२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 22, 2026

सल्यानमा जिप दुर्घटना सात घाइते,तीनको अवस्था गम्भीर



दीपक शर्मा / सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
नेपालगञ्जबाट शव बोकेर आइरहेको भे १ च ३६६९ नम्बरको डबल क्याप जिप सल्यान बनगाड कुपिण्डे नगरपालिका –८ आगरनेटामा दुर्घटना भएको हो ।
आज बिहान बनगाड कुपिण्डे नगरपालिका १० थापाचौर जाँदै गरेको जिप दुर्घटनामा परी घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनामा घाइते हुनेहरूमा जिप चालक बनगाड कुपिण्डे ८ वावियाचौरका २६ वर्षीय बल बहादुर कुवर, सोही ठाउँका ४० वर्षीय गाडी मालिक होम बहादुर गिरी, बनगाड कुपिण्डे १० थापाचौरका २१ वर्षीय आईतुलाल थापा, ३२ वर्षीय खोकलाल थापा, २६ वर्षीया हुर्मति थापा, २० वर्षीय केशव थापा र ४५ वर्षीय टोप बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए ।
गम्भीर घाइते गाडी चालक बल बहादुर कुवर, हुर्मति थापा र आईतुलाल थापालाई उपचारको लागि नेपालगंज पठाइएको छ भने बाँकी अन्यको सल्यान जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको सूचना अधिकारी पौडेलले बताए ।
जिप सडकबाट झन्डै ५० मिटर तल खसेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेठ २४ गते सोमबार
Translate »