सुर्खेतको सिद्धपाईला यातायातद्वारा एनपीएलका खेल हेर्न काठमाडौं जाने खेलप्रेमीलाई ‘फ्रि पास’

सुर्खेत । नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेर्न जाने सबै दर्शकका लागि सिद्धपाईला यातायात सेवा प्रालि सुर्खेतले ‘फ्रि–पास’ सेवा शुरु गरेको छ ।

प्रालिले क्रिकेट खेलको प्रवद्र्धन गर्ने उद्देश्यले बसबाट सुर्खेत–काठमाडौं रुटमा यात्रा गर्ने दैनिक दुई जना यात्रुका लागि ‘फ्रि–पास’ सेवा शुरु गरेको हो । यही मङ्सिर १५ गते देखि शुरु हुन लागेको नेपाल प्रिमियर लिगका सबै चरणका खेल हेर्न मैदान पासको टिकट खरिद गरिसकेका दुई जना भाग्यशाली यात्रुलाई सुर्खेत–काठमाडौं यात्रामा ‘फ्रि–पास’ सेवा उपलब्ध गराईएको प्रालिले जनाएको छ ।

प्रालिका अध्यक्ष दिपेनसिंह ठकुरीले यही मङ्सिर १५ गते देखि काठमाडौंमा शुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेर्न जान चाहने खेलप्रेमीको सुविधाका लागि ‘विशेष छुट अफर’ ल्याईएको बताए । उनका अनुसार ‘फ्री पास’ सेवा र प्रति टिकट ३० प्रतिशत छुट विशेष सेवा सुर्खेत–काठमाडौं रुटमा मात्र मान्य हुनेछ ।

‘कर्णालीका नागरिकलाई खेलप्रति आकर्षित गर्न र क्रिकेट खेलप्रेमी दर्शकको संख्या बढाउन हामीले बसबाट यात्रा गर्ने यात्रुका लागि टिकटमा विशेष छुट सेवा शुरु गरेका हौं,’ उनले भने, ‘सुर्खेतदेखि काठमाडौं यात्रा गर्ने यात्रुका लागि पनि प्रति टिकट ३० प्रतिशत छुट अफरले खेल जगतसँगै खेलप्रेमीको सम्मानमा टेवा पुग्ने विश्वास लिएका छौं ।’

उनले राष्ट्रको गौरवका रुपमा रहेका खेलाडीसँगै क्रिकेट खेलको प्रवद्र्धनमा सिद्धपाईला यातायात सेवा प्रालिको थोरै भएपनि योगदान पुगोस् भन्ने उद्देश्यले नेपाली क्रिकेटको महाकुम्भका बेला विशेष छुट सेवा ल्याईएको जनाए । उनका अनुसार नेपाल प्रिमियर लिग चरणका कुनैपनि खेलको अग्रीम टिकट लिईसकेका दुई जना क्रिकेट प्रेमीका लागि प्रालिका तर्फबाट दैनिक दुई जना यात्रुका लागि ‘फ्रि–पास’ सेवा उपलब्ध गराईने छ ।

‘नेपालको कर्पाेरेट सेक्टरमा पछिल्लो समय क्रिकेट क्रेज तेजीले बढेको छ । तर, यो संघीय राजधानी काठमाडौंमा मात्र सीमित छ,’ उनले भने, ‘क्रिकेट क्रेज कर्णाली जस्ता दुर्गममा समेत पु¥याउने मात्र होइन, यहाँ खेलाडी उत्पादन गर्ने हेतुले प्रालिका तर्फबाट दुई जना यात्रुका लागि ‘फ्रि–पास’ सेवा उपलब्ध गराएका हौं ।’

उनले जुनसुकै क्रिकेट मैंचका खेल हेर्न सुर्खेतबाट काठमाडौं जान चाहने सबै यात्रुलाई प्रति टिकेट ३० प्रतिशत विशेष छुट अफर समेत ल्याईएको जानकारी दिए । उनका अनुसार यो विशेष छुट अफर सेवा नेपाल प्रिमियर लिगका फाइनल खेलसम्म लागु रहनेछ ।

Translate »