सडक निर्माणपछि स्थानीय हर्षित

स्काई न्यूज / चैत ६,जाजरकोट ।
जाजरकोटको नलगाड नगरपालिका–१०, को साइलेसाँघु खोलादेखि रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण भएको छ । गाउँमा मोटर बाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । नलगाडको सबैभन्दा दुर्गम गाउँ रावतगाउँ मानिन्छ । भौगोलिक विकटताले पछि परेको गाउँमा सडक निर्माण भएपछि स्थानीयमा निकै खुसी छाएको छ । वडा कार्यालयसम्मको सडक निर्माणको काम पुरा भएको छ । भिरालो जमिन र कडा चट्टान भएको ठाउँमा सडक कहिले बन्छ भन्ने कल्पना समेत स्थानीयले गरेका थिएनन् । घरछेउमै मोटर बाटो बनेपछि स्थानीय निकै खुसी भएका छन् । वडा अध्यक्ष भद्रबहादुर ध्यारले सडक पुगेपछि सदिऔं देखि स्थानीयवासीले भोग्दै आएको पिडा अन्य भएको बताए। यो सडक डोल्पाको मुड्केचुला गाउँपालिका जोड्ने भएकाले निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम थालेको भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रवीन कार्कीले बताए ।

प्रदेश सरकारको १ करोड ४७ लाख लागतमा कड्का कृष्ण कन्स्ट्रक्सनले सडक निर्माणको जिम्मा लिएको थियो । सडकको ६२ हजार घन मीटर माटो कटिङ तथा १० हजार घन मिटर कडा चट्टानको भाग कटिङ गर्नु पर्ने उल्लेख छ । सडक वनेपछि रावतगाउँ र ध्यारगाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् । चौखा खोला देखि साइलेसाँघुसम्मको तीन किलोमिटर सडक निर्माण भएपछि गाउँसम्मको तीन किलोमिटर सडक निर्माण भएको हो । पहिले दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न घोडा खच्चडको प्रयोग हुन्थ्यो । यातायात सुविधा पुगेपछि दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न तथा स्थानीयलाई आउजाउ गर्न सहज भएको स्थानीय लालबहादुर मल्लले बताए । भौगोलिक विकटता र आर्थिक विपन्नताबाट पिरोलिएको रावतगाउँ तथा ध्यारगाउँबासी सडक जोडिए पछि परिवर्तनको अनुभूति गरेका मल्लले बताए ।

Translate »