विद्यालय स्तरीय टी–२० क्रिकेटको उपाधि उषा बालबाटिकाको पोल्टामा

सुर्खेत । विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वीरेन्द्रनगरको उषा बालबाटिका आवासीय माध्यमिक विद्यालयले जितेको छ ।

आज भएको फाइनल भिड्न्तमा माउण्ट एभरेष्ट माध्यमिक विद्यालयलाई १२ रनले हराउँदै उषा बालबाटिका विजयी भएको हो । विजयी उषा बालबाटिकाले नगद ५१ हजारसहित उपाधि हात पारेको छ । स्थानीय कालिञ्चोक मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको उषा बालबाटिकाले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ११८ रनको स्कोर खडा गरेको थियो ।

उषाका लागि मोहम्मद अफराज आलमले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ६ चौका र १ छक्काको मद्दतले सर्वाधिक ३१ रन बनाए । त्यस्तै विकेटकिपर जेनिसराज भण्डारीले २० रन, कप्तान सुवास शाहीले १२ रन तथा शिव सुनारले १२ रनको योगदान दिए । यता माउन्ट एभरेष्टका बलर रमेश शाहीले घातक बलिङ गर्दै महत्वपूर्ण ४ विकेट लिए ।

११९ रनको मध्यम चुनौति पछ्याउँदै मैदानमा उत्रिएको माउन्ट एभरेष्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो । एभरेष्टका कप्तान मनिष ओलीले ६४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रनको उत्कृष्ट इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । प्रतियोगिताभर २४३ रन बनाएका ओली सर्वोत्कृष्ट खेलाडी बने ।

एभरेष्टका लागि आयुष कोइरालाले २४ रन र यजुर्वेद गिरीले १० रन बनाएपनि अरु ब्याट्सम्यानहरु सस्तैमा समेटिएपछि उपविजेतामै चित्त बुझाउनु परेको हो । प्रतियोगिताभर कुल १३ विकेट लिने प्रज्ञा पाठशालाका रोनिश रावलले उत्कृष्ट बलरको उपाधि पाउँदा अनुशासित टिमको उपाधि पनि प्रज्ञाले नै पायो ।

असार २ गतेबाट शुरु भएको प्रतियोगितामा वटा टीमले भाग लिएका थिए ।

Translate »