कर्णालीका चार जिल्लामा सडक अवरुद्ध


सुर्खेत । कर्णाली प्रदेशका चार स्थानमा सडक अवरुद्ध भएका छन् ।
कर्णाली प्रदेश आपतकालीन कार्य सम्पादन केन्द्रका अनुसार अविरल वर्षा, बाढी, सुक्खा पहिरो र सडक मर्मतका कारण दैलेख, कालिकोट, हुम्ला र रुकुम पश्चिममा सडक अवरुद्ध भएका हुन् ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका–२, पातलखोला नजिक सेतो भिरमा विच बाटोमै सवारी साधन विग्रेर फसेका कारण सडक आवागमन ठप्प भएको छ ।

त्यस्तै कर्णाली करिडोर अन्तर्गत कालिकोट पचालझरना गाउँपालिका–६, घताचौरमा विच बाटोमै सवारी साधन हिलोमा अड्केका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
कर्णाली करिडोर अन्तर्गत नै हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा सुख्खा पहिरो गएर सडक पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख (प्रहरी निरीक्षक) रोहितकुमार शाहीका अनुसार उता भेरी करिडोर अन्तर्गत पहिरोका कारण रुकुम पश्चिमबाट डोल्पा जाने सडक अवरुद्ध भएको छ ।
वर्षातका बेला मुख्य राजमार्ग तथा करिडोरहरुमा हुने अवरोधले यातायात सेवा प्रभावित भएका छन् । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट पहल भईरहेको जनाईएको छ ।
वर्षातका बेला मुख्य राजमार्ग र करिडोरहरुमा यात्रा गर्नुपूर्व सडकहरुको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले सुझाव दिएको छ ।

