यातायातको अनियमितता जाँच गर !

यातायात व्यवस्था कार्यालय सुर्खेतले लिएको सवारी चालक अनुमति पत्रको ट्याल परीक्षामा सूचकांकको रुपमा देखाईने झण्डाको प्रयोग नै नगरी मनोमानी तरिकाले परीक्षार्थीलाई उर्तिण तथा अनुर्तिण गराई अनियमियतता गरेको पाईयो । यातायातलाई नै नियमन तथा निर्देशन गर्ने निकायको चरम लापरवाहीले सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्यालमा) अनियमियतता गर्ने माथि छानविन र कार्वाहीको दायरमा ल्याउन नसक्नु कानूनी राजको उपहास हो । सरकारले नियमनकारी निर्देशन गर्ने निकायको समेत अनुगमन गर्न सक्ने भएकाले यतिका दिनसम्म कानूनको खिल्ली उडाउँदै बेइमानी रोक्न नसक्नु अर्को कमजोरी उदाँगो भएको छ । सवारी तथा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७७ संसोधित परीक्षा प्रणाली अन्तर्गत ट्यालको १०० अंकलाई घटाई ७० प्रतिशत अंक ल्याउने परीक्षार्थीलाई पास गर्ने नियम लागु भएदेखि परीक्षामा खटिएका कर्मचारीले अनियमितता गरेका सूचना र जानकारी पाउँदा समेत छानविन गरि सत्यतथ्य बाहिर ल्याउन नसक्नु सकारको समेत मिलेमतोको आशंका उत्पन्न भएको छ । यातायात कार्यालय सुर्खेतले यहीं बैशाख २१ गतेदेखि लिएका सबै प्रयोगात्मक परीक्षामा सूचकांकको रुपमा देखाईने हरियो र रातो झण्डा नदेखाएरै परीक्षार्थीलाई उर्तिण तथा अनुर्तिण गरि आर्थिक चलखेल गरेको तथ्य र प्रमाण हुँदाहुँदै पनि कार्वाही नहुनु दुःखद पक्ष हो ।

संसोधित कार्यविधि २०७७ मा भएको व्यवस्था वमोजिम मोटर साइकलको सवारी चालक अनुमति पत्र वर्ग ‘ए’, स्कुटरको सवारी चालक अनुमति पत्र वर्ग ‘के’ र साना सवारी जीप कार, डेलिभरी भ्यान वर्ग ‘वी’ को परीक्षा प्रणाली अन्तर्गत ट्यालमा अंक १०० लाई घटाई ७० प्रतिशत अंक ल्याउने परीक्षार्थीलाई विभिन्न सूचक कायम गरि पास फेल गर्ने व्यवस्था गरेको छ ।  तर, फेल भएका परीक्षार्थीलाई रातो झण्डा र पास भएका परीक्षार्थीलाई हरियो झण्डा नदेखाउनु भन्ने कहींकतै उल्लेख गरिएको छैन् । यसबाट के बुझ्न सकिन्छ भने कानून कार्यान्वयन गर्ने पक्षले आफुखुशी व्याख्या गरेको बुझिन्छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७७ (संशोधित) ८ को बुँदा नम्वर ३ मा अनुर्तिण भईसकेका परीक्षार्थीहरुलाई परीक्षाका सम्पूर्ण चरणहरु सम्पन्न हनुु अगाबै रातो झण्डा देखाउनु पर्ने स्पष्ट उल्लेख छ । तर, सुर्खेत यातायातले लिएका प्रयोगात्मक परीक्षामा खटिएका कर्मचारीले आफुखुशी परीक्षार्थीलाई जानकारी नै नदिएर उर्तिण तथा अनुर्तिण गर्ने गरेको पाईयो । परीक्षामा खटिएका कर्मचारीले मनोमानी ढंगले अंक दिएको आधारलाई नै पास र फेलको सूचक मानिएको देखियो । नियम, कानून विपरित कर्मचारीले आर्थिक चलखेल भएको आशंकलाई थप पुष्ठी गरेको छ । संसोधित कार्यविधि २०७७ ऐनमा भएको व्यवस्था यथावतै रहँदा हाल सञ्चालन भएका परीक्षामा पास वा फेल भएको सांकेतिक हरियो वा रातो झण्डा देखाउन पर्ने नियमलाई सुर्खेत यातायातले कार्यान्वयन गरेको छैन् ।

यसअघि कार्यालयले सञ्चालन गरेका प्रयोगात्मक परीक्षामा हरियो र रातो झण्डालाई नै पास–फेल मापनको कडी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका कर्मचारी माथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । तर, एउटै ऐन, नियम र कार्यविधिमा भएको व्यवस्था अनुरुप हाल सञ्चालन भएका ट्याल परीक्षामा पास भएका परीक्षार्थीलाई हरियो र फेल भएका परीक्षार्थीलाई रातो सांकेतिक झण्डा नदेखाउँदा पनि अख्तियार जस्ता निकायले देख्न नसक्नु अर्को रहस्यको विषय बनेको छ । सवारी तथा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७७ संसोधितले समेत झण्डाको अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था स्पष्ट उल्लेख गरेको छ । तर, हाल सञ्चालन भएका प्रयोगात्मक परीक्षामा पास–फेल भएको सूचकांकको रुपमा देखाइने हरियो र रातो झण्डाको अनिवार्य व्यवस्थाको पालना नभएको पाईएकाले सम्बन्धित पक्षले तत्काल छानविन गरी दोषी माथि कार्वाही गरोस् । आईन्दा यातायात क्षेत्रमा देखापरेको विकृति, विसंगति तर्फ नियमनकारी तथा निर्देशनकारीहरुको समेत विशेष ध्यान पुगोस् ।

 

Translate »