

सुर्खेत । तिहारको उमंङ्ग चरम उत्कर्ष उन्मुख छ । तिहारको उज्यालो र उमङ्गले भरिएको पर्व पनि हो । घरघरमा दियो, बिजुलीका झिलीमिली बत्ती बालेर घर सिँगार्ने काम पनि सुरु भइसकेको छ ।
हरेक वर्ष तिहारको समयमा, विशेषगरी लक्ष्मीपूजाको दिन, विभिन्न स्थानमा आगलागीका घटना हुने गरेका छन् । योसँगै सरकारले निर्यात तथा प्रयोगमा निषेध गरेको पटाका पनि सर्वसाधारणहरूले पड्काउन सुरु गरिसकेका छन् ।
हरेक वर्ष पटाका पड्काउँदा हर्षोल्लासको तिहार शोकमा परिणत भएका सामाचारहरु नआएका होइनन् तर पनि रमाइलोका लागि पटाका पड्काउनेमा भने कमी आउन सकेको छैन ।
धार्मिक आस्था, सांस्कृतिक परम्परा र आधुनिक जीवनशैलीसँग जोडिएका दियो, धूप, दीप, मैनबत्ती, विद्युतीय सजावट तथा अन्य प्रज्ज्वलन साधन पर्याप्त सावधानीविना प्रयोग गर्दा सामान्य कारणले पनि ठूलो दुर्घटनाको रुप लिन सक्छ ।
दियो, बत्ती, र पटाकाको प्रयोग धेरै हुने भएकाले आगलागीको जोखिम उच्च हुन्छ । तिहारमा आगलागी हुनै नदिन र सुरक्षित रुपमा चाडपर्व मनाउन निम्नलिखित उपायहरुमा विशेष ध्यान दिनुपर्छ ।

बत्ती र दियो बाल्दा अपनाउनुपर्ने सावधानी
- सुरक्षित स्थानको छनोट: – माटोको दियो वा मैनबत्ती बाल्दा ती सजिलै जल्दैनन् भन्ने सुनिश्चित गर्न काठ, कपडा, वा प्लास्टिकभन्दा टाढा, पक्का (सिमेन्ट वा ढुङ्गाको) भुइँ वा सतहमा मात्र राख्नुपर्छ।
- झ्याल र पर्दाबाट टाढा :– हावाले पर्दा उडेर दियोमा पर्न सक्ने भएकाले झ्याल, ढोका र पर्दाको नजिक दियो वा मैनबत्ती बाल्नु हुँदैन।
- निगरानीमा राख्ने :– घरबाहिर निस्कँदा वा सुत्ने बेलामा बलिरहेका दियो तथा मैनबत्तीहरू अनिवार्य रूपमा निभाउनुपर्छ।
- सजावटका विद्युतीय बत्ती (झिलिमिली) :– कमसल गुणस्तरका तार र बत्ती प्रयोग गर्नु हुँदैन । एउटै मल्टिप्लग वा सकेटमा धेरै तारहरू नजोडी ओभरलोड हुनबाट बचाउनुपर्छ।
पटाका र आतसबाजी सम्बन्धी सतर्कता
पटाका प्रज्वलनमा रोक: – सरकारले प्रतिबन्ध लगाएका र आगलागीको मुख्य कारण बन्ने पटाका, भुइँचम्पा वा आतसबाजीका सामानहरु प्रयोग गर्नु हुँदैन ।
- खुला ठाउँको प्रयोग :– यदि कानुनी रुपमा स्वीकृत सामान्य फूलझडी जस्ता चिजहरू बाल्ने नै हो भने पनि घरभित्र वा साँघुरो गल्लीमा नबाली खुला चौर वा भुइँमा मात्र बाल्नुपर्छ र बालबालिकालाई एक्लै छोड्नु हुँदैन ।
भान्सा र पूजा कोठाको सुरक्षा
- सुरक्षित कपडा :– पूजा गर्दा वा दियो बाल्दा सिल्क, नायलोन जस्ता छिटो आगो समात्ने खुकुला कपडाहरू नलगाई सुती कपडा लगाउनु सुरक्षित हुन्छ।
- ग्यास र चुलोको जाँच :– भान्सामा काम सकिएपछि र राति सुत्नुअघि ग्यास सिलिन्डरको रेगुलेटर अनिवार्य रुपमा बन्द गर्नुपर्छ ।
आकस्मिक तयारी
- पानी र बालुवाको व्यवस्था :– आगो निभाउनका लागि घरमा सधैं बाल्टिनमा पानी वा बालुवा तयारी अवस्थामा राख्नुपर्छ ।
- इमर्जेन्सी नम्बर: – आफ्नो क्षेत्रको दमकल र प्रहरीको फोन नम्बर जस्तै १०० वा १०१ सबैले देख्ने ठाउँमा वा मोबाइलमा सेभ गरेर राख्नुपर्छ।











