कर्णाली राजमार्गको त्रास हटाऊँ !

करिब डेढ दशकदेखि कर्णाली राजमार्गको गुणस्तरीय स्तरोन्नती नहुँदा हरेक वर्ष नागरिकले सास्ती खेप्दै आईरहेका छन् । सडक विभागले वर्षेनी स्तरोन्नतीका नाममा कनिका छराई बजेटले गर्ने कामको प्रतिफल सन्तोषजनक छैन् । कर्णाली राजमार्गको स्तरोन्नतीका लागि पर्याप्त बजेट छुट्टाउन नसक्दा निर्दोष जनताले अनाहकमा दुःख पाईरहेका छन् । राजमार्गमा दुर्घटना र यात्री मृत्युको संख्या बर्षेनी बढ्नेक्रम रोकिएको छैन् । फेरीपनि सरकार राजमार्गको स्तरोन्नती गर्न तर्फ कुनै खास योजना बनाउँदैन् । २०६२ सालमा नेपाली सेनाले कर्णाली राजमार्गको दैलेख साइगाउँदेखि कालिकोटको राचुली छिडेनासम्म करिब ८८ किलोमिटर निर्माण गरेको थियो । सुर्खेतदेखि दैलेख खिड्कीज्यूलासम्मको १२६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा सडक विभागले निर्माण गरेको हो । ट्¥याक खुलेको १७ वर्ष वितिसक्दा समेत सडक सुधारमा कसैले चासो देखाएनन् । अहिले राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्डका अधिकांश स्थानमा फलामे सेफ्टी बार भाँचिएका छन् । भीरको सडक किनारमा लगाइएका सेफ्टी बार केही ठाउँमा पहिरो र केही ठाउँमा खियाका कारण जीर्ण बनेका छन् । प्रदेश राजधानी सुर्खेतबाट साविकको कर्णाली अञ्चलका जिल्ला जोड्ने सडक निर्माणको दुई दशकमा यात्रीलाई सुविधाभन्दा बढी सास्ती बनेको छ । बर्सेनि हुने दुर्घटनाले राजमार्गलाई मृत्युमार्गका रुपमा चित्रण गर्न थालिएको छ । राजमार्ग सञ्चालन भएदेखि हालसम्म साना ठूला गरी २ सयभन्दा बढी दुर्घटना भएका छन् । दुर्घटनामा २ सय ९ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । २ सय ४३ जना घाइते भएका छन् । साँघुरो बाटो, मर्मत सुधारको अभाव, अत्याधिक मोड र पुराना गाडी र चालकको लापरबाही जस्ता कारणले धेरै दुर्घटना हुने गरेका छन् ।

सुर्खेतको कल्याणदेखि कालिकोट र जुम्लाको सिमाना नाग्म बजार नपुग्दासम्मको सडक निकै जोखिमयुक्त छ । जुन सडकमा दर्जनौं ठाउँहरुमा साँघुरा मोड, ठूल्ठूला पहिरो, चट्टानी भीर, सडकमा परेका खाल्डाखुल्डी, हिलाम्मे सडक लगायतका कारणले दुर्घटना हुने गरेको हो । खिड्कीज्यूला यता दैलेखमा ९ किलोमिटर, कालिकोट खण्डमा पर्ने ७६ किलोमिटर र जुम्लामा पर्ने ३० किलोमिटर सडक खण्डको स्तरोन्नती नहुँदा यात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । त्यसैमा वर्षातको समयमा त झन उच्च जोखिम छ । सडक बिग्रेका ठाउँमा मर्मत गर्ने, पहिरो हटाउने र सानातिना काम गर्ने बाहेक सडक डिभिजन कार्यालयहरुले ठोस काम केही गर्न सकेका छैनन् । राजनीति नेतृत्वको पहुँच संघीय सरकारसम्म बेला–बेला पुगेपनि भौतिकरुपले आफ्नो जीवनस्तर माथि उठाएपनि जनताका समस्यातर्फ कहिल्यै पुगेन् । कर्णाली प्रदेशसभासम्म पुगेका नेताहरुले समेत कर्णाली राजमार्ग र नागरिकको जीवनस्तर माथि उकास्ने तर्फ हवाई भाषण दिने बाहेक देखिने गरि कुनै ठोस काम गर्न सकेका छैनन् । पछिल्लो समय राजनीति पनि कमाई खाने सशक्त माध्यम बनेकाले हरकोई गरिवी, अभाव, बेरोजगारी, अशिक्षा जस्ता मुद्धालाई भजाएर नेता बन्न तछाडमछाड गरिरहेका छन् । नेताहरुले निर्वाचन ताका आफैले गरेका प्रतिवद्धता पुरा गर्न तर्फ ईमानदार प्रयास भन्दा पनि कमाऊ धन्दामा केन्द्रित हुँदा नागरिकका समस्या ज्यूँका त्यहुँ छन् । त्यसैले वर्तमान राजनीतिक नेतृत्व र नेताले समस्या समाधान गर्लान भनेर सोच्नु नागरिकका लागि दिवास्वप्न जस्तै हो ।

राजनीतिक अस्थिरता, दिर्घकालिन सोचको अभाव, योजनाबद्ध विकास नहुनु जस्ता कारणले सडक स्तरोन्नती जस्ता पूर्वाधार निर्माणका कार्यहरु ओझेलमा परेका हुन् । वर्षातमा कर्णाली राजमार्गसँगै त्यसका सहायक सडकहरुको अवस्ता झनै दयनिय र भयावह स्थिती छ । ती सडकमा गुड्ने सवारी र कतिपय यात्रुले दुर्घटनामा परेर अनाहकमै ज्यान गुमाएका छन भने कतिपय घाइते, अपाङ्ग भएका छन् । बाँचेकाहरु पनि आज सम्म भगवान भरोसाले जोखिमपूर्ण सडकमा ओहर–दोहर गर्न बाध्य छन् । अधिकांस साँघुरा सडक, ओभरलोड बोक्दा ब्रेक फेल हुने, ट्राफिकलाई छलेर नियम उल्लंघन गर्ने, तीव्र गतिमा सवारी चलाउने, पुराना गाडीहरुको कन्डिशन जाँच नगरी गुडाउने जस्ता कारणले समेत दुर्घटना हुने गरेका छन् । अहिले वर्षातको समयमा यातायातसँग सम्बन्धित सबै पक्ष सचेत भएर दुर्घटना न्यूनीकरण गर्ने तर्फ ध्यान केन्द्रित गर्न आवश्यक छ । संघ तथा प्रदेशसँगै स्थानीय सरकारहरुले जतिसक्दो छिटो कर्णालीका जीर्ण सडकहरुको स्तरोन्नती गर्नुका साथै सवारी दुर्घटना भईहाले तत्काल राहत, उद्दार जस्ता कार्यहरु पूर्व तयारी अवस्थामा राख्नु पर्छ । मानवको ज्यान भन्दा ठूलो अरु केही हुन नसक्ने भएकाले वर्षातको समयमा दुर्घटनाको उच्च जोखिमलाई न्यूनिकरण गर्न तर्फ सबैपक्षको सहयोग तथा सहकार्य अपरिहार्य हुन्छ ।

Translate »