ट्रायलमा पास हुने बढे : यातायात सुर्खेतको राजश्व २५ करोड नाघ्यो
सुर्खेत । चालक अनुमति पत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढेका छन् । कर्णाली प्रदेश सरकारले गरेको निर्णय अनुसार सुर्खेत यातायात व्यवस्था कार्यालयले गत बैशाख २१ गतेदेखि ट्रायल दिँदा ७० प्रतिशत आए पास हुने नियम लागू गरेको छ ।
पहिले दुई पाङ्ग्रे सवारीसाधनमा स–साना गल्तीका कारण फेलको संख्या बढी भएकाले अहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत हुँदा पास हुने व्यवस्था लागू गरेपछि पास हुनेको संख्या बढेको यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी चित्रप्रसाद भट्टराईले बताए । उनले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको परीक्षामा पहिलेभन्दा १० प्रतिशतले पास हुने बढेको जनाए ।
पहिले गाडीमा धेरैजसो उकालो र हिल ब्रेकमा फेल हुने गरेको भट्टराईले गरेका थिए । ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागूसँगै फेल भएमा ट्रायल मौका परीक्षा समेत दिन पाईने भएकाले पास हुनेको संख्यामा बृद्धि भएको उनको भनाइ छ । अनुमतिपत्रको परीक्षामा पहिले गाडीमा भन्दा मोटरसाइकल र स्कुटरमा बढी फेल हुने गरेको यातायात कार्यालयले जनाएको छ ।
पुरानो कार्यविधिअनुसार परीक्षा दिँदा सेवाग्राहीले मोटरसाइकल चलाउँदा एउटा खुट्टा टेकेर फेल हुने गरेका थिए । धेरै सेवाग्राही ट्राफिक बत्तीमा झुक्किएर पनि फेल हुने गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख मदनकुमार गिरीले बताए । उनले भने, ‘अहिले आठमा खुट्टा टेक्दा एक पटक मौका पाउने र बत्तीमा पनि मौका पाउने गरेका छन् ।’
यातायात व्यवस्था कार्यालयमा पहिले सेवाग्राहीको भीड व्यवस्थापनको समस्या रहेकोमा अहिले उक्त समस्या समाधान भइरहेको उनले जानकारी दिए । ‘नयाँ दर्ता तथा लिखित परीक्षामा समस्या थियो । अहिले समाधान भइरहेको छ,’ उनले भने, ‘लिखित परीक्षा बिहान ७ बजे सुरु गरेर १० बजेसम्म सकाउने गरेपछि कर्मचारी र सेवाग्राही दुबैलाई सजिलो भएको छ ।’
प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने नियम अरु प्रदेशले यसअघि नै कार्यान्वयन गरे पनि कर्णाली प्रदेशले भने ढिला सुरु गरेको थियो । विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुई पाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत सेवाग्राही पास हुने गरेको यातायात कार्यालयले बताएको छ । लिखित परीक्षा पास भएका सेवाग्राहीले प्रयोगात्मक परीक्षा एक पटक फेल भएपनि तीन पटकसम्म दिन पाउने व्यवस्था छ ।
राजश्वमा बृद्धि
यातायात कार्यालय सुर्खेतले गएको आर्थिक वर्षमा २५ करोड बढी राजश्व संकलन गरेको छ । अन्य प्रदेशमा दर्ता भएका सवारी साधन कर्णालीमा दर्ता हुन थालेपछि कार्यालयले आर्थिक बर्ष २०७९/०८० मा २५ करोड ६६ लाख ४७ हजार ७ सय ८५ रुपैयाँ राजश्व संकलन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७ प्रतिशतले बढी राजश्व संकलन भएको छ ।
त्यस आवमा २१ करोड ३० लाख ८२ हजार ९ सय ४९ रुपैयाँ राजश्व संकलन भएको थियो । यातायात क्षेत्रमा व्यवसायिक मन्दीका बावजुद कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी १९ करोड ६५ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन भएको लेखाअधिकृत रामप्रसाद दाहालले जानकारी दिए ।
उनले चालक अनुमतिपत्र, सवारी दर्ता किताबलगायत दस्तुर वापत ५ करोड ७ लाख ९६ हजार ४ सय ७५ रुपैयाँ राजश्व संकलन भएको बताए । उनका अनुसार प्रशासनिक दण्ड जरिवाना र जफात वापत १० लाख ५२ हजार ५ सय ५० रुपैयाँ राजश्व संकलन भएको छ ।
यातायात क्षेत्रको आम्दानी भने ८ लाख २३ हजार २ सय ७६ रुपैयाँ संकलन भएको उनको भनाइ छ । यातायात व्यवस्था कार्यालय सुर्खेतमा करिब २५ हजार बढी सवारी साधान दर्ता भएका छन् । यो समाचार आजको स्काई न्यूज दैनिकमा प्रकासित भएको छ ।