२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

सुर्खेतको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा



स्काई न्यूज / असोज १९, सुर्खेत ।  सुर्खेतमा कर छली गरेर व्यापार व्यवसाय बढाउनेहरुको संख्या बढ्दै गईरहेको छ । जिल्ला संयुक्त बजार अनुगमन समिति सुर्खेतले मंगलबार वीरेन्द्रनगर स्थित भुसाल अर्डर एण्ड सप्लायर्समा छापा मारेपछि यस्तो रहस्य खुलेको हो । अनुगमन टोलीले करिब ८ लाख मूल्यको कर छली गरेर ल्याईएको भारतीय सुर्तीसहित म्याद नाघेका चकलेट समेत बरामद गरेको छ ।

टोलीले छापा हान्ने क्रममा कर छली गरेर ल्याईएको २ सय ६१ प्याकेट झुम्का सुपर पावर सूर्ती र १ सय ४८ प्याकेट बल्ब छाप सूर्ती, ३१ बोरा म्याद नाघेको म्याङ्गो चक्लेट जफत गरि आवश्यक कार्वाही अघि बढाईएको आन्तरिक राजश्व कार्यालय सुर्खेतका सूचना अधिकारी खडानन्द खत्रीले जानकारी दिए । उनले कर छली गरेर सामान विक्री गरिरहेका गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार सहितको टोलीले वीरेन्द्रनगर–६, शनिहल लाइनमा भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको बताए । उनका अनुसार राजश्वको स्टिकर नटाँसिएको भारतीय सूर्ती विक्री वितरण गर्न कानूनीरुपमै निषेध गरिएको छ ।

‘अनुगमनका क्रममा अनाधिकृतरुपमा विक्री वितरण भईरहेका सामान जफत गरेर आवश्यक कानूनी कार्वाहीका लागि प्रक्रिया अघि बढाई सकेका छौं,’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले भने, ‘जफत गरिएका सामान बारे थप अनुसन्धान तथा तहकीकात गर्न सप्लायर्सका सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई बुधबार आन्तरिक राजश्व कार्यालयमा उपस्थित हुन बोलाउका छौं ।’

उनले म्याद नाघेका खाद्य वस्तुहरु विक्री वितरण गरेर उपभोक्ताको जीउ ज्यानसँग खेलबाड गर्ने व्यापारीलाई कडा कार्वाही हुने बताए । उनका अनुसार अहिले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारिएकाले म्याद नाघेका, सडेगलेका अखाद्य वस्तु विक्री वितरण गरेको पाईएमा ‘अन द स्पोट’ ठाउँको ठाउँ कार्वाही गरि २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने छ ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मंगलबार
Translate »