२०८३ कात्तिक १३ , बिहीबार
Sky News Nepal
October 29, 2026

गैरकानुनी रुपमा सुर्खेत भित्र्याउन खोजिएका पटका बरामद



सुर्खेत ।  चाडपर्वलाई लक्षित गरी अवैध रुपमा सुर्खेत भित्र्याउन खोजिएका पटका बबई चेक पोष्ट प्रहरीले बरामद गरेको छ ।

गएराती प्रहरी सहायक निरीक्षक महेशप्रसाद उपाध्यायको कमाण्डमा खटिएको चेकिङ टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउदै गरेका बिभिन्न सवारी साधनहरु चेकजाँचका क्रममा गाडीमा लुकाई छिपाई ल्याउदै गरेका ती पटकाहरु बरामद गरेको हो ।

चेकपोइन्टमा गस्ती तथा जाँच गर्ने क्रममा प्रहरीले एक लाख साठी हजार भन्दा बढी मूल्यका विभिन्न किसिमका पटाका बरामद गरेको जनाएको छ ।

प्रहरीले विभिन्न गाडीबाट रकेट पटका ६ डिब्बा (३६ पिस), म्याजिक पटका ४ डिब्बा (२०० पिस ) सलाई पटका १ डिब्बा (८० पिस), पप पटका १ डिब्बा (३ पिस), सेल ब्याट्री पटका ५ डिब्बा (५० पिस), पेन्टा पटका २ डिब्बा (२० पिस), फ्लावर पटका २ डिब्बा (२० पिस) र अक्टोपस पटका सानोमा ५०० पोका (५,००० पिस) गरी कुल ५ हजार ४ सय ९ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए ।

उनका अनुसार बरामद पटकालाई सुरक्षित स्थानमा लगि नष्ट गरिने छ । सरकारले तिहार र छठ जस्ता चाडपर्वहरुमा पटकाको प्रयोगले दुर्घटना निम्त्याउने, आगलागी हुने र सर्वसाधारणको सुरक्षामा खतरा पुग्ने भएकाले यसको ओसारपसार, बिक्री–वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते बिहीबार
Translate »