२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

नरहरिनाथका २३७ घरधुरीमा धारा जडान



पुस ९, कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा खानेपानी धारा जडान गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । ‘एक घर एक खानेपानी धारा’ कार्यक्रमअन्तर्गत २३७ घरधुरीमा खानेपानीका धारा जडान समुदायलाई हस्तान्तरण गरिएको हो ।

एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम वार्म पी हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको आर्थिक सहयोगमा नरहरिनाथ गाउँपालिकाको साझेदारीमा र हुरेन्डेक नेपाल कालिकोटको सामाजिक तथा प्राविधिक सहयोगमा ती धारा निर्माण भएका छन् । नरहरिनाथ गाउँपालिका–९ को लालुमा तल्लो रानीरहडा खानेपानी तथा सरसफाइ आयोजनामार्फत २३७ घरधुरीमा खानेपानीका धारा जडान गरिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘हेल्भेटास नेपालको आर्थिक सहयोग र स्थानीय साझेदार संस्था हुरेन्डेक नेपालको प्राविधिक सहयोगमा दुई करोड ५५ लाख १२ हजार ७९७ लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ,’ उनले भने, ‘हेल्भेटासको एक करोड, नरहरिनाथ गाउँपालिकाको रु एक करोड लगानी र बाँकी स्थानीयवासीको श्रमदानमा ती आयोजना सम्पन्न भएको हो ।’

यसभन्दा अगाडि नरहरिनाथ गाउँपालिका–९ लालुमा ३८२ घरधुरीमा खानेपानीको धारा निर्माण गरिएको थियो । त्यसै आयोजनामार्फत थप २३७ गरेर गाउँमा अहिलेसम्म ६१९ घरधुरीमा खानेपानीको पहुँच पुगेको गाउँपालिका अध्यक्ष विष्टले बताए । ‘अहिलेसम्म गाउँका ६१९ घरधुरीमा खानेपानीको समस्या समाधान भएको छ,’ उनले भने, ‘पुस्तौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीलाई अहिले सहज भएको छ ।’ रासस

प्रकाशित मिति : २०७८ पुस ९ गते शुक्रबार
Translate »