

सल्यान । बागचौरमा गएराती अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मोख्ला बजारबाट माथिल्नो मोख्ला जाँदै गरेको रा १ ह ६१२६– नम्बरको अटो भित्री सडकखण्डमा दुर्घटना हुँदा सवार छत्रेश्वरी गाउँपालिका–५, का वर्ष ३५ का रेशम रावतको घटनास्थलमै मृत्यु भएको हो । बागचौर नगरपालिका–१०, भएको दुर्घटनामा अटो चालक मोख्ला निवासी वर्ष ३४ का निर्मल कवर मगर घाइते भएका छन् ।

घाइते मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर रोकायले जानकारी दिए ।
उनका अनुसार अटो अनियन्त्रित भएर गए राति १ बजे दुर्घटनामा परेको थियो । अटो सडकदेखि ५५ मिटर तल खसेको थियो । अटोमा दुई जना मात्र सवार थिए । दुर्घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाए ।
प्रकाशित मिति : २०८३ कात्तिक १३ गते बिहीबार










