जुम्लामा १७ सय २१ क्वीइन्टल नुन मौज्दात

वडाबाटै वितरण गर्ने तयारी

जुम्ला । जुम्लामा हाल १ हजार ७ सय २१ क्वीइन्टल नुन मौज्दात रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन सदरमुकामको डिपो सहित २ डिपोमा १७ सय बढी क्वीइन्टल नुन मौज्दात रहेको हो । जसमा सदरमुकामको डिपोमा ८ सय २१ क्वीइन्टल,नराकोट डिपोमा ५ सय ५० क्वीईन्ट र गुरुचौर डिपोमा ३ सय ५० क्वीइन्टल गरी १७ सय २१ क्वीइन्टल मौज्दात छ । नुनको अभाव नै छैन । जनतालाई आत्तिनु पर्ने स्थिति पनि छैन ।

व्यवस्थापन कमजोरी तथा पालो मिचेर नुन लिन खोज्दा डिपो तोडफोड भएपनि जुम्लामा नुनको अभाव छैन । गत आवकै नुन समयमै ढुवानी नहुँदा वडामा पठाउन सकिएन । जसका करण सदरमुकाम डिपोमा नागरिकको भिड लाग्ने गरेको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए।

सदरमुकाम आउने झन्झट र भिड रोक्न पहिलाकै निर्णय कार्यान्वयन गर्दै वडा वडामा नुन पठाउने तयारी गर्दै छौ । उनले भने,‘विगतको जस्तो वडामा नुन नपठाउने समस्या हुन्छ,निर्णय कार्यान्वयन हुन्नकी भन्ने शंका लाग्नु स्वभाविक छ । तर हामी वडाबाटै नुन वितरण गर्ने तयारीमा जुटेका छौ ।’

असार ३१ गतेदेखि सदरमुकाम डिपोबाट नुन वितरण रोकिएको र समय तालिम बनाएर चाडै वितरण सुरु गरिने समेत प्रमुख मल्लले उल्लेख गरे । गत आव ०७९र८० मा जुम्ला सदरमुकाम सहित तीनै डिपोका लागि ४२ सय क्वीइन्टल कोटा रहेकोमा सबै ढुवानी भएर पनि २ हजार ८० क्वीइन्टल कोटा थप माग गरिएको थियो । पछिल्लो थप माग गरिएको २ हजार ८० क्वीइन्टल नुन ढुवानी ढिला हुँदा नै समस्या आएको हो । यद्यपि असार ३० गते नुन आइपुगेको छ ।

त्यस्तै चालु आव ०८०र८१ का सदरमुकाम डिपोका लागि ३ हजार ९८ क्वीइन्टल , गुरुचौरका लागि ८ सय ८५ क्वीइन्टल र नराकोटका लागि ७ सय ९६ क्वीइन्टल नुनको कोटा स्वीकृत भएको छ । जसमा नेपालगन्जदेखि ३ सय ४० क्वीईन्ट नुन समेत ढुवानी सुरु भइसकेको प्रमुख मल्लले जानकारी बताए।

गत आवकै १७ सय बढी क्वीइन्टल नुन मौज्दात हुनु,चालु आवको ढुवानी सुरु हुनुले वडा वडाबाटै नुन वितरण गर्ने कार्य सफल हुने अपेक्षा गरिएको छ । यद्यपि नागरिकले भने कार्यान्वयनमा शंका व्यक्त गरिरहेका छन् ।

वडा वडाबाट नुन बाँड्ने निर्णय नुन ढुवानी नभएकै कारण कार्यान्वयन नभएको नजिर स्थापित भइसकेकोले फेरी वडाबाटै नुन वितरण गर्ने अभ्यास आफैमा चुनौतीपूर्ण रहेको नागरिक अगुवा राजबहादुर महतले बताए। उनले नागरिकले सहज रुपमा नुन पाउने वातावरण मिलाउन तीनै तहका जनप्रतिनिधि लगायत सरोकारवालाले समयमै नुन ढुवानी गर्ने विषयमा जोड दिनु पर्ने उल्लेख गरे । रेडियो नेपाल

Translate »