सुर्तीजन्य पदार्थको नियमनमा कडाई गरौं

नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट प्रतिदिन ७५ जनाको मृत्यु हुने गरेको सरकारी अध्ययन छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को समन्वयमा एक्सन नेपालले गरेको अनुसन्धानमा नेपालमा प्रत्येक वर्ष २७ हजार १ सय ३७ जनाको सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने रोगबाट मृत्यु हुने गरेकोे पाइएको हो । यो संख्या हरेक वर्ष बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट विश्वमा बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको छ । यसरी हेर्दा विश्वमा हरेक दिन १९ हजार मानिसको मृत्यु हुन्छ । पछिल्लो समय क्यान्सर, रक्तचाप, क्षयरोग, मस्तिष्कघात, हृदयाघातजस्ता रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ भएको चिकित्सकहरुको भनाइ छ । सरकारले सुर्तीजन्य पदार्थमा कर बढाउँदा यसको सेवनमा कमी मनोविज्ञानले सुर्तीजन्य पदार्थमा २५ प्रतिशत कर लगाइएको छ । सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा न्यूनीकरणका लागि कर वृद्धि गरेपनि सेवनकर्ताको संख्या घटनुको साटो बढ्दो छ । यद्यपि ! विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर पु¥याउन सुझाव दिएपनि नेपालमा त्यसको अर्थ विपरित (उल्टो) देखिएको छ । नेपालमा सुर्तीजन्य पदार्थमा २५ देखि २७ प्रतिशतको हाराहारीमा कर लगाइएको छ भने थाइल्यान्डमा ६७, बंगलादेशमा ६१ र श्रीलंकामा ६३ प्रतिशत कर लगाइएको छ । एसियामै सबैभन्दा कम कर नेपालमै लगाइएको अनुसन्धानले देखाएको छ । कर कम भएकै कारण सुर्तीजन्य पदार्थमा धेरैको पहुँच पुग्न सकेको चिकित्सकहरुको ठहर छ ।

सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने क्यान्सर, मुटुसम्बन्धी रोगलगायतको उपचारमा २३ अर्ब रुपैयाँ गुमेको तथ्यांकले देखाएको छ । सुर्तीजन्य पदार्थ सेवनलाई निरुत्साहित गर्न यस्ता पदार्थमा भारी मात्रामा कर बढाउनुपर्ने विशेषज्ञको सुझाव छ । सुर्तीजन्य पदार्थ सेवन गर्नेमा अत्यधिक हृदयाघात हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवनबाट पछिल्लो समय २० देखि ४० वर्ष उमेर समूहका युवामा हृदयाघात हुने गरेको छ । हृदयाघात, मष्तिष्कघात, मुटु रोग र रक्तनलीसम्बन्धी रोगको प्रमुख कारक नै सुर्तीजन्य पदार्थको प्रयोग हो । सुर्तीजन्य पदार्थ सेवनकै कारण युवामा फोक्सोको समस्या हुने गरेको पाईएको छ । क्यान्सर रोग लागेका व्यक्तिको पहिचानदेखि रोगको उपचारमा औसतमा प्रतिव्यक्ति १० लाख खर्च हुने गरेको छ । एकजनाको मुटु तथा रक्तनलीको उपचारमा ८ लाख खर्च लाग्ने तथ्यांकमा उल्लेख छ । जसको करिब ६८ प्रतिशत रकम औषधिमा मात्रै खर्च हुन्छ । त्यस्तै, निम्न आय भएका देशका १ लाख मानिसमध्ये ८० प्रतिशतले धूमपान गर्ने अनुसन्धानले देखाएको छ । प्रायः सबै सुर्तीजन्य पदार्थ सेवनकर्तालाई सुर्तीजन्य पदार्थ सेवन स्वास्थ्यका लागि हानिकारक हो भन्ने जानकारी छ । तर, यसको प्रयोग गर्नेहरूको संख्या बर्सेनि बढ्दो छ । विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्यांक अनुसार विश्वमा २२.३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् । विश्व स्वास्थ्य संगठनद्वारा गरिएको नसर्ने रोगको सर्वेक्षणअनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । तर, यसको प्रयोगमा न्यूनीकरण गराउन सकेको छैन ।

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न र बिक्री वितरण गर्न रोक लगाएपनि अहिले पनि खुलेआम सेवनकर्ता सेवन गरेको भेटिन्छन् । सार्वजनिक स्थलबाट कम्तीमा सय मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा पूर्ण रोक लगाएको हा । विडम्बना, सार्वजनिक स्थलमा पनि अस्पताल र विद्यालय वरिपरिसमेत सुर्तीजन्य पदार्थको खुल्लमखुल्ला बिक्री वितरण भइरहेको छ । ऐनले भनेको भन्दा ठीक उल्टो काम भइरहेको छ । सुर्तीजन्य वस्तुको उत्पादन र बेचबिखनमा कानुनी रुपमै प्रतिबन्ध हुँदा पनि त्यसको पालनामा सरकार चुक्नु दुःखद् कुरा हो । दक्षिण एसियामै भुटानमात्र सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने पहिलो मुलुक हो । यसबाट पनि पाठ सिक्नुपर्छ । सरकारले यसलाई राजस्व संकलन र आम्दानीको मात्र माध्यमको रूपमा सोच्दा बर्सेनि हजारौं नागरिकले ज्यान गुमाउन बाध्य छन् । यसको नियमन र न्यूनीकरणको एकमात्र उपाय भनेको जनचेतना र ऐनको पूर्ण कार्यान्वयन नै हो । सरकारले नियमन गर्न नसक्दा सुर्तीजन्य पदार्थको विज्ञापनसमेत पर्याप्त मात्रामा छ । बजार अनुगमन र नियमनको पाटोमा जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय र सम्बन्धित सरोकारवालाले स्थानीय स्तरबाटै काम नगर्ने हो भने सुर्तीजन्य पदार्थको सञ्जालले समाज घेरिनेमात्र होइन, रोग र मृत्युले पनि घेरिनेछ । यस तर्फ हामी सबै सचेत बन्नु पर्छ ।

Translate »