२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 26, 2026

सिक्टा सिँचाइ आयोजना १८ वर्ष बित्दा पनि अधुरै



बाँके । बाँकेमा सुरु भएको आयोजना सिक्टा सिचाइमा १८ वर्षमा १८ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको देखिएको छ । आठ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १८ वर्ष बित्दा पनि अझै अधुरै छ । आयोजनाको लागत ५२ अर्ब ६४ करोड पुग्ने अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि बाँकेका १७ हजार घरधुरीका ४ लाख कृषक लाभान्वित हुने भनिएको छ । पूर्वी नहरको ८६ प्रतिशत निर्माण सम्पन्न भएको छ।

राप्ती नदीको पानीले बाँकेको ४२ हजार ७ सय ६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुऱ्याउन २०६२र६३ मा सुरु गरिएको सिक्टा सिँचाइ आयोजना यतिबेला पनि पुरा हुन सकेको छैन । राप्ती सोनारी गाउँपालिकाको अगैयामा ३ सय १७ मिटर ब्यारेज निर्माण गरी राप्ती नदी पश्चिमतर्फ ३३ हजार ७ सय ६६ र पूर्वी भेगको ९ हजार हेक्टरमा सिँचाइ पुऱ्याउने लक्ष्य छ।
अहिले अगैयादेखि पश्चिम जेठी नालासम्म ५० क्युबिक क्षमताको ४५ किलोमिटर मूल नहरमा १० क्युबिक र १४ क्युबिक क्षमताको ४४ किलोमिटर पूर्वी नहरमध्ये २४ किमिसम्म ७ क्युबिक पानी सञ्चालन भइरहेको छ ।

यस वर्षदेखि पश्चिम मूल नहरअन्तर्गत १९ हजार हेक्टरमा सिँचाइ पुगेको छ । नहरको पूर्वपट्टि ४ हजार २ सय हेक्टरमा सिँचाइको पानी पुगेको हो । नहरमा पानी चल्दा किसानलाई राहत पुगेको राप्ती सोनारीका धनिराम थारुले बताए ।

पूर्वी नहरको केही खण्ड निकै गहिरो र पहिरो जान सक्ने जोखिमसमेत भएकाले बायो इन्जिनियरिङ तथा स्लोप स्टेपलाइजेसनको काम गर्दै पानी सञ्चालन गरिरहेको आयोजनाका डिभिजन इन्जिनियर रणधीर झाले बताए । पश्चिमी मूल नहरका शाखा, प्रशाखा तथा खेतस्तरका संरचना निर्माण हुन बाँकी भएकाले क्षमताअनुसार ५० क्युबिक पानी सञ्चालन गर्न अझै १० वर्ष लाग्ने अनुमान आयोजनाको छ । पश्चिमतर्फको सिधनिया शाखा नहरको १९.६ किमीमध्ये १२.९ किमी निर्माण भएको छ । उक्त शाखाबाट २ हजार १ सय हेक्टरमा सिँचाइ पुऱ्याउने लक्ष्य छ । सिँचाइ महासंघका जिल्ला अध्यक्ष शालिकराम डाँगीका अनुसार उत्तरी क्षेत्रमा बोरिङ गरेर काम भइरहेको छ ।
डुडुवाको पश्चिम नहरको १६ हजार हेक्टरमा अझै काम हुन सकेको छैन । नरैनापुरमा जग्गा विवादले नहरको काम अगाडि बढ्न सकेको छैन । ‘नरैनापुर– ५ सम्म मात्रै नहरबाट सिँचाइ भइरहेको छ,’ उनले भने ‘तर, अझै शाखा बन्न सकेको छैन । स्थानीयले पानी जाने ठाउँमा जग्गा नदिँदा जंगलको छेउबाट लैजान समस्या भएको हो ।’ नरैनापुर–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बताए । उनले एउटा वटा बाहेक अरू वडामा सिक्टा सिँचाईको पानी नपुगेको बताएका छन् ।

सिक्टा सिँचाइ आयोजना शीघ्र सम्पन्न गर्न पहल गरि अबको केही बर्ष भित्र नरैनापुरका सम्पुर्ण किसानहरूको खेतका कारागरामा सिचाइको सुविधा पुर्‍याउने आफ्नो लक्ष्य रहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। उनले यो आयोजना सम्पन्न गर्न सम्बन्धित ठाउँमा आफूहरूले ताकेता गरिरहेको बताए। (रेडियो नेपाल)

प्रकाशित मिति : २०८० साउन २८ गते आइतबार
Translate »