२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

अछाममा साना सवारी साधनको भाडादर कायम



टेकराज भण्डारी / अछाम । अछाम जिल्लामा साना सवारी साधनको भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको संयुक्त बैठकले जिल्लाभित्र चल्ने अटो रिक्सा, जिप लगायत साना सवारी साधनको भाडादर कायम गरेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए।

बैठकले जिल्ला भित्र चल्ने सवारीहरूले पक्की सडकमा प्रतिकिलोमिटर साढे ६ रुपैयाँ र कच्ची सडकमा प्रति किलोमिटर १० रुपैयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी मल्लले बताए ।

दिनप्रतिदिन यात्रुहरूबाट चर्को भाडा असुल्ने गरेको गुनासो बढेपछि यसको नियमन गर्नका लागि आज जिल्ला प्रशासन कार्यालय अछाममा बैठक बसेको थियो । जिल्लाभित्र निषेधाज्ञाको समयमा नागरिकहरूसँग चर्को भाडादर असुल्ने गरेका सवारी धनीहरूले अब तोकिएको भाडादर भन्दा बढी लिएको पाइए सवारी ऐन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

बैठकमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख, उद्योग वाणिज्य संघका पदाधिकारी र यातायात व्यवसायी सङ्घमा आबद्ध पदाधिकारीहरुसंग छलफल गरी उक्त निर्णय गरिएको मल्लको भनाई छ ।

विशेष गरी अछाम जिल्लामा जिप व्यवसायीहरूले अस्वाभाविक रुपमा भाडा असुलिरहेको भन्ने गुनासोलाई सम्बोधन हुने गरी निर्णय गरिएको प्रशासनले जनाएको छ । जिल्लाका बिकट ठाउँहरूमा जाने यातायातका साधनहरूले यात्रुहरूलाई छल्दै चर्को भाडा लिइरहेको भन्ने गुनासो बढ्न थालेपछि यसको नियमनका लागि सवारी ऐन अनुसार निर्णय गरिएको बताइएको छ । (रेडियो नेपाल)

प्रकाशित मिति : २०७८ भदौ १४ गते सोमबार
Translate »