समयमै पाठ्यपुस्तक
वार्षिक परीक्षा सुरु हुने बेलासम्म पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुगेको समाचार आइरहने कर्णालीमा यो वर्ष भने नयाँ शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुगेको समचारले केही हदसम्म राहत दिएको छ । कतिपय ठाउँमा शैक्षिकसत्र सुरु हुनुपूर्व नै पाठ्यपुस्तक पु¥याइ सकिएको छ भने कतिपय ठाउँमा पु¥याउने क्रम जारी रहेको पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको दावी छ । कर्णालीका हुम्ला, डोल्पा, सल्यान र रुकुम पश्चिमलाई हेर्दै आएको नेपालगञ्ज कार्यालयले सल्यानमा ५ हजार ७ सय सेट किताब पुगेको छ भने रुकुम पूर्व र रुकुम पश्चिम गरी ५ हजार ६ सय सेट पुस्तक पु¥याईसकेको छ । यस्तै जनक शिक्षाको प्रादेशिक कार्यालय सुर्खेतले मुगु, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत र जाजरकोटलाई किताब पु¥याउँछ । प्रादेशिक कार्यालय सुर्खेतका अनुसार कालिकोटमा एक हजार सेट किताब यसअघि नै पुगिसकेको छ भने दुई दिनपछि एक हजार ५ सय सेट पुग्दैछ । कालिकोटलाई ३ हजार ७ सय बराबर सेट किताब आवश्यक पर्दछ । यस्तै जाजरकोटमा ३ हजार सेट किताब पुगिसकेको छ भने बाँकी पठाउने काम भइरहेको छ । २०७९ मा पनि कर्णालीका ४० प्रतिशत विद्यार्थीले पूरै सेट किताब नपाएर नै वार्षिक परीक्षा दिएको देखिन्छ ।
पाठ्यपुस्तक बेलैमा उपलब्ध नगराएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थीहरुले केही समयअघि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलेका थिए । पाठ्यपुस्तक छपाइदेखि बिक्री वितरणसम्मको जिम्मेवारी पाएको जनक शिक्षाले हिमाली जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक ढुवानीको प्रबन्ध मिलाएको दाबी गरे पनि यसअघि सबै विद्यार्थीको हातमा पूरा सेट किताब कहिल्यै पुगेन । संघीयतापछि शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । कर्णालीका कतिपय स्थानीय तहले सम्बन्धित विद्यालय, कतिपयले सिधै पुस्तक व्यवसायीलाई पुस्तक खरिद तथा ढुवानीको जिम्मा दिएका हुन्छन् । साथै कर्णालीका सबै जिल्लामा यो पटकदेखि वैशाखबाट नै शैक्षिकसत्र सुरु भएको छ । यसअघि कर्णालीका कतिपय जिल्लामा फागुनबाटै शैक्षिकसत्र सुरु हुँदै आएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका हुन् । गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रधानमन्त्री दाहालले यसपटक विद्यार्थीले पाठ्यपुस्तक समयमै पाउने प्रतिबद्धता व्यक्त गरेका थिए । विगतका वर्षमा शैक्षिक सत्र आधा बितिसक्दा पनि पुस्तक नपाउने अवस्था यसपटक भने अन्त्य भएको छ ।
देशका ५९ जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीले करिब शतप्रतिशत नै पाठ्यपुस्तक पाएका छन् भने १८ जिल्लामा पनि वैशाख अन्त्यसम्म पाठ्यपुस्तक पु¥याइनेछ जनक शिक्षाको दावी छ । सरकारले यस वर्षका लागि कक्षा एकदेखि पाँचसम्मको पाठ्यपुस्तक निजी क्षेत्र र कक्षा छ देखि १० सम्मको पाठ्युपस्तक छपाइको जिम्मा केन्द्रको थियो । निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी अनुसार कूल एक करोड १२ लाख ५६ हजार थान पुस्तक सम्बन्धित विद्यालयमा पु¥याइरहेको छ । जनक शिक्षाले एक करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरणको काम समेत सम्पन्न गरिसकेको छ । यसपटक समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुमा प्रधानमन्त्री दाहालको निरन्तरको चासो र सहजीकरणलाई मान्नु नै पर्छ । सरकारले चाहेमा के काम हुँदैन र भन्ने यो एउटा सुन्दर उदाहरण पनि हो । २०४६ सालको बहुदलपछि पहिलो पटक विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेका छन् । यसपटक समयमै कागज खरिद, कामदारको उचित प्रबन्ध गर्न सकेका कारणले तोकिएकै समयमा काम हुन सकेको हो । ‘मनि, म्यानपावर, म्यानजेमेन्ट र मेशिनको सन्तुलित प्रयोगले गुनासोरहित तवरले कामसम्पन्न गर्न सकिन्छ भन्ने यो सुन्दर उदाहरणका रुपमा लिन सकिन्छ ।