वर्षातमा संक्रमणबाट बचौं

वर्षातको समयमा विभिन्न सरुवा रोगको संक्रमण फैलिने खतरा बढी हुन्छ । अझ यो समयमा किटजन्य र पानीजन्य रोगहरु बढी देखिन्छन् । वर्षा र बाढीपहिरोका कारण कीरा, किर्ना र लामखुट्टेको टोकाइबाट देखिने रोगहरुलाई किटजन्य रोग भनिन्छ । यस्ता किटको टोकाइबाट डेंगु, मलेरिया र स्क्रिपटाइ्फस आदिको समस्या देखिने गरेको छ । हरेक वर्ष वर्षातको समयमा स्क्रिपटाइफस देखिने गरेको छ । यो मौसममा खासगरी हेपाटाईटिस ए, टाइफाइड, झाडापखाला, शरीरमा साना फोका आउने, कडा ज्वरो आउने, आँखा रातो हुने, स्वासप्रश्वासको समस्या देखिने र पसिना आउने हुन सक्छन् । यस्तोमा तुरुन्त स्वास्थ्यकर्मीलाई देखाइहाल्नु पर्छ । सुरुको अवस्थामा उपचार गरेमा रोग पूर्णरुपमा निको हुन सक्छ । यो समयमा भाइरल इन्फ्लुएन्जाका बिरामी पनि देखिने गर्छन् । बाढीपहिरोमा परेर विस्थापित भएकाहरु एकै स्थानमा जम्मा भएर बस्दा स्वासप्रश्वासको माध्यमबाट सर्ने जोखिम बढी हुन्छ । भाइरल इन्फ्लुएन्जाले दीर्घ रोगका बिरामीहरु, मृगौला तथा क्यान्सरका बिरामी, मधुमेह, मुटुको रोग, दम, बालबालिका, वृद्धवृद्धा, स्वास्थ्यकर्मी, गर्भवती महिलाहरुलाई बढी सताउँछ । हाम्रो देशमा ५० वर्षभन्दा माथिका मानिसमा यो बढी देखिने गरेको छ ।

गर्भवति महिलाहरुमा पनि जोखिममा पर्ने गरेका छन् । सामान्य इन्फ्लुएन्जा भाइरल, ज्वरो खोकीलगायतको लक्षण देखापरेमा प्रशस्त झोलिलो एवम् पोषिलो खानेकुरा खाने र आराम गरेमा ठिक हुने गरेको चिकित्सकको सुझाव छ । गर्भवति महिलालाई कुनै रोगको जोखिम नहोस् भनेर स्वास्थ्यकर्मीले विशेष ध्यान दिनुका साथै पोषणयुक्त खानेकुरामा समेत ध्यान दिनु पर्ने चिकित्सकको सुझाव छ ।  यो समयमा सर्पदंशको समस्या समेत देखिने गरेको छ । पानी जम्मा भएको स्थानमा लामखुट्टेको लार्भा पार्ने विशेष ध्यान दिनुपर्छ । कस्तो पानी प्रयोग गरेका छौं भन्ने विषयमा समेत ध्यान दिनुपर्छ । जारको पानी सिधै प्रयोग गर्ने गरेको पाइन्छ । तर त्यसरी प्रयोग गर्नु हुँदैन । पानी उमालेर वा फिल्टर गरेर खानु उपयुक्त मानिन्छ । यो समयमा खानेकुरामा विशेष ध्यान दिनुपर्छ, घरबाहिरका खानेकुरा नखाने अझ भान्साको सरसफाइमा समेत ध्यान दिने गर्नुपर्छ । साबुनपानीले राम्रोसँग हात सफा गरेर मात्र खाना खाने, रुघाखोकी लागेको बेला धुम्रपान तथा मद्यपान नगर्ने, बाटोमा हिँड्दा वा भीडमा जाँदा मास्क लगाउनुपर्छ । बिरामी हुँदा घरमा आराम गर्ने, प्रशस्त झोलिलो तथा पोषिलो खानेकुरा खाने, पानी उमालेर मात्र सेवन गर्ने आदि गरेमा वर्षातको समयमा देखिने सरुवा रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ । अहिले आँखा पाक्ने रोगले धेरैलाई ग्रसित बनाएको छ । साना बालबालिकामा अझ यो समस्या धेरै देखिएको छ, जसका कारण विद्यालयमा समेत बिदा दिइएको छ । यस्तोमा आँखा पाक्ने रोगबाट कसरी जोगिने भन्ने धेरैलाई चिन्ता भइरहेको हुन्छ । यसबाट जोगिने मुख्य उपाय सरसफाइमा ध्यान दिनु चिकित्सकहरुको सुझाव छ ।

आँखा पाक्ने समस्या भइहालेमा आँखा पाक्ने व्यक्तिलाई छुँदा, उसले प्रयोग गरेका सामान छुँदा र आँखामा औषधि लगाइसकेपछि साबुनपानीले हात धुनुपर्छ । किनकि आँखा पाक्ने रोग आँसु र कचेराका कारण सर्ने गर्छ । त्यसैले हेलचेक्र्याइँ नगरी आँखा पाक्ने रोग लागेका मानिससँग प्रत्यक्ष सम्पर्कमा आउँदा हात धुने गर्नुपर्छ । आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल, तकिया, लुगा, मोबाइल, ल्यापटप लगायत सामान अरुले प्रयोग नगर्नु उत्तम हुन्छ । आँखा पाकेको बेला पटकपटक मुख धुनुपर्छ । तर आँखालाई हातमा पानी राखेर झिमझिम गर्ने वा आँखालाई बल गरेर धुने कार्य भने गर्नुहुँदैन । त्यसैले आँखा चिम्लेर दैनिक चार–पाँच पटक धुन सकिन्छ । आँखा पाकेका व्यक्तिले कालो चश्मा लगाएर बस्नु राम्रो मानिन्छ । आँखा पाकेको छ भने भीडभाडमा हुने स्थान जस्तै, विद्यालय, पार्क र मलमा जानुहुँदैन । सकेसम्म घरमै बस्दा उचित हुन्छ । यसले गर्दा अरुलाई सर्ने सम्भावना कम हुन्छ । प्रायः बालबालिका, वृद्धवृद्धा र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई यो रोग चाँडै सर्छ । सकेसम्म संक्रमित व्यक्तिले स्वास्थ्य संस्थामा चेकजाँच गराउन ढिलाई गर्नु हुँदैन । र स्थानीय पालिका, प्रदेश सरकारले समेत यस्तो बेला हरेक नागरिकलाई संक्रमण रोगहरुबाट बच्ने उपाय बारे व्यापक जनचेतना समेत फैलाउन पर्छ । यस्तो बेला स्वास्थ्यकर्मीहरुको भूमिका विशेष महत्व र प्रभावकारी हुने हुँदा रोग फैलिनबाट रोक्न सक्दो सहयोग गर्नु पर्छ ।

Translate »