२०८३ भदौ १ , सोमबार
Sky News Nepal
August 17, 2026

उत्तरी नाका नखुल्दा हाटबजार सञ्चालनको अन्योलताले उपल्लो मुगुका बासिन्दा चिन्तित



मुगु । मुगुम कार्मारोङ गाउँपालिकाका बासिन्दाका लागि अत्यन्तै महत्वपूर्ण मानिने उत्तरी नाकाको हाटबजार यस वर्ष पनि सञ्चालन हुनेमा अन्योलता सिर्जना भएको छ । भदौ लागिसक्दा समेत चीनसँगको उत्तरी नाका खोल्ने कुनै सुरसार नदेखिएपछि स्थानीय बासिन्दा तथा व्यापारी चिन्तित बनेका छन् ।

नाका खुलेपछि सञ्चालन हुने हाटबजारबाट मुगुम कार्मारोङ गाउँपालिकाभरिका बासिन्दाले वर्षभरिका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, पेय पदार्थ, विद्युतीय सामग्री लगायतका दैनिक उपभोग्य वस्तु खरिद गर्दै आएका थिए । यो हाटबजार स्थानीयका लागि सामान खरिद गर्ने थलो मात्र नभई व्यापार तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने महत्वपूर्ण अवसरका रुपमा स्थापित छ ।

हाटबजारमा स्थानीय व्यापारीले चीनबाट ल्याएका दैनिक उपभोग्य सामग्री मुगुका नागरिकले खरिद गर्ने गर्थे । त्यसैगरी स्थानीयले उत्पादन तथा संकलन गरेका जडीबुटी, यार्सागुम्बा, काठका सामग्री (लौरी, झरो) तथा फलफूलका भुजा लगायतका वस्तु चिनियाँ व्यापारीलाई बिक्री गरी कारोबार गर्ने गरेका थिए ।

तर, यस वर्ष भदौ लागिसक्दा पनि हाटबजारका लागि नाका खोल्ने कुनै तयारी नदेखिएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार चीनमा पशुमा रोग फैलिएका कारण खोप लगाउने अभियान चलिरहेकाले तत्काल नाका नखोलिने जानकारी चिनियाँ पक्षबाट आएको छ ।

साथै, नेपालबाट चीनतर्फ जाने जडीबुटीको मागसमेत पछिल्ला दिनमा घटेकाले हाटबजार सञ्चालनमा अन्योल थपिएको उनले जनाए । हाटबजार नलागेपछि उपल्लो मुगु र विशेषगरी भौगोलिक रुपमा अत्यन्तै विकट मानिने करान भेगका नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव हुन सक्ने स्थानीयको चिन्ता छ ।

करान भेगबाट जिल्ला सदरमुकाम गमगढी पुग्न धेरै दिन लाग्ने र पैदल बाटोमा भारी बोकेर फर्किनुपर्ने बाध्यता रहेकाले यो हाटबजार स्थानीयका लागि सहज र भरपर्दो विकल्प बन्दै आएको थियो । गमगढीबाट खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामान भारी बोकेर करान भेगसम्म पुर्‍याउँदा ढुवानी खर्च निकै महँगो पर्ने स्थानीय बताउँछन् ।

त्यसैले वर्षमा एकपटक नाका खुलेर हाटबजार लाग्दा स्थानीयले आवश्यक सामान एकैपटक खरिद गरी वर्षभरिका लागि जोहो गर्ने गरेका थिए । हाटबजार नलागे स्थानीय उत्पादनको बिक्रीसमेत प्रभावित हुने देखिएको छ । जडीबुटी, यार्सागुम्बा तथा अन्य स्थानीय उत्पादन बिक्रीबाट आम्दानी गर्दै आएका नागरिकले बजार गुमाउने अवस्था आएको गुनासो गरेका छन् ।

नाका कहिले खुल्ने र यस वर्ष हाटबजार लाग्ने वा नलाग्ने विषयमा स्पष्ट जानकारी नहुँदा उपल्लो मुगुका नागरिक तथा व्यापारी अन्योलमा छन् । नाका शीघ्र सञ्चालनका लागि नेपाल सरकार तथा सम्बन्धित निकायले चिनियाँ पक्षसँग आवश्यक समन्वय र पहल गरिदिन स्थानीयको माग छन् ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार
Translate »