२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

सुर्खेत यातायातमा अनियमितता : पास फेलको सूचकांक झण्डाको प्रयोग नै नगरि चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा लिँइदै



सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतले लिएको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक (ट्याल) परीक्षामा अनियमितता भएको पाईएको छ ।

कार्यालयले लिएको सवारी चालक अनुमति पत्रको ट्याल परीक्षामा सूचकांकको रुपमा देखाईने झण्डाको प्रयोग नै नगरी परीक्षार्थीलाई उर्तिण तथा अनुर्तिण गराई अनियमितता गरेको पाईएको हो ।

सवारी तथा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७७ संसोधित परीक्षा प्रणाली अन्तर्गत ट्यालको १०० अंकलाई घटाई ७० प्रतिशत अंक ल्याउने परीक्षार्थीलाई पास गर्ने नियम लागु भएदेखि परीक्षामा झण्डाको प्रयोग हटाईएको छ ।

यातायात कार्यालयले यहीं बैशाख २१ गतेदेखि लिएका सबै प्रयोगात्मक परीक्षामा सूचकांकको रुपमा देखाईने हरियो र रातो झण्डा नदेखाएरै परीक्षार्थीलाई उर्तिण तथा अनुर्तिण गरि आफुखुशी गरेको पाईएको हो ।

संसोधित कार्यविधि २०७७ मा भएको व्यवस्था वमोजिम मोटर साइकलको सवारी चालक अनुमति पत्र वर्ग ‘ए’, स्कुटरको सवारी चालक अनुमति पत्र वर्ग ‘के’ र साना सवारी जीप कार, डेलिभरी भ्यान वर्ग ‘वी’ को परीक्षा प्रणाली अन्तर्गत ट्यालमा अंक १०० लाई घटाई ७० प्रतिशत अंक ल्याउने परीक्षार्थीलाई विभिन्न सूचक कायम गरि पास फेल गर्ने व्यवस्था गरेको छ ।

तर, फेल भएका परीक्षार्थीलाई रातो झण्डा र पास भएका परीक्षार्थीलाई हरियो झण्डा नदेखाउनु भन्ने कहींकतै उल्लेख गरिएको छैन् ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७७ (संशोधित) ८ को बुँदा नम्वर ३ मा अनुर्तिण भईसकेका परीक्षार्थीहरुलाई परीक्षाका सम्पूर्ण चरणहरु सम्पन्न हनुु अगाबै रातो झण्डा देखाउनु पर्ने स्पष्ट उल्लेख छ । तर, सुर्खेत यातायातले लिएका प्रयोगात्मक परीक्षामा खटिएका कर्मचारीले आफुखुशी परीक्षार्थीलाई जानकारी नै नदिएर उर्तिण तथा अनुर्तिण गर्ने गरेका छन् ।

परीक्षामा खटिएका कर्मचारीले मनोमानी ढंगले अंक दिएको आधारलाई नै पास र फेलको सूचक मानिएको छ । नियम, कानून विपरित कर्मचारीले आर्थिक चलखेल गरि मनोमानी ढंगले पास र फेल गर्ने गरेको परीक्षार्थीहरुको आरोप छ ।

संसोधित कार्यविधि २०७७ ऐनमा भएको व्यवस्था यथावतै रहँदा हाल सञ्चालन भएका परीक्षामा पास वा फेल भएको सांकेतिक हरियो वा रातो झण्डा देखाउन पर्ने नियमलाई सुर्खेत यातायातले कार्यान्वयन गरेको छैन् ।

यातायात व्यवस्था कार्यालय सुर्खेतका निमित्त प्रमुख मदन गिरीले ट्याल परीक्षामा जनशक्ति अभावसँगै हाल परिवर्तित नियममा व्यवहारिक कारणले झण्डा देखाउन नपर्ने भएकाले नदेखाईएकोे बताए । उनले आवश्यक परेमा ट्याल परीक्षामा झण्डा पनि देखाउन सकिने जनाए ।

यसअघि कार्यालयले सञ्चालन गरेका प्रयोगात्मक परीक्षामा हरियो र रातो झण्डालाई नै पास–फेल मापनको कडी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका कर्मचारी माथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

तर, एउटै ऐन, नियम र कार्यविधिमा भएको व्यवस्था अनुरुप हाल सञ्चालन भएका ट्याल परीक्षामा पासलाई हरियो र फेल भएका परीक्षार्थीलाई रातो सांकेतिक झण्डा नदेखाउँदा पनि अख्तियार जस्ता निकायले देख्न नसक्नु अर्को रहस्यको विषय बनेको सेवाग्राही विनोद बम बताउँछन् ।

सवारी तथा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७७ संसोधितले समेत झण्डाको अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था स्पष्ट उल्लेख गरेको छ ।

तर, हाल सञ्चालन भएका प्रयोगात्मक परीक्षामा पास–फेल भएको सूचकांकको रुपमा देखाइने हरियो र रातो झण्डाको अनिवार्य व्यवस्थाको पालना नहुँदा समेत नियमनकारी निकाय मौन हुन अर्को रहस्य भएको उनको भनाई छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय, तालुक मन्त्रालय, मुख्यमन्त्री कार्यालय, ट्राफिक प्रहरी तथा नियमनकारी निकायका प्रतिनिधिहरुको रोहवरमा ट्याल परीक्षाहरु हुने गरेका थिए । तर हाल आएर यातायात तथा ट्राफिक प्रहरीले मात्र ट्याल परीक्षा लिने हुँदा थप अनियमितताको आशंकालाई बल पुगेको सेवाग्राही बमको भनाइ छ ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधबार
Translate »