सूर्तीजन्य पदार्थको विक्री वितरणमा कडाई

सुर्खेत । सुर्तीजन्य पदार्थको नियमन, बिक्री वितरण र सेवन नियन्त्रणका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्थानीय प्रशासनसँगै सुर्खेतका पालिकाहरुले विभिन्न भागमा कडा अनुगमन जारी राखेका छन् ।

ऐनको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिकस्थल तथा शैक्षिक/स्वास्थ्य संस्था वरपर यस्तो निगरानी बढाइएको हो । निषेधित क्षेत्रमा खुल्ला रुपमा सुर्तीजन्य पदार्थ बिक्री वितरण हुने गरेको जनगुनासो बढेपछि एकीकृत अनुगमन गर्दै नियमन तथा नियन्त्रण गर्न सुरु गरिएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले बताए ।

उनका अनुसार अनुगमन टोलीले मंगलबार जिल्लाको बराहताल गाउँपालिकाका ११ वटा र वीरेन्द्रनगर नगरपालिकाका ७ वटा पसल, होटेल, रेष्टुरेन्ट, पार्क तथा विभिन्न सार्वजनिक क्षेत्रमा राखिएको सुर्तीजन्य पदार्थलाई नियमन तथा नियन्त्रण गरेको छ । उनको नेतृत्वमा गएको अनुगमन टोलीले अस्पताल, विद्यालय लगायतका सार्वजनिक क्षेत्र नजिकमा राखिएका सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणका लागि कडाई गरेको हो ।

सामाजिक विकास मन्त्रालयका कम्युनिटी नर्सिङ अधिकृत ममता नेपालीले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको विक्री वितरण गर्नु हुँदैन भनेर अहिले व्यवसायीलाई सचेत बनाउनका लागि अनुगमन गरिरहेको बताईन् । अहिले भेटिएको सामग्री जफत नगरी सचेत गराएर छोडिएपनि पुनः अनुगमनका क्रममा भेटिए प्रचलित ऐन अनुसार कारबाही गरिने उनको भनाइ छ ।

‘अनुगमनका क्रममा बराहताल गाउँपालिकाको बड्डीचौरमा बिक्री वितरणका लागि राखिएका सुर्तीजन्य पदार्थ खुल्ला विक्री नगर्न पहिलो पटकका लागि चेतावनी दिएर छोडिएको छ,’ उनले भनिन्, ‘दोस्रो पहिलो पटक सार्वजनिकस्थल नजिकमा सुर्तीजन्य पदार्थ विक्री गरेको पाइए उक्त सामग्री जफत गरी जरिवाना गरिने छ ।’

शिक्षण र स्वास्थ्य संस्थाबाट १०० मिटरको दूरीभित्र सुर्तीजन्य पदार्थ बिक्री गर्न पूर्णरुपमा निषेध गरिएको छ । बिक्रेताहरुले अनिवार्यरुपमा १८ वर्ष मुनिका बालबालिका तथा गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री नगर्ने चेतावनीसहितको बोर्ड पसलमा राख्नु पर्नेछ । सार्वजनिक निकाय, कार्यालय, र सार्वजनिक सवारी साधन जस्ता सार्वजनिक स्थलहरुमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गरिएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा सार्वजनिक स्थलमा कसैले धूम्रपान गर्न नपाइने, १८ वर्षमुनिका व्यक्तिले बेचबिखन गर्न नपाउने, चुरोट बट्टामा मात्र बिक्री वितरण गर्नुपर्ने, एक–एक खिल्ली बिक्री गर्न नपाइने, सुर्तीजन्य पदार्थको सचेतनामूलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने, एक व्यक्तिले सेवन गरेको सुर्तीजन्य पदार्थले कसैलाई असर गर्न नहुनेलगायतका कुरा उल्लेख गरिएको छ ।

तर सार्वजनिकस्थलमै राखेर सुर्तीजन्य पदार्थ विक्री हुने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमनमा कडाइ गर्न लागिएको सामाजिक विकास मन्त्रालयका कम्युनिटी नर्सिङ अधिकृत नेपालीले बताईन् । नियम उल्लंघन गर्ने वा मापदण्ड विपरीत बिक्री वितरण गर्ने व्यवसायीहरुलाई कानुन अनुसार १ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने व्यवस्था छ ।

सोही अनुरुप सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, प्रहरी र राष्ट्रिय उपभोक्ता मञ्चलगायतको उपस्थितिमा बजार अनुगमन गरिएको थियो ।

Translate »