा कृषिकर्मको ढाँचा र हालको देखावटी शैलीबाट असली किसान हैरान छन् । पहिले कम्युन सिस्टममाझैं पैंचो र पर्मका आधारमा खेतिपाती हुने समाजमा अहिले शरीरभरि धान रोपेर सामाजिक मर्यादाविपरित अघि बढ्न थालेको छ । पुरातन मान्यताअनुसार नेपालमा असार १५ गतेका दिन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धानको बीऊ छरेदेखि नै राज्य पक्ष र कृषक वर्ग छुट्याउने प्रचलन रहेको थियो । असार १५ का दिन राज्य पक्षका पदाधिकारीले धानको रोपो रोपेपश्चात कृषकले रोपाई गर्ने चलन थियो । त्यस बेलादेखि नै धान दिवसको दिन भूमिको सम्मानस्वरुप हिलोको टिका लगाउने, धानको माला लगाउने प्रचलन थियो । जुन अहिले परिस्कृत हुँदै हिलोमा कुस्ती खेल्ने र लडिबुडी गर्ने प्रथामा परिणत भएको हो । असार १५ मा महिलालाई सुरक्षा दिने, असारे गीत सुसेल्ने गरिए पनि श्रमजीवीको श्रममा आघात नपुगोस् भनेर बाजा नबजाइने चलन रहेको विज्ञहरु बताउँछन् । अहिले अश्लिलतातर्फ उन्मुख समाजललाई विकृत बनाईदै लगिएको आभास हुन्छ । परापूर्वकालदेखि नै धान खेती हुने भएकाले दही चिउरासँग वैज्ञानिक सम्बन्ध हुनुसक्ने अनुमान गर्न सकिन्छ । मध्य असारमा खाइने दही चिउराले बाहिरी वातावरण र शरीरभित्रको स्वास्थ्यलाई राम्रो गर्नेमा कसैको दुईमत छैन ।
धान खेती करिब २५ सय वर्षअघिदेखि शुरु भएको मानिएपनि नेपालले धान निर्यात गर्न वि.सं.२०३८ सालमा आठ वटा कम्पनी स्थापना गरेको थियो । कृषि विज्ञ भोलामानसिंहका अनुसार अञ्चलको नाममा सञ्चालनमा ल्याइएका ती कम्पनीले सञ्चालनको पहिलो वर्ष २५ हजार मेट्रिक टन धान निर्यात गरेका थिए । करिब १० वर्षसम्म सञ्चालनमा आएका ती कम्पनीले भारतलगायत तेस्रो मुलुकमा धान निर्यात गरेका हुन् । ७ वर्षसम्म नेपालबाट धान निर्यात भएकोमा आठौं वर्ष अर्थात २०४६ सालको व्यवस्था परिवर्तनपछि धान निर्यात पनि आयातमा परिणत भएको हो । अहिले नेपालले विदेशबाट आयात गर्ने मुख्य खाद्यान्नमा धान र चामल रहेको छ । विश्वमा अत्यधिक धान उत्पादन गर्ने देशहरुमा चीन पहिलो र भारत दोस्रो मुलुक हुन् । विश्वका १ सय १३ देशमा धान उत्पादन हुने गर्छ । अश्लिलताले भरिन थालेको वर्तमान नेपाली समाजले संस्कृतिलाई सामाजिक सञ्जालको दुरुपयोगमार्फत् ध्वस्त पार्दै गएको छ । पश्चिमाकरण र सामाजिक सञ्जालको दुरुपयोग गर्दै संस्कृतिमाथि विकृति फैलाए पनि केही व्यक्तिले भने धान दिवसमा किसानको सम्मान र हौसलास्वरुप धानको माला लगाएको, माटोको टिका तथा असारे गीत गाउँदै रोपाईको थालनी गरेर संस्कृति संरक्षण समेत गरेका छन् । एकातिर खेत बाँझो हुन थाल्यो । अर्कोतिर खेतीपाती गर्न त के सबैले गाउँ नै छाड्न थाले त्यही भएर पनि रोपाईको रौनकता हराउँदै गएको छ । अहिलेको रोपाई त रोमान्सका लागि हुने गरेको छ । वर्तमान परिप्रेक्ष्यको कुरा गर्ने हो भने धान दिवसको मौलिकता हराउँदै गएको महसुस गर्न थालिएको छ । यसतर्फ हामी सबै सचेत सजग हुनु पर्छ ।

Translate »