२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

दसैंमा दारुको रौनक



काठमाडौं : मीठा–मीठा व्यञ्जन, अनेक परिकार, मासुका आइटमसँगै पेय पदार्थ र मदिराको स्वाद दसैंका विशेषता नै हुन्। पछिल्ला दिनमा दसैं मनाउने शैली फेरिँदो छ। दसैंमा मदिराको अर्कै महत्व छ। वर्ष दिनको कमाइ बचाएर भएर पनि दसमा रमाइलो गर्ने नेपालीको चलन नै हो। दसैं मनाउने तरिका पनि पछिल्ला दिनमा बदलिँदै गएका छन्। केही दशकअघिसम्म मदिरा छुनै हुँदैन भन्ने सामाजिक मान्यता थियो। तर, आजभोलि दाजुभाइ, आमाबुवा, छोरी बुहारीसँगै बसेर दसैंमा मदिराको स्वाद लिने कुरा सामान्य भइसक्यो। आधुनिक युवायुवती र सभ्यतालाई मदिराले राम्रैसँग जोडेको छ। दसैंमा मदिराले पारिवारिक माहोल रमाइलो बनाउने विश्वास गरिन्छ।

अन्य समयमा भन्दा मदिराको व्यापार पनि दसैंमा बढ्ने गर्छ। तर, कोभिडका कारण पछिल्ला वर्षमा मदिरा व्यापार खस्किएको छ। मदिरा व्यवसाय महासंघका अध्यक्ष सोनम शेर्पा मदिरा व्यवसायीलाई हेर्ने सरकारको गलत नियतका कारण व्यापार खस्किँदै गएको बताउँछन्। मदिरामा सरकारले हरेक वर्ष कर बढाउँछ। अन्तःशुल्क बढाउँछ। बजार मूल्य बढाउदै जाँदा व्यापार घटेको शेर्पाले बताए।

कोभिडले आर्थिक गतिविधि र व्यापारमा असर पार्‍यो। नेपालीहरूको आम्दानी र खर्च गर्र्ने तरिका पनि घट्यो। मदिरा अनिवार्य आवश्यकताभित्र नपर्ने हुँदा पनि यसको व्यापार घटेको व्यवसायीहरू बताउँछन्।
ठमेलमा मदिरा व्यापार गर्ने नरेश खनाल पहिलेको दसैंको तुलनामा अहिले आधा पनि व्यापार नभएको गुनासो सुनाउँछन्। ‘घरजग्गाको कारोबार ठप्प छ, पर्यटन उद्योग ठप्प प्राय छ,’ उनी भन्छन, ‘डेढ वर्ष त ठप्पै भने पनि भयो । अहिले अलिअलि चहलपहल हुन थालेको छ।’ कोभिडको समयमा चिसो पेयपदार्थ नखानु भनिएका कारण पनि मदिराको व्यापार घटेको खनालको भनाइ छ। मदिरा व्यवसाय महासंघका अध्यक्ष शेर्पाका अनुसार पहिले नेपालमा बनेको रोयल स्ट्राग ह्विस्की नेपालबाट भारतमा व्यापार हुन्थ्यो। नेपालभन्दा भारतमा त्यसको मूल्य बढी थियो। तर, अहिले नेपालमै महंगो भएको छ। भारतमा सस्तो पाइन थालेपछि ‘ब्ल्याक’मा नेपाल भित्रने गर्छ। ‘यो पाराले त नेपाली उत्पादनका मदिरा सोकेसमै रहने भए नि !,’ उनले भने।

केही दशकअघिसम्म मदिरा छुनै हुँदैन भन्ने सामाजिक मान्यता थियो। तर, आजभोलि दाजुभाइ, आमाबुवा, छोरी बुहारीसँगै बसेर दसैंमा मदिराको स्वाद लिने सामान्य भइसक्यो।

यस्तै केही वर्षअघिसम्म नेपाली वाइनको निकै राम्रो व्यापार थियो। अहिले ९० प्रतिशत विदेशी वाइन खपत हुन्छ। दुई वर्षमा ५० प्रतिशत वाइन उद्योग बन्द भएको उनको दाबी छ। पछिल्लो १० वर्षमा मदिराको मूल्य ३ गुणाले वृद्धि भएको उनले जानकारी दिए।

मदिरा व्यवसायीलाई कर तिर्न पनि निकै झन्झटिलो छ। घुस नदिइ काम नै नहुने व्यवसायीहरू बताउँछन्। विदेशी र नेपाली मदिरालाई बराबर जस्तो कर छ। यसले गर्दा नेपाली मदिरा उद्योग चौपट हुने व्यवसायीहरू बताउँछन्। नेपाली वियरको व्यापार भने चित्त बुझ्दो नै छ। नेपाली कम्पनीका ६० प्रतिशत र विदेशी कम्पनीका ४० प्रतिशत बियर बजारमा खपत हुने शेर्पाले बताए। (अन्नपूर्ण पोस्ट्)

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिबार
Translate »