अछाममा मङ्गलवार ८२ जनामा कोरोना पुष्टि

सक्रिय संक्रमित ७ सय ४०

बैशाख २८,अछाम ।
अछाममा मङ्गलवार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षणमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको कमलबजार पीसीआर प्रयोगशालामा ९६ जनाको नमुना परीक्षण गरिएकामा ७७ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ जनामा कोभिड–१९ को संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिए । कमलबजार पिसिआर प्रयोगशाला मार्फत ९६ जनाको स्वाब परीक्षण गर्दा ४६ जना पुरुष र ३१ जना महिला गरी ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । नगरपालिकाका वडा नम्बर १, २, ५, ७, ८, ९ र १० का ४६ जना पुरुष र ३१ जना महिला गरी ७७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमण समुदाय स्तरमै फैलिसकेको प्रयोगशालाका सूचना अधिकारी विष्टले बताए । आज थपिएका कोरोना संक्रमितहरु १ वर्षदेखि ७४ वर्षसम्मका रहेका छन् । यस्तै वयलपाटा, चौरपाटी, र पञ्चदेवलमा गरिएको एन्टिजेन परीक्षणमा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कोरोना सम्पर्क व्यक्ति मीन बहादुर कुँवरले बताए । अहिले सम्म कमलबजार पिसीआर प्रयोगशालामा ५ हजार ३ सय ८५ जनाको कोरोना परीक्षण गर्दा १ हजार ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै अछाममा पहिलो चरणमा १ हजार ६ सय ८० सहित २ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ४० पुगेको छ । अछाममा पहिलो लहरमा ४ र दोस्रो लहरमा ७ जना गरी हालसम्म ११ जनाको ज्यान समेत गइसकेको छ । (रेडियो नेपाल)

Translate »