जुम्लाका रोकायले जिते काँक्रेविहार राष्ट्रिय हाफ म्याराथनको उपाधि


सुर्खेत । काँक्रेबिहार राष्ट्रिय हाफ म्याराथनको उपाधि जुम्लाका राजन रोकायले जितेका छन् ।
विश्व ‘ओलम्पिक डे’ को अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको २१ किलोमिटर हाफ म्याराथनमा उनले एक घण्डा नौ मिनेट ३१ सेकेण्डमा दौड पूरा गरेका हुन् ।
राजनले एक लाख ५० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । ‘दौडिन्छ कर्णाली’ नारासहित कर्णाली प्रदेश खेलकुद विकास परिषद् र एक्सट्रीम इनर्जी ड्रिङ्कको आर्थिक सहयोगमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा आयोजना गरिएको तेस्रो संस्करणको हाफ म्याराथनमा एक घण्टा नौ मिनेट ३९ सेकेण्डमा दौड पुरा गरी कालिकोटका विनोद रोकय दोस्रो भए ।

उनले नगद ७५ हजार रुपैयाँसहित प्रमाणपत्र पाप्त गरे । तेस्रो भएका एफपीएफका गोपीचन्द्र पार्कीले एक घण्टा दश मिनेट २८ सेकेण्डमा दौड पुरा गरे । उनले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । यस्तै महिला तर्फको खुला १० किलोमिटर दौडको उपाधि धादिङकी सन्तोषी श्रेष्ठले प्राप्त गरिन् ।
उनले निर्धारित दुरी ३६ मिनेट ४० दशमलव ६० सेकेण्डमा पार गर्दै उपाधि जितिन् । उपाधिसँगै श्रेष्ठले नगद ५० हजार रुपैयाँसँगै प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो भएकी जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले ३७ मिनेट ०३ दशमलव ११ सेकेण्ड र तेस्रो भएकी बाजुराकी सिर्जना पाण्डेले ३९ मिनेट २८ दशमलव ८८ सेकण्डमा निर्धारित दुरी पार गरिन् ।

दोस्रो भएकी न्यौपानेले नगद २५ हजारसँगै प्रमाणपत्र प्राप्त गरिन् भने तेस्रो भएकी पाण्डेले १५ हजार नगदसहित प्रमाणपत्र पाईन् । त्यस्तै ५ किलोमिटर छात्रातर्फको दौड सुर्खेतकी कृष्णा रानाले २० मिनेट ३४ दशमलव ०२ सेकेण्डमा निर्धारित दुरी पार गरी उपाधि जितिन् । रानाले उपाधिसँगै नगद १० हजार र प्रमाणपत्र प्राप्त गरिन् ।

त्यस्तै दोस्रो भएकी जुम्लाकी अन्तिमा बुढाले २० मिनेट ४५ दशमलव ५४ सेकेण्डमा निर्धारित दुरी पार गरिन् भने तेस्रो भएकी बाँकेकी स्वस्तिका शाहीले २१ मिनेट २३ दशमलव २५ सेकेण्डमा दौड पुरा गरिन् । उनीहरुले क्रमसः पाँच हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गरिन् । यस्तै ५ किलोमिटर छात्रतर्फको उपाधि कालिकोटका अनिल शाहीले जिते ।
उनले १५ मिनेट ३६ दशमलव १ सेकेण्डमा दौड पुरा गरे । शाहीले १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । त्यस्तै १५ मिनेट ३६ दशमलव ३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै जुम्लाका युवकराज बुढा दोस्रो भए भने सुर्खेतका भुवन चालिसेले उक्त दुरी १६ मिनेट ४३ दशमलव ३ सेकेण्डमा पुरा गरी तेस्रो भए ।
उनीहरुले क्रमशः पाँच हजार र तीन हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।


