६ वर्षदेखि रोकिएको पीसीएल नर्सिङ कार्यक्रम पुनः सञ्चालनको बाटो खुल्यो


काठमाडौं । मेडिकल कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुलेको छ । चिकित्सा शिक्षा आयोगको निर्णयका कारण ६ वर्षदेखि रोकिएको एक नर्सिङ (स्टाफ नर्स) कार्यक्रम पुनः सञ्चालन हुने बाटो खुलेको हो ।
उच्च अदालत पाटनले कानुनअनुसार कार्यक्रम सञ्चालनमा कुनै रोकावट नरहेको फैसला गरिसकेको भएपनि कार्यान्वयन हुन नसकेको भन्दै आयोगका पूर्वसदस्य डा. पदम खड्काले फैसला कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दिएका थिए ।

निर्देशनालयले उच्च अदालतको आदेश कार्यान्वयन गर्दै सोको जानकारी निर्देशनालयमा पठाउन निर्देशन दिएको छ । यो सँगै अब एक सय बेड क्षमता वा त्योभन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउनेछन् ।
निर्देशनालयको यो निर्देशनसँगै थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउनेछन् । आयोगले ३० साउन २०७७ मा गरेको निर्णयमार्फत एउटै संस्थाले बीएन, बीएस्सी वा एमएनमध्ये एउटा मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरेपछि धेरै संस्थामा पीसीएल नर्सिङ कार्यक्रम बन्द भएको थियो ।
चिकित्सा शिक्षा ऐनमा नभएको व्यवस्था कार्यकारी समितिबाट लागू गरिएको आरोप लगाउँदै आयोगको निर्णय खारेजको माग गर्दै उच्च अदालत पाटनमा रिट परेको थियो । अदालतले कानुनअनुसार कार्यक्रम सञ्चालनमा कुनै रोकावट नरहेको गत वर्ष फैसला गरेको थियो ।

