सुर्खेतमा अबैघ घरेलु मदिरा विरुद्ध क्लिन अप्रेशन शुरु

वीरेन्द्रनगरमा करिब ५ सय लिटर मदिरा नष्ट

स्काई न्यूज / साउन २, सुर्खेत ।
सुर्खेतमा प्रहरीले अबैघ घरेलु मदिरा विक्री वितरण विरुद्ध ‘घरेलु मदिरा क्लिन अप्रेशन शुरु गरेको छ । अबैध रुपमा विक्री वितरण हुने घरेलु मदिराका कारण झैझगडा बढ्नुका साथै शान्ति सुरक्षामा समेत खलल पुग्न थालेपछि साउन १ गते देखि जिल्ला भरी नै ‘घरेलु मदिरा क्लिन’ अप्रेशन सञ्चालनमा ल्याईएको हो । अभियान शुरु गरेसंगै जिल्लाका विभिन्न स्थानमा अबैध घरेलु मदिरा नियन्त्रण अभियान तीव्ररुपमा अगाडि बढाईएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो मातहतका प्रहरी युनिटहरुलाई पनि कडाइ गर्न निर्देशन दिएको छ । अबैध रुपमा विक्री वितरण हुदै आएका मदिरा नियन्त्रण र अनुमति नलिइकन सञ्चालित पसलहरुलाई मर्यादित बनाउन ‘घरेलु मदिरा क्लिन’ अप्रेशन शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीले बताए । उनले जिल्लामा अबैध मदिराका कारण दैनिक जस्तो घरेलुहिंसाका घटना वढ्दै गएकाले ‘घरेलु मदिरा क्लिन’ अप्रेशन सञ्चालनमा ल्याईएको जनाए । उनका अनुसार घरेलु मदिरा नियन्त्रण अभियान पछि समाजमा आपराधिक घटनामा समेत कमी आउने अपेक्षा गरिएको छ ।

घरेलु मदिराको विगविगी बढेपछि प्रहरीले सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा थालेको ‘घरेलु मदिरा क्लिन’ अप्रेशनमा व्यापारीहरुले फिल्टरमा रक्सी लुकाएर वेच्ने गरेको समेत पाईएको छ । मदिरा सेवानका कारण विभिन्न घटनाहरु हुने र मुद्दाका रुपमा प्रहरी कार्यालयमै आउने भएकाले घटना न्यूनिकरणका लागि प्रहरीले अवैध मदिरा वरामद र नष्ट गर्ने अभियानलाई ‘घरेलु मदिरा क्लिन’ अप्रेशन नाम दिएर अघि बढाएको हो । वीरेन्द्रनगरका साना होटल तथा नास्ता पसलहरुमा समेत घरेलु रक्सीको कारोबार भएको र अधिकांश होटल सञ्चालकहरुले अवैध रक्सी फिल्टरमा लुकाएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

शुक्रबार नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले अबैध रुपमा उत्पादन भईरहेको ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । वीनपा–६ र १० नम्वर वडा क्षेत्रका बिभिन्न स्थानहरुमा अबैध रक्सी उत्पादन भईरहेको गोप्य सूचना पाएपछि प्रहरी टोलीले छापा मारेर अबैध मदिरा वरामद गरि नष्ट गरेको हो । प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग गरिने भाडाहरु ५ सेट, मदिरा बनाउने कच्चा पदार्थ ५ सय ३० लिटर, तयारी घरेलु मदिरा ४ सय ८० लिटर र घरेलु मदिरा राख्न प्रयोग भएका पानी फिल्टर ५ सेट वरामद गरिएको नगर प्रहरी (इन्चार्ज) प्रहरी नायव निरीक्षक रामसिंह बोहराले जानकारी दिए ।

उनले शुक्रबार वडा कार्यालयका जनप्रतिनिधि, समाजसेवी र पत्रकारहरुको उपस्थितिमा वरामद अबैध घरेलु मदिरा नष्ट गरिएको बताए । उनका अनुसार अबैध घरेलु मदिरा कारोबारलाई रोकथाम गर्न प्रहरीले विशेष अभियान नै सञ्चालन गरिरहेको छ । ‘मदिराले समाजमा विकृृति बढेको हुँदा अवैध घरेलु मदिरा उत्पादन नियन्त्रण सम्बन्धि स्विप अप्रेशनलाई थप प्रभावकारी बनाईने अभियान अगाडि बढाएका छौं,’ उनले भने, ‘यस मौषममा घरेलु मदिरा अत्यधिक सेबनको कारण मृत्यु समेत हुने गरेका घटनाले यस्ता खाले अबैध घरेलु मदिरा उत्पादन गर्ने स्थानहरुमा खानतलासी गरी मदिरा नस्ट गर्ने अभियान नै सञ्चालन भईरहेका छन् ।’

उनले अबैध रुपमा विक्रि वितरण हुने घरेलु मदिराका कारण समाजमा थुप्रै खाले विकृति तथा विसंगति बढेको जनाए । उनका अनुसार पहिलो पटक सचेत गराउने भएपनि पुनः अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा विक्री गरेको पाईएमा मुद्दा चलाई कार्वाही अघि वढाईने छ । प्रहरीले अव जिल्लाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरी सिलप्याक मदिरा विक्रेताले लाईसेन्स लिएको छ की छैन, मदिरा पसल अलग्गै राखेको छ कि छैन, सार्वजनिक स्थलमा धुम्रपान विक्री वितरणमा समेत रोक लगाउनुका साथै कानून विपरीत पाईएमा कार्वाहि गर्नेछ ।

 

Translate »