लम्पी स्किन रोग


लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखा परेको थियो । केही समयसम्म त्यो अफ्रिकाको सब–सहारा क्षेत्रमा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो । राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखा परेको थियो । पशुसेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । अहिले यो रोगबाट देशभरका किसान मारमा परेका छन् । कर्णालीका १० जिल्ला मध्ये जुम्ला बाहेक ९ जिल्लामा महामारीका रुपमा फैलिएको रोगबाट हालसम्म ७ हजार ६ सय ३२ पशुचौपाया मरेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा गाईभैंसीमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण सवा एक खर्ब रुपैयाँभन्दा बढीको क्षति हुने सरकारी निकायको अनुमान छ । सतहत्तर मध्ये ७६ वटा जिल्लामा फैलिसकेको उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि आक्रामक कदम चाल्न नेपाल पशु चिकित्सा परिषद्ले सम्बन्धित निकायहरूलाई सुझाव दिएको छ ।

समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा करिब २५ लाख २६,००० पशुमा सङ्क्रमण फैलिने र एक लाख गाईभैंसी मर्ने अनि झन्डै एक खर्ब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने अध्ययनको निष्कर्ष छ । अभिलेख राख्न थालिएयता नेपालमा गाईवस्तुमा यो तहको महामारी र त्यसले पारेको यो दोस्रो ठूलो असर मानिएको छ । यसअघि नेपालमा सन् १९४० को दशकमा गाईवस्तुमा फैलिएको ‘रिन्डरपेस्ट’ अर्थात् गगौटी रोगको महामारीले ठूलो क्षति निम्त्याएको थियो । खुर हुने चौपायामा लाग्ने उक्त भाइरल रोग अहिले उन्मूलन भइसकेको छ । कतिपय विज्ञका अनुसार सुरुमै प्रभावकारी कदम चालिएको भए त्यसले अहिलेको रुप नलिन पनि सक्थ्यो । प्रदेश अथवा संघको मन्त्रालयको तर्फबाट जसरी आक्रामक रुपमा जानुपथ्र्यो, त्यो रुपमा गइरहेको देखिँदैन् । लम्पी स्किन रोगबाट कर्णाली प्रेदशका सबैभन्दा धेरै जाजरकोटमा २ हजार ४ सय ३० पशुचौपाया मरेका छन् । रुकुममा ४५७ गोरु, र ११ भैंसी गरी ४६८, सल्यानमा ९५ बाछा बाछी , १९५ गाई , ६३१ गोरु र ९२ भैंसी गरी १ हजार १३, सुर्खेतमा २६१ बाछा बाछी, २६९ गाई, ४०४ गोरु र ९४ भैंसी गरी १ हजार २८ पशुचौपाया परेका छन् । यस्तै दैलेखमा ११५ बाछा बाछी, ६४ गाई, २९२ गोरु र ३ भैंसी ३ गरी ४७४, कालिकोटमा बाछा बाछी ८०, गाई १९७, गोरु २५० र ३ भैंसी गरी ५३०, मुगुमा ५९ बाछा बाछी , ३६ गाई र २६ गोरु गरी १२१, डोल्पामा १९ बाछा बाछी, गाई ४०, ४१ गोरु र २ चौरी गरी १०२ र हुम्लामा २५३ बाछा बाछी, ५४५ गाई, ६६८ गोरु गरी १ हजार ४ सय ६६ पशुचौपाया मरेको छन् ।
देश भर संक्रमित पशुको संख्या २ लाख ७ हजार २ सय ७३ रहेको छ । संक्रमित मध्ये १ लाख २५ हजार ९१ पशुचौपायको उपचार गरिएको छ भने ९ हजार ९ सय १ लाई खोप लगाइएको छ । तत्कालका लागि लम्पी स्किन रोग नियन्त्रण आदेश जारी गरी प्रभावकारी रूपमा उपचार, रोकथाम तथा नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाउने तर्फ सरकारको ध्यान पुग्नु जरुरी भईसक्यो । प्रतिकार्यका क्रियाकलापलाई थप समन्वय तथा संयोजन गर्न संघीय स्तरमा लम्पी स्किन कन्ट्रोल रूम स्थापना गर्ने र सङ्क्रमण देखिएका सबै स्थानीय तहमा कम्तीमा एक पशुचिकित्सक र पशुस्वास्थ्य प्राविधिकको टोलीसहित ¥यापिड रेस्पोन्स टीम अविलम्ब परिचालन गर्नुपर्ने विज्ञहरुको सुझाव छ । सङ्क्रमणदर उच्च देखिएका जिल्लाहरूमा पर्याप्त औषधि राख्ने, रोग थप फैलिन नदिन भौगोलिक रूपमा महत्वपूर्ण मानिएका स्थान तथा हालसम्म पशु क्वारन्टीन चेकपोस्ट नभएका प्रदेशमा स्थापना गर्ने तर्फ सरकारले अब ढिलाई गर्नु हुँदैन । ठूलो क्षति बेहोरे पनि सरकारको तर्फबाट कुनै प्रकारको सहयोग नपाएको किसानहरुको गुनासो छ । यद्यपि ! सरकारले महामारी घोषणा गरेर क्षतिपूर्ति दिने घोषणा गरिनसकेको अवस्थामा पशुबीमा गराएका किसानहरुलाई भने बीमा कम्पनीहरुले रकम दिनुपर्ने हुन्छ । सकेसम्म यस्ता महामारीका बेला सरकारले गरिब किसानलाई सहयोग गरेकै उचित देखिन्छ ।

