२०८३ असोज ८ , बिहीबार
Sky News Nepal
September 24, 2026

अँध्यारो जलविद्युतबाटै दूर गरौं



‘हाम्रा नेताहरुले कर्णालीका नागरिक सुनको सिरानी राखेर नून खोजीमा भौतारिरहेका छन्,’ भन्ने भनाई त्यसै भनेका होइनन् ।’ माल पाएर चाल नपाउने हाम्रो पुरानै बानीले पर्निभरता बढ्दो छ । कर्णालीमा हालसम्म सम्भाव्यता अध्ययन भएअनुसार जम्मा ६ हजार ८ सय २९ दशमलव ६४ मेगावाट विद्युत् उत्पादन क्षमता छ । झन्डै २८ आयोजनाबाट ५ हजार ९ सय १ दशमलव २ मेगावाट विद्युत् उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययन लाइसेन्स लिएर काम अगाडि बढिरहेको छ । तरपनि प्रदेशका नागरिकले अँध्यारोमा हातपाउँ मार्नु परिरहेको छ । जलविद्युत् सबैभन्दा पहिला उत्पादन र प्रयोग गर्ने देशहरुको सूचीमा पर्छ, नेपाल पर्दछ । दक्षिण एसिया नै अन्धकारमा रहँदा १९६८ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले फर्पिङमा बिजुली निकालेर दरबारमा बत्ती बालेका थिए । त्यसको सवा सय वर्षपछि पनि मुलुकका गाउँबस्ती अझै अन्धकार हुनु चाहिँ विडम्बना हो । एकातिर सहरमा प्रकाश प्रदूषणको चिन्ता हुन थालिसक्यो, कि जताततै बिजुली बत्तीको प्रकाश चम्किँदा रात पनि दिनजस्तै भइसक्यो । तर कर्णाली प्रदेशका विकट गाउँहरुमा टुकी विस्थापित गर्न बिजुली पुगेको छैन । कर्णाली आफैंमा बिजुली उत्पादनको प्रशस्त सम्भावना र खानी भएको प्रदेश हो ।

मात्र राज्यको लगानी त्यहाँका खोलानालामा नहुँदा पानी बगेको बग्यै छ र गाउँबस्ती अन्धकार छन् । कर्णालीका ३ लाख ७१ हजार घरधुरीमध्ये ९८ हजारमा बिजुली पुगेको छैन । कर्णाली प्रदेशभरि नै अहिलेसम्म जम्मा १६ मेगावाट बिजुली उत्पादन भएको छ । जबकि त्यहाँ सम्भाव्यता खोजी भइसकेको ६ हजार मेगावाटभन्दा बेसी हो । त्यसो त १४ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । जसबाट ९ सय ११ दशमलव ९ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण छ । एउटै कर्णाली नदीमा माथिल्लो कर्णाली जलविद्युत् आयोजना ९ सय मेगावाटको भनेर सम्भावना उहिल्यै खोजी भएको हो । तर काम कछुवा गतिभन्दा पनि सुस्त छ । नलगाड आयोजनाको डीपीआर नै बनेको छैन । डोल्पाको जगदुल्लामा बन्ने विद्युत् आयोजनाको विस्तृत प्रतिवेदन डीपीआर तर बन्यो तर काम अघि बढेन, प्रतिवेदन मन्त्रालयमै थन्कियो । फुकोट–कर्णालीको ईआईए वन मन्त्रालयमा अड्काइएको छ ।

निर्माणाधीन आयोजनाहरुलाई युद्धस्तरमा अघि बढाउने र अरू सम्भावित आयोजना पनि निर्माण गर्ने हो भने देशै उज्यालो बनाउनेमात्रै नभई विद्युत् विदेश निर्यात गर्न सक्ने सामथ्र्य कर्णालीसँग छ । तर, त्यो सम्भावनालाई अघि बढाउन संघीय सरकार जति तात्नुपर्ने हो कहिल्यै तातेन । हरेक विकासका सूचकमा कर्णाली पछि पर्दा जलविद्युतमा पनि उसलाई अझै पछि नै राखिराख्ने केन्द्र सरकारका प्राधिकारहरुको मनोविज्ञान र व्यवहार यसमा सम्पूर्ण रुपमा कमजोर र दोषी छ । संघीयता आईसकेपछि कर्णाली प्रदेश सरकारले शुरुका वर्षमा के के न गर्ला जस्तो देखिएपनि पछि गएर ‘जुन योगी आएपनि कानै च्यातिएका’ भनेझै भाको छ । अहिले पनि प्रदेशका दुई ठूला नदी कर्णाली भेरीबाट विद्युत निकालेर करोडौं नागरिकलाई रोजगारी मात्र होइन, देशकै कायापलट गर्न सकिन्छ तर, त्यस्तो ईच्छाशक्ति भएको नेता यहाँ देखिदैन् । कर्णालीको जल, जंगल र जमीनमा पर्याप्त सम्भावना देखाउने मात्र होइन, काम गरेर देखाउने बेला आएको छ । देशका विकासका लागि ईच्छाशक्ति भएको नेतृत्व आवश्यक भईसक्यो ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिबार
Translate »