

जुम्ला । कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको प्रोत्साहन भत्ता कार्यक्रमले जुम्लाका भेडा पालक किसानलाई राहत मिलेको छ ।
भेडापालन व्यवसायलाई प्रवर्द्धन गर्दै किसानको आयस्तरमा सुधार ल्याउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको गोठाला भत्ता कार्यक्रमले भेडा पालक किसान उत्साहित भएका हुन् ।
जुम्लाका आठ पालिका मध्ये पातारासी, गुठिचौर, तातोपानी र कनकासुन्दरीमा भेडापालन व्यवसाय बढी मात्रा हुने गरेको छ । विभिन्न प्राकृतिक विपत्तिले गर्दा बेला बेला नोक्सानी व्यहोर्दै आएका किसान पशु बीमाको पहुँचमा नहुँदा क्षतिपूर्ति राहत पाउन सकेका छैनन् । हरेक वर्ष बाढी पहिरो र चट्याङबाट सयौँको सङ्ख्यामा भेडा मर्दै आएका छन् ।
एकातिर विपत्तिको कहर, अर्कोतिर कतैबाट क्षतिपूर्ति नपाइरहेको स्थितिमा प्रदेश सरकारले गोठालो भत्ता दिन थालेपछि भेडापालन व्यवसायमा केही राहत भएको किसान भीम बुढा बताउनुहुन्छ । प्रदेश सरकारले पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत वर्षेनीप्रति किसानलाई वार्षिक १८ हजारका दरले भत्ता दिने गरेको छ । जुन खर्चले खर्क तथा पाटनमा भेडा चराउन जाँदा चाहिने टर्च, पालन, आधारभूत खाद्यान्न लगायतका सामाग्रीको जोहो गर्न सहज भएको उनको भनाई छ ।

गत वर्ष ५५० जना किसानलाई गोठालो भत्ता दिइएको चालु आर्थिक वर्षमा जुम्लाका करिब ४२५ जना किसानलाई गोठालो भत्ता उपलब्ध गराइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए ।
‘आठ वटै स्थानीय तहका भेडापालन किसानलाई प्रवद्र्धन गर्नका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ’, उनले भने, ‘यो कार्यक्रमले थोरै भएपनि व्यवसाय प्रर्बद्धनमा टेवा पुगेको छ । किसान भेडा पालनमा पनि आकर्षित भएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक नियमित कार्यक्रममै राख्दै आएको छ ।’
५० भन्दा माथि भेडा बाख्रा पालन गरिरहेका र व्यवसायीक रुपमा भेडा पालन गर्ने किसानहरूलाई विशेष प्राथमिकता दिएर प्रोत्साहन रकम दिने गरिएको छ । प्रत्येक महिनाको १ हजार पाँच सयका दरले एक वर्षमा कुल १८ हजार प्रति किसानले प्रोत्साहन अनुदान बाट रकम पाउँदै आएका छन् । यो कार्यक्रमबाट बढीभन्दा बढी पातारासी क्षेत्रका किसान लाभान्वित भएको देखिन्छ । कृषि उत्पादनमा पनि अब्बल देखिएको पातारासी भेडा पालनको पकेट क्षेत्रका रुपमा समेत रहेको छ ।
जुम्लामा हाल १७ सयभन्दा बढी भेडा किसान छन् । भने ८८ हजार ३८८ भेडा र ४३ हजार ३०६ बाख्रा किसानले पालिएका छन् । जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ । राज्यले व्यवसाय प्रवर्द्धन र किसानलाई हौसला दिन प्रोत्साहन दिने व्यवस्था गरे पनि चरण क्षेत्रको अभाव, रोगको समयमै उपचार जस्ता समस्या भेडा पालक किसान झेल्दै आएका छ ।
गोठालो भत्ता भेडा बिरामी पर्दा सामान्य औषधीमुलो गर्न पनि सहज भएको छ । राहत रकमले थोरै भएपनि सहज भएको भन्दै सरकारले भेडा पालनमा सहुलियत कर्जा,अनुदानका कार्यक्रम थप सञ्चालन गर्नुपर्ने किसानको माग छ । चरण क्षेत्र व्यवस्थापनमा लगानी बढाएको खण्डमा भेडापालन, गाईभैँसी पालन व्यवसाय बढ्दै जाने भएकाले स्थानीय सरकारले कृषि पशु क्षेत्रमा उल्लेखीय रुपमा लगानी बढाउनु पर्ने समेत देखिएको छ । (रेडियो नेपाल)












