सुर्खेतका ३४ होटेल तथा रेष्टुरेन्टको स्तरीकरण

सुर्खेत ।  खाद्य स्वच्छताका आधारमा सुर्खेतका ३४ वटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण मूल्यांकन गरी वर्गीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले पहिलो चरणमा ती होटल तथा रेष्टुरेन्टको स्तरीकरण मूल्यांकन गरी वर्गीकरण गरेको हो ।

वर्गीकरण गरिएका मध्ये २ वटा होटललाई मात्र ‘क’ वर्गको तीनतारे हरियो ‘स्टिकर’ टाँस गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले जानकारी दिए । उनले वीरेन्द्रनगर स्थित शुभ होटल प्रालि र सिद्धार्थ शनि रिसोर्टलाई ‘क’ वर्गको तीनतारे होटलका रुपमा वर्गीकरण गरिएको बताए ।

उनका अनुसार वर्गीकरण गरिएका मध्ये ४ वटा उत्तम भएकामा ‘ख’ वर्गको दुईतारे होटल तथा रेष्टुरेन्टलाई हरियो स्टिकर प्रदान गरिएको छ । कार्यालयले गरेको स्तरीकरण भित्र दश वटा होटल तथा रेष्टुरेन्ट सन्तोषजनक भएकालाई ‘ग’ वर्गको एकतारे हरियो ‘स्टिकर’ प्रदान गरिएको छ भने आठ वटा होटल तथा रेष्टुरेन्ट सामान्य ‘घ’ वर्गकालाई पहेंलो ‘स्टिकर’ टाँस गरिएको जानकारी दिएको छ ।

वीरेन्द्रनगरकै नाम चलेका दश वटा होटल तथा रेष्टुरेन्ट स्तरीकरण मूल्यांकन भित्र पर्न नसकेको समेत कार्यालयले बताएको छ । होटेलमा पाइने खानालगायत खाद्य पदार्थको गुणस्तर र शुद्धता कायम गर्न स्तरीकरण अभियान सुरु गरिएको हो ।

खानेकुराको सूचकका आधारमा स्तर निर्धारण गरिने खाद्य स्वच्छता भित्र भान्साको संरचना, सरसफाइ, भण्डारण, भाँडाकुँडा र कामदारको व्यक्तिगत सरसफाइलगायतलाई मापदण्डको आधार मानिएको हुन्छ । ‘कतिपय नाम चलेका ठूला होटेलमा पनि खाद्य स्वच्छताको स्तर सामान्य पाइएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष कुमारी भुसालले बताईन् ।

शुभ होटललाई तीनतारा

सुर्खेतको वीरेन्द्रनगर स्थित शुभ होटल प्रालिलाई ‘क’ वर्गको तीनतारे होटलमा वर्गीकरण गरिएको छ । खाद्य स्वच्छताका आधारमा शुभ होटललाई मंगलबार ‘क’ वर्गको तीनतारे होटलका रुपमा वर्गीकरण गरिएको हो । शुभ होटलले लगातार तेस्रो पटक खाद्य स्वच्छताका आधारमा अतिउत्तम वर्गमा प्रमाणिकरण भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत मातहतको खाद्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेन्टको स्तरीकरण मूल्यांकन समितिले कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णबहादुर विसीको उपस्थितिमा होटल भान्साको स्थलगत अनुगमन गरी अतिउत्तमको प्रमाणपत्र प्रदान गरिएको हो ।

मन्त्री विसीले खाद्य स्वच्छतालाई उच्च प्राथमिकता दिएर उपभोक्तालाई थप गुणस्तरीय सेवा दिन शुभ होटललाई सुझाव दिए । शुभ होटेलका प्रबन्धक दमन शाहले खाद्य स्वच्छता कायम गरेर नै सेवाग्राहीलाई अधिकतम् सेवा प्रवाहमा प्रतिवद्ध रहेको जनाए ।

Translate »