२०८३ असार २५ , बिहीबार
Sky News Nepal
२०८३ असार २५ , बिहीबार

विश्वकप फुटबल : अर्जेन्टिना र स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा



काठमाडौं । गएराति र आज विहान भएका खेलबाट अर्जेन्टिना र स्विट्जरल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज (बुधवार) विहान भएको खेलमा कोलम्बियालाई ४–३ ले पराजित गर्दै स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलमा गोलरहित बराबरी भएपछि स्विट्जरल्याण्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । स्विट्जरल्याण्डका लागि पेनाल्टी प्रहारमा ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे भने म्यानुअल अकांजीको प्रहार भने बाहिरियो ।

कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्दा डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार बाहिरिए । यो खेलसँगै विश्वकपमा प्रिक्वार्टरफाइनलका सबै खेल सकिएका छन् ।

गएराति अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा इजिप्टलाई ३–२ गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको छ । खेलको शुरुआतदेखि नै आक्रामक खेल खेल्दै अर्जेन्टिनामाथि दबाब बनाएको इजिप्टले नै पहिले गोल पनि गरेको थियो ।

इजिप्टका लागि खेलको १५औं मिनेटमा यासिर इब्राहिमले पहिलो गोल गरे भने ६७औं मिनेटमा मुस्तफा जिकोले अर्को गोल गरेर इजिप्टलाई २–० को बलियो अग्रता दिलाए । इजिप्टले जिकोलाई पूरै खेलमा नखेलाएर प्रतिस्थापन गर्नु महँगो सावित भयो ।

यसबीच‚ अर्जेन्टिनाले पाएको पेनाल्टी प्रहारलाई कप्तान लियोनेल मेसीले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहारलाई इजिप्टका गोलरक्षकले रोकेर गोल हुन दिएनन् । खेलको ७९औं मिनेटमा अर्जेन्टिनाका लागि क्रिस्टियन रोमेरोले पहिलो गोल गरे भने ८३औं मिनेटमा मेसीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि खेलमा थपिएको इन्जुरी समयमा अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जिताए ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधबार
Translate »