२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

कर्णालीमा सौर्य विद्युत् परियोजना निर्माण हुने



काठमाडौँ । विद्युत् सुविधामा पछाडि पर्दै आएको कर्णाली प्रदेशको विद्युत् आपूर्तिलाई दिगो बनाउने गरी नेपाल विद्युत् प्राधिकरणले करिब तीन मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना निर्माण गर्ने भएको छ ।

हुम्ला, डोल्पा र मुगुमा विद्युतीकरणका एसियाली विकास बैंकको सासेक परियोजनामार्फत अनुदानमा बन्ने सौर्य प्रणाली निर्माणका लागि बुधबार प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरिएको छ ।

हाल ११ केभीको प्रसारण लाइनबाट उपलब्ध विद्युत्को गुणस्तर अत्यन्तै कमजोर रहेकाले गुणस्तरीय विद्युत् उपलब्धताका लागि चार सोलार परियोजना राख्न लागिएको प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानका अनुसार एसियाली विकास बैंकको करिब एक करोड २० लाख अमेरिकी डलर अनुदानमा करिब चार घण्टाको ब्याट्री ब्याक अपसहितको यो परियोजना बन्न लागेको हो ।

‘ती क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन तथा लघुजलविद्युत्को बिजुलीले स्थानीयलाई गुणस्तरीय बिजुली प्राप्त हुन नसकेको देखिएपछि सोलार परियोजना विकास गर्न लागिएको हो,’प्रधानले भने, ‘करिब १५ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अहिले बोलपत्र आव्हान गरिएको हो ।’

स्थानीय लघुजलविद्युत्को ग्रिडलाई पनि अन्तरआबद्ध गरी विद्युतीकरणलाई भरपर्दो र गुणस्तरीय बनाउन लागिएको उनको भनाइ छ । जुम्ला र हुम्लामा करिब एकरएक मेगावाट तथा मुगुमा चार सय किलोवाट र डोल्पामा छ सय किलोवाटको सोलार परियोजना राख्न लागिएको उनले जानकारी दिए।

जुम्लामा ३।८ मेगावाट प्रतिघण्टा, मुगुमा २।२ मेगावाट प्रतिघण्टा र डोल्पामा दुई मेगावाट प्रतिघण्टा, हुम्लामा तीन मेगावाट प्रतिघण्टा ऊर्जा सञ्चित क्षमताको ब्याट्रीसहित सोलार प्लान्ट स्थापना गर्न लागिएको हो ।

मुगु र हुम्लामा अझै राष्ट्रिय प्रसारणको बिजुली नपुगेका जिल्ला हुन् । यद्यपि प्राधिकरणले ३३ केभी प्रसारण लाइन पु¥याउन प्रक्रिया भने थालिसकेको जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रबार
Translate »