सुर्खेतमा एक साता निषेधाज्ञा जारी

स्काई न्यूज /बैशाख १३, सुर्खेत ।
दोस्रो चरणको कोरोना संक्रमणको अवस्था तीव्ररुपमा फैलिन थालेपछि सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना संक्रमण तीव्र बन्दै गएको अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बीरेन्द्रनगरमा बसेको बैठकले (मंगलबार) भोलि राती १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा वैशाख १४ गते राति १२ः०० बजेदेखि बैशाख २१ गते रातीको १२ः०० बजेसम्म लागु हुनेछ । नागरिकको भीड कम गरी संक्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उनले अत्यावश्यकीय सेवा प्रवाहका लागि खानेपानी, विद्युत्, बैंक तथा वित्तिय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न निर्देशन दिएको जनाए । उनका अनुसार संक्रमितको शीघ्र उपचारका लागि प्रदेश अस्पताललाई तयारी हुन निर्देशन दिइएको र जिल्लाका सबै स्थानीय तहमा आइसोलेशन निर्माणको पहल भइरहेको छ । भारतबाट आउने कर्णालीका नागरिकलाई सीमा नाकामा चेकजाँच गर्ने र गम्भीर खालका संक्रमितलाई बाँकेमै उपचार गर्ने गरी पहल भइरहेको सहायक प्रजिअ रोमबहादुर महतले जानकारी दिए । उनले संक्रमणको जोखिम घटाउन तत्काल एक साताका लागि विशेधाज्ञा जारी गरिएकोले नागरिकलाई आदेश पालना गर्न आग्रह गरिएको बताए । हालसम्म सुर्खेतमा मात्रै ३ सय बढी सक्रिय कोरोना संक्रमित विरामी उपचाररत छन् । निषेधाज्ञाको समय लागू भएसँगै मास्क, भौतिक दुरी लगायत जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य बस्तु (तरकारी, खाद्य, दुध, ग्याँस) का पसल विहान ६ बजे देखि ९ बजेसम्म मात्र संचालन गर्न पाइने भएको छ । यस्तै आवश्यक सेवाको लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्था समेत), सवारी साधन, पसल व्यवसाय सञ्चालन र आवश्यक काम बाहेकको हिंडडुलमा समेत निषेध गर्ने निणर्य गरेको छ । प्रशासनले यस आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बामोजिम कारवाही समेत गर्ने निर्णय गरेको सहायक प्रजिअ महतले जानकारी दिए । उनका अनुसार कुनैपनि सेवा एवं कार्यमा संलग्न कर्मचारी÷व्यक्तिहरुले अनिवार्य रुपमा कर्मचारी परिचय पत्र एवं पोशाक लगाउनु पर्नेछ । निषेधाज्ञा अवधिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा जस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य र हवाईसेवा नियमित सञ्चालन हुनेछन् ।

बर्दियामा पनि निषेधाज्ञा
दोस्रो चरणको कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग बर्दिया जिल्लामा समेत एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । बर्दियाको छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न आज राति १२ बजेदेखि लागु हुने गरी यही वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकासनिर्माण बाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।

Translate »