गमगढी–नाक्चे–लाग्ना सडक निर्माण कार्य सुस्त
साउन २३, मुगु । उत्तरी सीमाना तिब्बत जोड्ने गमगढी नाक्चे लाग्ना सडक निर्माणको काम सुस्त गतिमा अघि बढेको छ । आर्थिक बर्ष २०६२÷०६३ मा सर्भे गरी २०७२ साल बाट निर्माण कार्य शुरु गरिएको उत्तरी सीमाना चीन जोड्ने गमगढी–नाक्चे–लाग्ना सडक निर्माणको कामले खासै गति लिन सकेको छैन । गमगढी–नाक्चे–लाग्ना सडक निर्माणका लागि नेपाल सरकारले आवश्यक मात्रामा बजेटको व्यवस्था गर्न नसक्दा सडक निर्माणको काम ढिला भएको हो । उक्त सडक मुगु जिल्लाको मात्र नभई सिङ्गो कर्णाली प्रदेशकै लाईफ लायनको रुपमा रहेको बहुचर्चित सडक हो ।
कुल ९६ किलोमिटरको लामो यस गमगढी नाक्चे लाग्ना सडक बजेट अभावका कारण सर्भे गरेको १८ वर्षमा पनि सडक निर्माण हुन सकिरहेको छैन । हरेक बर्ष राज्यले थोरै मात्रामा बजेट विनियोजित गर्दा अपेक्षाअनुसार सडक खन्न नसकिएको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर बिरबहादुर जिटीले बताए । यस्तै किसिमले बजेट विनियोजित हुँदै जाने हो भने सडक निर्माणको काम कहिले सकिने हो यसै भन्न उनले बताए । समयमा नै गमगढी–नाक्चे–लाग्ना सडक निमार्ण हुन नसक्दा कर्णाली बासीको चीनसँग ब्यापार गर्ने सपना अधुरै रहेको छ । नेपालका उत्तरी नाका चीनसँग जोडिएका नाका मध्ये सबैभन्दा छोटो दुरीमा रहेको यस नाक्चे द्दलाग्ना नाका सडक सञ्जालमा जोडिएमा मुगु मात्र नभएर सिङ्गो कर्णाली प्रदेशलाई नै फाइदा पुग्नेछ ।
जिल्ला बिकास समितिका पूर्व सभापति डिल्ली भट्टका अनुसार आफ्नो कार्यकालमा मुगु जिल्ला बासीको माग अनुसार गमगढी–नाक्चे–लाग्ना सडकलाई उत्तरी नाका तिब्बत जोड्न आर्थिक बर्ष २०६२/०६३ मा सर्भेको लागि जिल्ला बिकास समितिले टेन्डरमार्फत कन्सलटेन्ट हायर गरी सडकको सर्भे गर्दा २५ करोड रुपैयाँको लागत अनुमान गरिएको थियो । करिब २० देखि २५ लाख रुपैयाँ सर्भे गर्दा खर्च भएको थियो । मुगु जिल्लालगायत कर्णालीका अन्य जिल्लामा यस उत्तरी नाकामा सडक सञ्जाल जोडिएमा आर्थिक समृद्धि हुने देखेर नै तत्कालीन समयमा जिल्ला बिकास समितिबाट सडक निर्माणको लागि आधार तयार गन सर्भेको निर्णय गराइएको पनि पूर्व जिबिस सभापति भट्टले बताए । मुलुकको बदलिँदो राजनीतिक परिवेशअनुसार देश संघीय संरचनामा गइसकेपछि उक्त सडक संघीय सरकारको मातहतमा राखियो । जसले गर्दा केही बर्ष सडक खन्ने काम अघि बढ्न सकेन । पुनः गमगढी–नाक्चे–लाग्ना सडकको ढङ्गेधारासम्म डिपिआर गरी बि.स.२०७२ साल बाट सडक डिभिजन कार्यालय जुम्लाले टेण्डर आव्हान गरि सडक खन्ने कामलाई अघि बढाएको थियो ।
जिल्ला समन्वय समितिका निवर्तमान संयोजक पूर्णबहादुर रोकायाले भने ‘गमगढी–नाक्चे–लाग्ना सडक अन्तर्राष्ट्रिय स्तरको भएर राज्यले प्राथमिकतामा नराख्नु कर्णाली प्रदेशकै दुर्भाग्य हो ।’ सदिउँदेखि कर्णालीवासीको तिब्बतमा जडिबुडी, उन र नुनका साथै भेडा च्याङ्ग्राको ब्यापार बिस्तारको सपना साँगुरिँदै गएको रोकायाको बुझाई छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार गत आर्थिक बर्ष २०७८/०७९ मा ४ करोड ९३ लाख रुपैयाँ सडक निर्माणमा खर्च भएको थियो भने आर्थिक बर्ष २०७९/०८० मा ४ करोड ४० लाख रुपैयाँ खर्च भएको छ । गमगढीबाट मुगुम कार्मारोङ गाउँपालिका वडा नं ९ नजिकै रहेको छाईल सुलशुले भिरसम्म साढे १८ किलोमिटर सडक निर्माणको काम पुरा भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । हालसम्म सडक निर्माणको लागि करिब २० करोडभन्दा बढी रकम खर्च भइसकेको छ । हाल उक्त सडक निर्माणको काम थोदुङ् क्याराभान जेबी निर्माण कम्पनी लगायत अनय चार वटा निर्माण कम्पनीले गरिरहेको छ । रेडियो नेपाल