रुकुम पश्चिमबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र प्रदान गरिने
रुकुम पश्चिम । रुकुम पश्चिमबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र प्रदान गरिने भएको छ । रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमति पत्रका लागि अनलाइन आवेदन फारम खुला गरेसँगै जिल्लाबाटै चालक अनुमतिपत्र वितरण हुन लागेको हो ।
यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईका अनुसार सवारी चालक अनुमतिपत्र इच्छुकले यातायात व्यवस्था विभागको अनलाइनमा गएर फारम भर्न सक्नेछन् ।
अनलाइन फारम भरेकाहरूको बायोमेट्रिक समेत साउन दोस्रो हप्ताबाट हुनेछ भने त्यसपछि अन्य प्रक्रियाहरू पनि क्रमिक रुपमा सञ्चालन हुने कार्यालयले जनाएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले उद्घाटन भएको साढे ३ वर्षपछि गत फागुन २१ गतेबाट सेवा सुरु गरेको थियो । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो ।
कर्मचारी अभाव लगायतको कारण देखाउँदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो । यसअघि कार्यालयले सवारी दर्ता, नामसारी, कर असुल, ब्लु बुक नवीकरण लगायतका सेवा दिइरहेको थियो ।
जिल्लामा यातायात कार्यालय नहुँदा यसअघि रुकुम पश्चिमका नागरिक यस सेवाको लागि दाङ, सुर्खेत तथा नेपालगञ्ज लगायतका ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । रेडियो नेपाल