सल्यानबाट ६४ करोड बढीको खसिबोका निकासी

दीपक शर्मा / साउन २९,सल्यान । सल्यानबाट गत आर्थिक वर्ष २०७७र०७८ मा ६४ करोड बढीको खसिबोका जिल्ला बाहिर निकासी भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गत आ.व.मा ४२ हजार ८ सय खसिबोका निकासीबाट ६४ करोड २० लाख जिल्लामा भित्रिएको छ ।

सल्यान बाख्रा पालनका लागि निकै सम्भावनायुक्त ठाउँ मानिन्छ । यहाँका किसानहरूले कम्तीमा पनि ५ वटा बाख्रा पाल्दै आइरहेको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले बताए । जिल्लमा झन्डै चार लाख बाख्रा रहेको उनको भनाई छ । उनले भने गत आ.व.मा मात्रै ४२ हजार बढी खसिबोका निकासी भएका छन् । प्रतिगोटा सरदर रु १५ हजारका दरले मात्र हिसाब गर्दा पनि ६४ करोड बढी जिल्लामा भित्रिन्छ ।

सल्यानको खसिबोका काठमाडौँ, पोखरा, धनगढी लगायतका प्रमुख शहरहरुका बढी माग हुने गर्दछ । सल्यानको खसी बोका भने पनि अन्य जिल्लाको तुलनामा व्यापारीहरूले बढी मूल्य हाल्ने गरेको प्रमुख उपाध्यायको भनाई छ । जिल्लाका कपुरकोट, सल्लीबजार र कालीमाटी नाकाबाट खसिबोका निकासी हुने गर्दछन् ।
जिल्लामा व्यावसायिक बाख्रा पालन फस्टाउँदै गएका कारण पनि खसिबोका निकासी हुने क्रम बढी रहेको उपाध्यायले बताए । सल्यानका मासुमा आत्मनिर्भर जिल्ला भएको उनको भनाई छ । कुखुराको मासु भने कुनै समय जिल्ला बाहिर निकासी हुने र कुनै समय अन्य जिल्लाबाट भित्रिने गरेको छ तर खसी बोकाको मासुमा भने सल्यान आत्मनिर्भर रहेको कार्यालयले जनाएको छ ।

