दूर्गममा नूनको पिरलो
नून शब्द सुन्दा र पढ्दा जति सामान्य लाग्छ । यसको गहिराइ त्योभन्दा कैयौं गुणा धेरै छ । बजारमा ढिके नून, आयो नून, शक्ति नून, भानु नून, वीरे नून थरिरथरिका पाइन्छ । नून तरकारी, दाल र अचारमा मिसाएर खाए पनि हुने । कसैकसैले चियामा समेत नून हालेर पिउने गर्दछन् । मान्छेहरु जे गर्छन् नूनकै लागि गर्छन् । ढाँट्ने, छल्ने, भ्रष्टाचार समेत गर्न पछि पर्दैनन् । किनकि, नूनको मूल्य अमूल्य छ । नून हाम्रो देशमा उम्रँदैन । फुल्दैन, फल्दैन । छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने नूनको अगाडि सुन र आकाशको जून फिका तथा अर्थहीन छ । किनभने हरेक भान्सामा मसलासँगै नून भएन भने तसलामा तरकारी पाक्दैन । तरकारी भएन भने खानापिना हुँदैन । खानापिना भएन भने मान्छेको जीवनचक्र खत्तम । सरकारी होस् वा गैर सरकारी सेवासुविधाजति सबै शहरकेन्द्रित भएर होला, शहर रंगीन झिलिमिली र रमाइलो छ । शहरमा बस्ने मान्छेले घाँस काट्नुपर्दैन, दाउरा बटुल्नुपर्दैन । सधैं सुकिलो, रसिलो र हँसिलोमा ठाँटिन पाउँछन् । मान्छे मरेपछि पुगिने स्वर्ग भनेको शायद शहर नै होला कि ? । नूनको खोजीमा निस्केको भीडलाई मात्र थाहा हुन्छ दूर्गममा नूनको महत्व कस्तो हुन्छ । शहरका मान्छेलाई अर्काको कुरा सुन्ने र दुःख हेर्ने फुर्सद नै कहाँ हुनु ? तल घरमा मान्छेको मृत्युमा शोकाकुल भइरहेका बेला माथि घरमा बर्थडे ‘पार्टी’मा रमाइरहेका हुन्छन् ।
दायाँ कोठामा नूनको लागि झगडा गरिरहेका बेला बायाँ कोठामा रासलीलाको ब्रोडकास्टिङ चलिरहेको हुन्छ । नूनको महत्व सुर्खेतका दूर्गम गाउँहरुमा पनि कम छैन । तर, गाउँमा बस्ने जोकोहीलाई सोधे हुन्छ नून के हो ? । नूनको सोझो त घरमा पालेको जनावरले पनि गर्छ । मान्छेलाई यो कुरा सिकाइरहनु नपर्ला । तर, समयले सधैं त्यसो कहाँ भन्छ र ? कर्णालीका लागि सीमित नूनको पिरलो कति छ भन्ने कुरा त्यहाँ पुग्नेलाई मात्र थाहा हुन्छ । देश संघीयतामा गएपनि कतिपय सरकारी तथा अर्ध सरकारी कार्यालयका संरचना पुरानै ढर्रामा चलिरहेका छन् । कर्णालीमा नून पु¥याउने कार्यालय लुम्बिनी प्रदेशबाट सञ्चालन भईरहेको छ भन्दा कतिपयलाई विश्वास नलाग्ला, तर यो सत्य हो । साल्ट ट्रेडिङ कर्पोरेशनको प्रादेशिक कार्यालय नेपालगन्जले कर्णालीका १० मध्ये आठ जिल्लामा नून वितरणको काम गरिरहेको छ । कर्णालीको राजधानी सुर्खेतमा रहेको साल्ट ट्रेडिङको कार्यालयसँग सुर्खेतसहित दैलेखसम्म मात्रै कार्यक्षेत्र छ । उसो त कर्णालीमा हुनुपर्ने साल्ट ट्रेडिङ मात्रै होइन, प्रहरी र केही अरु कार्यालयहरु पनि लुम्बिनीमा छन् ।
कणालीका सात जिल्लामा साल्ट ट्रेडिङले अनुदानको नून वितरण गर्दै आईरहेको छ । ती जिल्लामा अनुदानको नून वितरणमा समस्या आउने वित्तिकै कर्णालीमा नून अभाव भन्ने समचारहरु सार्वजनिक हुने गरेका छन् । गत असार ३१ गते जुम्ला स्थित साल्टको डिपोबाट उपभोक्तालाई नून वितरण नभएको भन्दै तोडफोड गरे । गत आवकै नून समयमै ढुवानी तथा वितरण प्रक्रिया सही नहुँदा यस्ता समस्या आउने गरेका छन् । साल्ट ट्रेडिङको प्रादेशिक कार्यालय अब लुम्बिनीको बाँकेबाट होइन, कर्णालीबाटै सञ्चालनमा ल्याउन कर्णाली सरकारले पहल गर्नुपर्छ । सरकारले निर्धारण गरेको कोटाअनुसार कर्णालीका दुर्गम वस्तीसम्म पु¥याउन स्थानीय र प्रदेश सरकारले विशेष भूमिका खेल्नु पर्छ । समयमै नून समेत पु¥याउन नसक्ने सरकारहरुले अरु के नै काम कर्णालीका नागरिकका लागि गर्न सक्छन् । अहिले कर्णालीका कतिपय नागरिकलाई नून नभएर पिरलो छ । शहरमा बस्ने नेताले दुर्गम गाउँवस्तीका पीरमर्का भुल्नु हुँदैन् । जनताले दिएको मतको नूनको सोझो गर्नु नै पर्छ । त्यसैले समयमै गाउँवस्तीसम्म सहजै नून पु¥याउने तर्फ अहिलेदेखि नै जुट्नु पर्ने देखिन्छ ।