बुलबुले संरक्षणमा ढिलाई नगरौं

ऐतिहासिक ‘बुलबुले ताल’ संरक्षण तथा सम्वद्र्धनको अभावमा जीर्ण बन्दै गईरहेको छ । सरकारी वेवास्ताले जिल्लाकै पहिचान र इतिहाससँग जोडिएको यो ताल यतिबेला अस्तित्वकै संकटमा परेको हो । क्षेत्र विस्तार गर्ने योजनाअनुरूप फराकिलो बनाउँदा बुलबुले ‘पानीविनाको ताल’ भएको छ । तालको भूभाग अहिले घाँसे मैदानमा परिणत भएको छ । विकास र विस्तार गर्दा प्राकृतिक अवस्था तथा भूवनावटको ख्याल नगरिँदा बुलबुले उद्यानको मुख्य आकर्षण बुलबुले ताल नै नरहने अवस्थामा पुगेको हो । अहिले बुलबुलेको ताल हेर्न आउने पर्यटक निरास भएर फर्किने गरेका छन् । गत आर्थिक वर्षमा बुलबुले तालमा मेसिन डोजरको प्रयोग गरेर तालको क्षेत्रफल विस्तार गरिएको थियो । तालको विस्तारसँगै तालमा रहेको पानी जमिन मुनिबाट छिरेर बाहिर बग्यो । मेशिनले विस्तार गरिएको क्षेत्रमा पानी नरोकिने समस्या आयो । अहिले यो ताल दिनानुदिन कुरुप बन्दै गएको छ ।

१०–१५ वर्ष अगाडि बुलबुले ताल हेर्न आएको मानिस फेरि अहिले हेर्न गयो भने ताल कहाँ गयो भनेर खोज्ने अवस्थामा पुगेको छ । वीरेन्द्रनगर नगरपालिकाले ताल बनाउने नाममा तालकै प्राकृतिक अस्तित्व नै हराउने होकी भन्ने खतरा समेत मंडराईरहेको छ । झण्डै १५ वर्ष पहिले बुलबुले ताल हेरेका मानिसलाई अहिले हरिविजोग देखेर मन कुरुप हु्रन्छ होला । तालको विजोग देखेर कतिपयको मन रोइरहेको छ । ताल बनाउने नाममा नगरपालिकाले तालमा डोजर लगाएर घाँसे मैदान बनाइदियो । तत्काल यसको संरक्षणका लागि नसोचिए ताल नै हराउने अवस्थामा छ । यद्यपि ! तालमा पानी जम्मा नहुने समस्या आएपछि आफूहरू पनि यसप्रति निकै चिन्तित रहेकाले संरक्षणका लागि सुर्खेतस्थित जलाधार कार्यालय मार्फत ठेक्का प्रक्रिया अघि बढाएको वीरेन्द्रनगर नगरपालिकाको भनाइ छ । यसमा तालको संरक्षण र सम्वद्र्धन गर्ने क्रममा केही कुरा नष्ट भएपनि मुख्यकुरा नाम अनुसारको बुलबुलेको वास्तविकतालाई जोगाउने तर्फ विशेष ध्यान पु¥याउन आवश्यक देखिन्छ ।  नगरपालिकाले प्राविधिक खटाएर समस्याको पहिचान गर्ने काम गरिनु राम्रो पक्ष हो ।

जमिनमुनी पानी छिरेकाले त्यसको अवस्था विश्लेषण गरेर मात्रै बाँकी कामहरु अघि बढाउने निर्णण पक्कैपनि स्वागत योग्य कदम मान्छ सकिन्छ । ताललाई हेर्ने लायक ताल बनाउन वीरेन्द्रनगर नगरपालिकाले अब ढिलाई गर्नु हुँदैन् ।  ताल क्षेत्रको सरसफाइलगायत व्यवस्थापनका कामहरु पनि तीव्ररुपमा अघि बढाउनु पर्छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयको ५० लाख रकममा बुलबुले तालको संरक्षण काम अघि बढेपनि तालको उत्थान गुरु योजनाको परिधि भित्रै रहेर बनाउँदा उपयुक्त हुने देखिन्छ । अहिले झार र माटोले बुलबुले तालको अस्तित्व पुरिएको छ । त्यो झार र माटो पन्छाएर सफा गरेपछि ताल राम्रो हुन्छ । तालको सफा गर्नुपर्ने काम नगरपालिकाले छिटो गरोस् । तालको एक ठाँउमा पानी बाहिरिने भागमा बन्द गरेर भित्रै भाग सफा गरेपछि हेर्न योग्य ताल बन्नेछ । पहिले ११ हजार वर्गमिटर थियो । २८ हजार वर्गमिटर बनेपछि थप सुन सुगन्ध बन्नु पर्छ । तालको सरसफाई र तालबाट बाहिरीने पानी बन्द गरिसकेपछि चाँडै नै हेर्न लायक ताल बनाउने तर्फ सबैको ध्यान पुग्न आवश्यक देखिन्छ ।

Translate »