प्रथम वीरेन्द्रनगर मेयर कप चैतमा हुँदै

स्काई न्यूज /फागुन १८, सुर्खेत ।
सुर्खेतमा प्रथम वीरेन्द्रनगर मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । वीरेन्द्रनगर नगरपालिका एवं जिल्ला फुटबल संघको संयुक्त आयोजनामा आगामी चैत १ गतेदेखि ८ गतेसम्म स्थानीय कालुङ्गचोक क्रिकेट मैदानमा प्रतियोगिता आयोजना हुने आइतबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएका छन् । संघका अध्यक्ष जनकबहादुर रावलले प्रथम मेयर कप प्रतियोगितामा १६ वटा टीमको सहभागिता रहने जनाए । ‘प्रतियोगिताको विजेतालाई ५१ हजार, उपविजेतालाई ३१ हजार नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र प्रदान गरिनेछ,’ उनले भने, ‘खेलका प्रत्येक विधाका सर्वोत्कृष्ट खेलाडीलाई ५ हजारसँगै दैनिक ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।’ उनले आउँदो वर्षदेखि वीरेन्द्रनगर मेयर कपलाई हरेक वर्ष नियमित प्रतियोगिता आयोजना गरिने बताए । ‘हाल नगरका सबै वडाहरुमा महिला फुटबल टीम गठन भईसक्या छैन । त्यसैले यस पटक मेयर कप प्रतियोगिताबाट शुरुवात गर्दै छौं,’ उनले भने, ‘आउँदो वर्षदेखि सकेसम्म सबै वडाहरुमा महिला फुटवल टीम गठन गरि उपमेयर कप प्रतियोगिता समेत आयोजना गर्ने योजना बनाएका छौं । यस वर्ष उपमेयर कप आयोजना गर्न नसकिएपनि मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने छौं ।’ उनले मेयर कप फुटवल प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले ३ लाख र संघले ५लाख बजेट प्रस्ताव गरेको जनाए ।

Translate »