

सुर्खेत । डोल्पा कारागारबाट आठ जना कैदीबन्दी फरार भएका छन् ।
गएराती जिल्ला सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर भागेका आठै जना कैदीबन्दीको आज जिल्ला प्रहरी कार्यालय डोल्पाले उनीहरुको पहिचान सार्वजनिक गरेको हो ।
सुरुङ खनेर कारागारबाट भाग्नेमा रुकुम पश्चिमको आठविस्कोट नगरपालिका– १०, का ३२ वर्षिय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७, का २९ वर्षिय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका–५, का २८ वर्षिय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१, का २५ वर्षिय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी–४, का २८ वर्षिय धन बुढा भन्ने हरीबहादुर बुढा रहेका छन् ।


उनीहरु जबर्जस्ती करणी मुद्धामा कैद सजाय भोगिरहेका थिए भने जाजरकोटको नलगाड नगरपालिका–९, का १९ वर्षिय कैलाश भन्ने कपिल परियार, रुकुम पश्चिमको आठविस्कोट नगरपालिका–५, का ३८ वर्षिय तिलक भण्डारी र रुकुम पश्चिमको आठविस्कोट नगरपालिका–३, का ३२ वर्षिय आदेश भण्डारी चोरी मुद्दामा पुर्पक्षको लागि थुनुवामा थिए ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले कारागारमा रहेका १७ जना मध्ये आठ जनाले फरार भएको बताईन् । उनले ४.६३ मिटर लामो सुरुङ खनेर कारागारबाट उनीहरु फरार भएको जनाईन् । उनका अनुसार आज बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना कम भएपछि घटना सार्वजनिक भएको हो ।
यता जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख (डीएसपी) अनिलराज गिरीका अनुसार घटनाबारे कारागारको सीसीटीभी फुटेजलगायत अनुसन्धान भईरहेकाले कैदीबन्दी कुन समयमा फरार भए भन्ने यकिन हुन नसकेको बताए । फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको उनको भनाइ छ ।











