‘शिक्षण पेशामै निराशा र असन्तुष्टि जन्माएकोप्रति चिन्ता जाहिर’

सुर्खेत । शिक्षक शिक्षाको मेरुदण्ड हुन् भन्ने मान्यता सही भएपनि व्यवहारिक रुपमा शिक्षकहरुलाई नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरुमा थुप्रै जटिल पेसागत चुनौतीहरुको सामना गर्नुपरिरहेको पाइएको छ ।

नेपाल प्रधानाध्यापक संघ सुर्खेतले आईतबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘शिक्षक कल्याण सर्वेक्षण’ मा अपर्याप्त तलब–भत्ता, शिक्षकको निरन्तर व्यावसायिक विकासको अभाव, राजनीतिक हस्तक्षेप, तालिम तथा स्रोत सामग्रीको कमी, कार्यको मूल्याङ्कन गर्ने पारदर्शी संरचनाको अभाव, तथा विद्यालय प्रशासनसँगको असहयोगपूर्ण सम्बन्ध जस्ता पक्षहरुले उनीहरुको भूमिका कमजोर बनाइरहेको पाईएको हो ।

बहुआयामिक समस्याले शिक्षकहरुको आत्मबल कमजोर हुनुका साथै प्रेरणामा आउने गिरावटले शिक्षणको गुणस्तरमा समेत प्रतिकूल प्रभाव पारिहेको पाइएको छ । शिक्षकको सशक्तीकरणबिनाको समावेशी र गुणस्तरीय शिक्षा प्रणालीको परिकल्पना गर्नु विडम्बनापूर्ण हुने ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (पान) का केन्द्रीय सचिव यामबहादुर श्रेष्ठले बताए ।

उनले शिक्षकलाई आवश्यक स्रोत, तालिम, सहकार्य र सम्मानजनक वातावरण उपलब्ध गराइने हो भने समग्र विकासलाई दिशा दिने सार्थक भूमिका निर्वाह गर्न सक्ने जनाए ।

‘शिक्षकहरुको पेसागत अनुभव, चुनौती र आवश्यकतालाई नीतिगत तहमा सम्बोधन गर्नु अत्यन्तै आवश्यक छ,’ उनले भने, ‘गुणस्तरीय तालिम र दक्षताको अभाव शिक्षण पेसाको दीर्घकालीन चुनौती बनेको छ । शिक्षकहरु समयानुकूल तालिम नपाउनु वा उपलब्ध तालिमहरुलाई व्यवहारमा प्रभावकारीरुपमा कार्यान्वयन गर्न नसक्नुको कारण शिक्षण प्रक्रियाको गुणस्तरमा प्रत्यक्ष असर परेको छ ।’

उनले विषयगत ज्ञानमा कमजोरी, अध्यापन भाषामा प्राविधिक सिपको अभाव, र शैक्षिक नवप्रवर्तनप्रति उदासीनताले शिक्षकहरुलाई पेसागत रुपले सबल हुनबाट रोकेको उनको भनाई थियो ।

शिक्षकहरुलाई आवश्यक स्रोत तथा प्रविधिको सहज पहुँच र नियमित प्रविधिमैत्री तालिममार्फत सक्षम नबनाइने हो भने गुणस्तरीय शिक्षा केवल नारामा सीमित हुने खतरा रहेको उनले जिकिर गरे ।

शिक्षक कल्याण सर्वेक्षक टीमका प्रतिनिधि सुरेन्द्र देवकोटाले अधिकांश शिक्षकहरु अझै पनि एकरुप शिक्षण शैलीमा सीमित रहेको जनाए । उनले हालको पद्धतीले विविधताको सम्मान र समावेशी शिक्षण विधिको अभावका कारण शिक्षालाई सबैका लागि सुलभ र सान्दर्भिक बनाउन असमर्थ बनाइरहेको बताए । यस्ता अवस्थाले सामाजिक न्यायको आधारमा शिक्षा प्राप्त गर्ने हकलाई कुण्ठित गर्छ र दीर्घकालीनरुपमा सामाजिक विभाजनलाई अझ बलियो बनाउने खतरा रहेको उनको भनाइ थियो ।

‘शिक्षण शैली र कक्षा व्यवस्थापनसम्बन्धी चुनौतीहरुले पनि शिक्षणको प्रभावकारिता कमजोर पारेको छ । अझैपनि धेरै शिक्षकहरु प्रवचनमुखी, एकतर्फी शिक्षण पद्धतिमा आश्रित छन्, जसले विद्यार्थीको सक्रिय सहभागिता र आलोचनात्मक सोच विकासमा बाधा पुया¥याउँछ,’ उनले भने, ‘संवादात्मक, सहभागितामूलक र प्रयोगात्मक सिकाइ प्रविधिहरुको उपयोग नगर्दा विद्यार्थीहरु श्रोतामात्र बनिरहेका छन्, जसले उनीहरुको जिज्ञासा, सिर्जनशीलता र आत्मविश्वासमा कमी ल्याउँछ ।’

उनले समयको सदुपयोगको अभाव, अनुशासन कायम गर्न कठिनाइ, र ध्यान खिच्न असमर्थताले शिक्षण–सिकाइ वातावरणलाई निरुत्साहित बनाउँने गरेको बताए । यी समस्याहरू समाधान गर्न शिक्षकहरुलाई आधुनिक शिक्षाशास्त्रीय रणनीति, व्यवहार व्यवस्थापनका उपायहरु, र विद्यार्थी माझ प्रभावकारी अन्तरक्रिया गर्ने सिपमा निरन्तर अभिमुखीकरण आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल प्रधानाध्यापक संघ सुर्खेतका सभापति दुर्गा शाक्यले शिक्षकहरुको योगदानअनुसार पारिश्रमिक र सामाजिक सम्मानको अभाव, अन्य पेशाजस्तै उन्नतिको अवसरको कमी, र राज्यको तर्फबाट दीर्घकालीन करियर विकासको सुनिश्चितताको नहुनुले पेशामै निराशा र असन्तुष्टि जन्माएको बताईन् ।

‘शिक्षणलाई समाजले सम्मानको दृष्टिले हेर्दैन, तब योग्य जनशक्ति शिक्षण पेशाबाट विमुख हुने सम्भावना बढ्छ,’ उनले भनिन्, ‘दीर्घकालीन रुपमा शैक्षिक क्षेत्रको विकासमा अवरोध ल्याउँछ । सहकार्य र समन्वयको कमजोरी पनि शिक्षण पेशाको अर्को गम्भीर चुनौती हो ।’ उनले विद्यालयमा सहकर्मी शिक्षकहरुबिच स्वस्थ पेसागत सम्बन्ध, आपसी सहयोग, अनुभव आदानप्रदान, र सामूहिक उत्तरदायित्वको भावना अत्यन्त आवश्यक हुने गरेको बताईन् ।

तर, व्यावसायिक असुरक्षा, राजनीतिक प्रभाव, प्रतिस्पर्धात्मक मानसिकता, र व्यक्तिगत ईष्र्याले शिक्षकहरुको बीचमा सहयोगभन्दा असहयोगको वातावरण बनाइदिएको पाइएको उनले जनाईन् ।

‘असहयोगी प्रवृत्तिले पेसागत सिकाइका अवसरलाई घटाउँछ र टीम वर्कको भावना समाप्त गर्छ । समन्वयको अभावले पाठ्यक्रम विकास, सहशिक्षण, मूल्याङ्कन रणनीति र विद्यार्थी आवश्यकतामा आधारित समष्टिगत निर्णय प्रक्रियालाई कमजोर बनाउँछ,’ उनले भनिन्, ‘त्यसैले, विद्यालयमा सहकार्यपूर्ण संस्कृति निर्माण गर्न प्रशासकीय नेतृत्वले पहल लिनु आवश्यक छ, जसले शिक्षकहरुको पेसागत आत्मबल, सिकाइको गुणस्तर, र विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न मद्दत गर्छ ।’

उनले सामाजिक सञ्जाल तथा प्रविधिको अत्यधिक प्रयोगबाट उत्पन्न ध्यान विचलनले शिक्षक–विद्यार्थी सम्बन्धमा समेत दूरी सिर्जना गर्ने गरेको बताईन् । जुन समग्र सिकाइ वातावरणका लागि घातक रहेको उनको भनाइ छ । कार्यक्रममा शिक्षकहरुले भोगिरहेको मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरु दिनानुदिन जटिल बन्दै गइरहेका पाईएको थियो ।

निरन्तर कार्यभार, विद्यार्थी, अभिभावक र विद्यालय प्रशासनबाट हुने अत्यधिक अपेक्षा, आलोचनाको दबाब, तथा सामाजिकरुपमा आवश्यक सम्मान नपाइनुले शिक्षकहरु गहिरो मानसिक तनावमा पर्ने गरेको बताईएको छ । विद्यालयहरुमा मनोपरामर्श सेवा वा मानसिक स्वास्थ्य सहायता सहजरुपमा उपलब्ध नभएको कारणले गर्दा उनीहरुमा भावनात्मक थकान, निराशा र आत्ममूल्याङ्कन क्षमतामा ह्रास आउने स्थिति देखा परेको पाइएको छ ।

दीर्घकालीनरुपमा यस्तो अवस्था रहने हो भने शिक्षणको गुणस्तरमा नकारात्मक असर पर्नुका साथै शिक्षण पेशामै आकर्षण घट्न सक्ने खतरा रहेको कार्यक्रमका सहभागीहरुले बताएका थिए । सहभागीहरुले विद्यालय तहमै मानसिक स्वास्थ्यसम्बन्धी सेवा र मनोपरामर्श पहुँचमा ल्याउने, कार्य वातावरणलाई सहज बनाउने र शिक्षकलाई सम्मानजनक व्यवहार गर्ने संस्कृति विकास गर्न आवश्यक रहेको औल्याएका थिए ।

शिक्षकहरुले भोग्ने तनाव चिन्ता वा मनोवैज्ञानिक दबाबको अवस्था, भौतिक सुविधा, र स्रोतसाधनको उपलब्धता, तलब, रोजगारीको सुरक्षा र आर्थिक सन्तुष्टि, पेशागत उत्प्रेरणालगायत सर्वेक्षणका मुख्य पक्षहरु समेटिएका थिए ।

कार्यक्रममा पानका कार्यकारी सचिव सुशीला पौडेल, कर्णाली प्रदेश सल्लाहकार बालाराम अधिकारी, प्रदेश सदस्य भिमबहादुर रावत, कर्णाली प्रदेश सचिव जनकबहादुर सिंहलगायतको सहभागिता रहेको थियो ।

Translate »