पहिरोग्रस्त सरानी गाउँको अनुगमन

करिब ५ लाखको राहत सामाग्री सहयोग

टेकराज भण्डारी / साउन २४,अछाम ।
पहिरोको उच्च जोखिममा परेको अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ विन्धेबासिनी सरानी गाउँको प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अनुगमन गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति अछाम र सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि लगायतको टोलीले जोखिममा रहेको सारनी गाउँको अनुगमन गरी गाउँको अवस्था, जोखिमको अवस्था तथा सम्भावित विकल्पका बारेमा अध्ययन गरेको छ । १ सय ७ घरपरिवार रहेको सरानी गाउँका ५४ घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन् ।

तल्लो सरानीका २८ र माथिल्लो सरानीका २६ वटा घरहरू पहिरोको उच्च जोखिममा रहेका छन् । माथिल्लो सरानी गाउँका सबै घरपरिवार घर नजिकै पाल टाँगेर बसेका छन् भने तल्लो सरानी गाउँका सबै घरपरिवारलाई भट्टेडाँडा आधारभूत विद्यालयमा सारिएको छ । अनुगमन टोलीले पहिरो प्रभावितलाई भेटेर तत्काल आवश्यक राहतको व्यवस्था गर्ने आश्वासन दिएको छ । प्रभावितलाई भेटेर जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जोखिममा रहेका घर परिवारलाई सान्त्वना दिँदै नआत्तिन आग्रह गरे । उनले स्थानीय जनप्रतिनिधिलाई जोखिममा रहेका घर परिवारको अवस्था र जोखिमको स्थितिको छिट्टै जिल्ला विपद् व्यवस्थापन समितिमा निवेदन सहित प्रतिवेदन बुझाउन आग्रह गरे । प्रतिवेदन पेश भएमा थप रणनीति तय गर्दै बस्ती व्यवस्थापनको योजना बनाइने प्रमुख जिल्ला अधिकारी मल्लले बताए ।

स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारको पहलमा भू–गर्भविद् सहितको विज्ञ टोलीले बस्तीको अनुगमन गरेपछि थप निष्कर्ष निकालिने टोलीले बताएको गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाहले बताए । यसैबीच सरानीका पहिरो पीडितलाई विभिन्न निकायबाट राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, बल्र्ड भिजन ईन्टरनेशनल नेपाल तथा आस्था नेपाल लगायतका निकायबाट राहत वितरण गरिएको छ । पहिरो पीडितलाई आवश्यक पर्ने किट सहितको सामग्री वितरण गरिएको छ । जस अन्तर्गत ५० घर परिवारलाई प्रति परिवार त्रिपाल २ थान, डोरी २ थान, ब्ल्यांकेट १ सेट, सोलार बत्ती १ सेट, झुल २ थान लगायतका सामग्री प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी अछामका मन्त्री ध्रुवकुमार शाहीले जानकारी दिए । पहिरो पीडितलाई करिब ५ लाख बराबरको सामग्री प्रदान गरिएको छ । (रेडियो नेपाल)

Translate »