कर्णाली एक्सपोमा अखाद्य रंग मिसाईएका परिकारको विगविगी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी तेस्रो कर्णाली एक्सपो २०२४ मा अखाद्य रंग मिसाईएका परिकारहरुको विगविगी रहेको पाईएको छ । वीरेन्द्रनगर नगरपालिकाको अगुवाईमा संयुक्त अनुगमन टोलीले गरेको अनुगमनका क्रममा आज कर्णाली एक्सपोमा राखिएका नास्ता, मिठाई तथा खानाका परिकारहरुमा अखाद्य रंग मिसाईएका वस्तु फेला पारेको हो ।
अनुगमन टोलीले महोत्सवमा करिब दुई दर्जन नास्ता तथा रेष्टुरेन्ट पसलहरुको अनुगमन गरेका मध्ये अधिकांसले चाउमिन, पकौडा, अण्डा, मासु र मिठाईजन्य वस्तुमा अखाद्य रंग मिसाईएको पाएको छ । अखाद्य रंग मिसाईएका परिकारलाई तत्कालै सम्बन्धित विक्रेताबाटै नष्ट गर्न लगाईएको वीरेन्द्रनगर नगरपालिकाको उद्योग तथा बजार अनुगमन शाखाका संयोजक दिपेन सुवेदीले जानकारी दिए ।
उनले उपभोक्तालाई आकर्षित पार्न मेलामा अखाद्य रंग मिसाईएका परिकार फेरी विक्री गरेको पाईएमा उपभोक्ता ऐन अनुसार कार्वाहीको दायरामा ल्याउने चेतावनी सहित पहिलो पटकका लागि सचेतनामुलक छोडिएको बताए । उनका अनुसार उपभोक्तालाई भ्रमित पार्ने, मूल्य लिएर अखाद्य वस्तु बेच्ने, सडेगलेको, म्याद नाघेको, उत्पादन मिति उल्लेख नभएको र कमसल वस्तु तथा सेवा प्रवाह गर्नेलाई मेला अवधिभर कडा निगरानी राखिने छ ।
आम उपभोक्ताको अधिकार रक्षाका लागि वीनपाको टोलीसँगै स्थानीय प्रशासन, राष्ट्रिय उपभोक्ता मञ्च, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र प्रहरीको टोलीले कार्यक्षेत्रअिधकार भित्र सुक्ष्म तथा विस्तृतरुपले आफ्नो कर्तव्य पुरा गरिरहेको उनको भनाइ छ ।

अनुगमन टोलीलाई कर्णाली एक्सपो आयोजकसँगै सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरुले महोत्सव अवधिभर उपभोक्ताको साथ खेलवाड हुने कुनैपनि क्रियाकलाप हुन नदिने प्रतिवद्धता जनाएका छन् । सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि रामप्रसाद पाण्डेले अघिल्लो मेला, महोत्सवहरुको तुलनामा यस पटक उपभोक्ता अधिकारप्रति बजार सुधारोन्मुख रहेको बताए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधि चक्रबहादुर थापाले एक्सपो प्रवेश टिकटसँगै बाल उद्यान भित्रका खेल हेर्ने टिकटहरुको समेत अनुगमन गरिएको जनाए ।
यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक विवेककुमार सुवेदीले उपभोक्तालाई भ्रमित पार्ने, खाद्य पदार्थको रंग परिवर्तन गर्ने, अखाद्य वस्तु बेच्ने, सडेगलेको, म्याद नाघेको, उत्पादन मिति उल्लेख नभएको र कमसल वस्तु विक्री वितरणमा पूर्णरुपमा प्रतिबन्ध रहेको बताए । उनले कानून तथा नियम थाहा छैन भनेर कुनैपनि विक्रेतालाई छुट नहुनेमा स्पष्ट रहन सुझाव दिए ।
अनुगमन टोलीमा वीनपाका उद्योग तथा बजार अनुगमन शाखाका संयोजक दिपेन सुवेदी, प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकी, उद्योग तथा उपभोक्ता हित निर्देशनालयका प्रतिनिधि गणेश श्रेष्ठ र कुलबहादुर नेपाली, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका खाद्य निरीक्षक विवेककुमार सुवेदी, नगर प्रहरी निरीक्षक पुष्प रोकाय, वीनपाका प्रतिनिधि चक्रबहादुर थापा, राजश्व शाखाका प्रतिनिधि दिपा दहाल, उद्योग शाखाका प्रतिनिधि प्रतिभा थापा, ट्राफिक प्रहरी मनोज खड्का तथा राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाश तारा बयकको सहभागिता रहेको थियो ।